• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते

काबुल ।  अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर बुधबार भएको बम आक्रमणमा परी एक सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ५० भन्दा बढी घाइते भएका स्थानीय टेलिभिजन च्यानल टोलोले जानकारी दिएको छ ।

उक्त इलाकामा स्थानीय समयानुसार बुधबार बिहान ५ः५० बजे दुई वटा भीषण विस्फोट भएका थिए । आक्रमणकारीको पहिलो समूहले सैन्य शिविरको दक्षिणतर्फ बाहिरी इलाकामा दुई वटा बम विस्फोट गएका थिए । सो विस्फोटमा परी सयौं घर, पसल र एक मस्जिदमा क्षति भएको सो टेलिभिजन च्यानलले जनाएको छ । 

लडाकूको दोस्रो समूहले स्वास्थ्य केन्द्र कब्जा गरेका थिए । उनीहरूले विदेशी सेनालाई निशाना बनाउने र भारी हतियारले सैन्य शिविर हमला गर्ने प्रयासमा रहेका जनाइएको छ । जिल्ला प्रहरी प्रमुख अब्दुल शाकोरले बग्राम हवाई अखडा नजिकै भएको उक्त आक्रमणमा परी एकको मृत्यु हुनुको साथै  ५० भन्दा बढी गाउँले घाइते भएको प्रारम्भिक सामाचारमा जनाइएको छ । उक्त विस्फोटनबाट ठूलो क्षति भएको उहाँले थप जानकारी दिए ।

गम्भीर रुपमा घाइते भएकाहरुलाई प्रान्तीय राजधानी चारिकबाट राष्ट्रिय राजधानी काबुल अस्पतालमा सारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।   आक्रमणपछि अफगानी र अमेरिकी सेनाले उक्त क्षेत्रलाई सुरक्षा घेरामा राखेका छन् । पर्वान प्रान्तको बग्राम सैन्य शिविर अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा रहेको छ । यस सैन्य शिविरबाट १८ वर्षदेखि अमेरिकी र नेटो सेनाको अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि सेवा गर्दै आएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर