• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ठूला व्यापारी नै दिन्छन् विप्लवलाई चन्दा, पासोमा पर्दै ठूला नेता !

‘प्रदेश १ मा कमजोर हुँदै संगठन’

विराटनगर । एकपछि अर्को गर्दै निरन्तर राजनीतिक विभागमा कार्यरत नेताहरुको गिरफ्तारीबाट कमजोर बन्दै गएको प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीले प्रदेश १ मा यतिबेला चन्दा संकलनलाई तीव्र बनाएको छ । कमजोर संगठनलाई आर्थिक स्रोतको माध्यमबाट सुदृढ गर्ने प्रयत्नस्वरुप जिल्लागतरुपमा कोटा निर्धारण गरेरै उनीहरुले चन्दा उठाइरहेका छन् । चन्दा संकलनकालागि झापा, मोरङ र सुनसरी उनीहरुको पहिलो रोजाइमा परेको सूचना सुरक्षा निकायले फेला पारेको छ । 

निश्चित समयकालागि सञ्चालन गरेको अभियानमा झापा, मोरङ र सुनसरीबाट १५ लाख रुपियाँका दरले चन्दा उठाउने उनीहरुको योजना छ । सोही योजना अनुसार पार्टी कमिटी र कार्यकर्ता परिचालन गरेको जानकारी सुरक्षा निकायले प्राप्त गरेको छ । सुरक्षा स्रोतका अनुसार पहाडी जिल्लाहरुलाई ५ लाख रुपियाँको दरले रकम बुझाउन कोटा दिइएको छ । 

यतिबेला चन्दाको दवाव स्थानीय तहहरुमा बढी छ । स्थानीय तहबाट सञ्चालन हुने पूर्वाधार निर्माणको काममा अवरोध गर्दै चन्दालाई बाध्यकारी बनाउने अभियानमा विप्लव कार्यकर्ताहरु छन् । विभिन्न जिल्लामा स्काभेटर लगायत निर्माण औजारहरुमा भएका आगजनी, सवारी साधनमा गरिएका आगजनी, तोडफोड र विष्फोटका अधिकांश घटनाहरु चन्दासँगै सम्वन्धित रहेको प्रदेश प्रहरी प्रमुख डिआइजी ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए । चन्दा दिन अस्वीकार गरेपछि आगजनी, विष्फोट र तोडफोडका घटनाहरु गराइएको ज्ञवालीको भनाई छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीमाथि सरकारले प्रतिवन्ध लगाएपछि हतियार तथा विष्फोटक पदार्थ संकलन गर्न, कार्यकर्ता परिचालन र व्यवस्थापन गर्न उनीहरुले पटक पटक चन्दा संकलन अभियान चलाएका छन् । कार्यकर्ता बाहेक चन्दा उठाउन उनीहरुले ठूला दलका नेता र केही निर्माण व्यवसायीहरुलाई समेत उपयोग गरिरहेको सूचना प्रहरीले फेला पारेको छ । ‘सरकारकाले प्रतिवन्ध लगाएको राजनीतिक दलको हिंसात्मक गतिविधिमा सहयोग पुग्नेगरी ठुला दलका कतिपय नेताहरुसमेत चन्दा उठाउने भूमिकामा सहयोगी देखिएका छन्,’ प्रदेश प्रहरी प्रमुख ज्ञवालीले भने, ‘त्रासको वातावरण बनाएर ठेक्का हात पार्ने उद्देश्यले केही ठेकेदारहरु विप्लवका नेताहरुको निकट रहेर सबै व्यवस्थापनको काम गरिदिने गरेको सूचना पनि आएको छ ।’ 

चन्दाको पासोमा पर्दै विप्लवका नेताहरु
१२ पुस २०७६ मा विप्लव समूहका पोलिटब्युरो सदस्य तथा मेचीकोशी ब्युरो इन्चार्ज उमा भुजेललाई प्रहरीले सुनसरीको बराहक्षेत्रबाट पक्राउ ग¥यो । चन्दा संकलनकै सिलसिलामा भुजेल प्रहरीको गिरफ्तारीमा परेका हुन् । प्रदेश १ बाट हालसम्म पक्राउ परेका मध्ये भुजेलनै उपल्लो तहका नेता हुन् । भुजेलसँगै झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेल र मोरङ जिल्ला इन्चार्ज कृष्ण चौलागाईलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

चन्दा अभियानको योजना बनाउदै गर्दा गत २७ भदौ मा विप्लव नेतृत्वको नेकपा माओवादीका कोशी व्युरो इन्चार्ज घनश्याम श्रेष्ठ(पुष्कर)लाई मोरङको कानेपोखरीबाट प्रहरीले गिरफ्तार ग¥यो । हालसम्म पक्राउ परेका मध्ये श्रेष्ठ भुजेल पछि दोश्रो स्तरका नेता हुन् ।

प्रदेश १ मा अधिकांश नेता कार्यकर्ताहरु जबरजस्ति चन्दा संकलनकै सिलसिलामा पक्राउ परेका छन् । जोरजबरजस्ती गरी रकम उठाउने क्रममा सूचना चुहावट हुँदा अधिकांश पक्राउ परेका हुन् । ‘यहाँका नाम चलेका र प्रतिष्ठित व्यापारीहरुले पनि चन्दा दिएको पाएका छौं,’ सुरक्षा स्रोत भन्छ ‘शान्तीसुरक्षामा खलल पुग्ने र हिंसालाई सहयोग हुने गरी चन्दा दिनुभन्दा समयमै सूचना दिए यस्ता गतिविधि नियन्त्रण गर्न सकिन्छ ।’

सबै जिल्ला इन्चार्ज तथा सेक्रेटरी पक्राउ
एक वर्ष अघिसम्म संगठन सुदृढ गरिरहेको विप्लव समूहमाथि प्रतिवन्ध लागेपछि भने प्रदेश १ मा उसको संगठन निकै कमजोर भएको छ । चुस्त सूचना संयन्त्र र निरन्तर निगरानीको विधि मार्फत सुरक्षा निकायले उक्त समूहको राजनीतिक विभागका महत्वपूर्ण नेताहरुलाई पक्राउ गरेको दावी गरेको छ । 

प्रदेश १ का १४ वटै जिल्लाका इन्चार्ज र सेक्रेटरीहरु पक्राउ परिसकेका छन् । पक्राउ परेपछि बनेका कतिपय जिल्लाका नयाँ इन्चार्ज र सेक्रेटरीहरु छोटो समयभित्रै पक्राउ परेका छन् । जिल्ला तहका थुप्रै नेता तथा कार्यकर्ताहरु पनि यस अवधिमा पक्राउ परेका छन् । हालसम्म विप्लवको हिंसात्मक अभियानमा सक्रिय जिल्ला कमिटी तथा त्यसभन्दा माथिका ६७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अहिले प्रदेका विभिन्न प्रहरी कार्यालयको हिराशतमा २४ जना नेता कार्यकर्ताहरु छन् भने दर्जन बढी कारागारमा छन् । उक्त समूहमाथि लागेको प्रतिबन्धपछि गिरफ्तारीमा परेका जिल्ला सेक्रेटरी भन्दा माथिल्लो जिम्मेवारीका 

दार्जेलिङ सेल्टर मेघालयबाट विष्फोटक पदार्थ 
विप्लव समूहमाथि सरकारले प्रतिवन्ध लगाएपछि प्रहरीले झापा, मोरङ र ताप्लेजुङबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेको छ । छुट्टाछुट्टै समयमा प्रहरीले बम बनाउन प्रयोग हुने सयौं रोल हाइएक्सप्लोसिभ(एचई) र डेटोनेटर तथा टाइमबम बनाउन प्रयोग गरिने अन्य उपकरणहरु बरामद ग¥यो । बरामद भएका विष्फोटक पदार्थहरु भारतबाट ल्याइएको निष्कर्श प्रहरीले निकालेको छ । झापामा २५ किलो एचई बरामद भएको थियो । झापा र मोरङमा बरामद भएको एचई भारतको मेघालय र आसामबाट ल्याइएको बताइएको छ । 

मेघालय र आसाममा सञ्चालित कोइला खानीमा प्रयोग हुने डेटोनेटर र एचई यहाँ बरामद भएको हो । भारतीय हतियार तस्कर मार्फत केही साना हतियारसमेत आएको अनुमान प्रहरीले गरेको छ । हतियार तथा विष्फोटक पदार्थ ओसारपसार गर्न तथा नेपालमा असहज अवस्था हुँदा उक्त समूहका अधिकांश नेताहरुले भारतको दार्जेलिङ्लाई सेल्टरको रुपमा प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । 

सैन्य फर्मेसन 
ध्वंसात्मक गतिविधि गर्दै आइरहेको विप्लव समूहले प्रदेश १ मा पनि सैन्य फर्मेशन तयार पारेको छ । पक्राउ परेका नेता तथा कार्यकर्ताहरुबाट प्राप्त सूचना विष्लेण तथा अनुसन्धानले उनीहरुको सैन्य फर्मेशन रेगुलर फोर्सको रुपमा भने विकास नभएको देखिन्छ । केही महिना अघि संखुवासभा–भोजपुर–सोलुखुम्बुको सीमावर्ति क्षेत्रमा नियमित फोर्सको अभ्यास गरेको भएपनि निरन्तरता भने दिन नसकेको सुरक्षा स्रोतको दावी छ । बिकट भुगोल र कमजोर सुरक्षा पहुँचका कारण उक्त क्षेत्रलाई सुरक्षित सेल्टरको रुपमा प्रयोग हुने गरेको छ ।

छरिएर बस्ने र आवश्यकता पर्दा जुटेर सैन्य गतिविधि गर्ने तरिका उनीहरुले अपनाएको देखिन्छ । पूर्व तर्फ भने मोरङ–पाँथर–इलामको सिमावर्ती क्षेत्रलाई उनीहरुले अर्को सुरक्षित सेल्टरको रुपमा विकास गर्न खोजेका छन् । राजनीतिक मोर्चामा एक पछि अर्को क्षति हँुदै गएपछि भने उनीहरुको सैन्य गतिविधि निकै कमजोर हुनपुगेको छ । जनयुद्धका पूर्व बटालियन कमाण्डर दिपेश राई उदयपुरबाट गिरफ्तारीमा परेपछि सैन्य गतिविधि र नियमित फोर्स सञ्चालन गर्ने योजनामाथि धक्का लागेको अनुमान सुरक्षा निकायले गरेको छ । राई संविधानसभा सदस्य किरण राईका दाजु हुन् ।

एके ४७ र केही थान राईफल
१२ पुसमा सुनसरीको बराह क्षेत्र नगरपालिका ८ बाट पक्राउ परेकी उक्त समूहकी पोलिटब्युरो सदस्य उमा भुजेलको साथबाट प्रहरीले अमेरिकामा बनेको रिभल्बर र त्यसमा लाग्ने पाँच राउण्ड गोली बरामद ग¥यो । ५ असोजमा भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्ट दुई थान पेस्तोल र दुई म्याग्जिनसहित पक्राउ पर्नुभयो । मेड इन इटली लेखिएको अटोमेटिक पेस्तोल र १४३३०२ नम्बर उल्लेख गरिएको पेस्तोल तथा त्यसमा लाग्ने म्याग्जिन र गोली विष्टबाट बरामद भएको थियो । ३० भदौ मकवानपुरका अनुल सारुमगरलाई झापाबाट कटुवा पेस्तोलसहित प्रहरीले गिरफ्तार गरेको थियो । 

गिरफ्तार व्यक्ति र बरामद हतियारको अवस्थाले जिल्ला सेक्रेटरीदेखि माथिका जिम्मेवारीमा पुगेकाहरुसँग साना हतियार उपलव्ध रहेको देखिन्छ । साना हतियार आयातकालागि खुला बोर्डरको प्रयोग हुने गरेको छ । 

विप्लव समूहले प्रदेश १ मा फर्मेसन गरेको सैन्य टुकडीसँग एके ४७ राईफल, केही थान एलएलआर रहेको बताइएको छ । ‘उनीहरुसँग एके ४७ र केही थान राइफलहरु भएको सूचना पाएका छौं,’ प्रदेश प्रहरी प्रमुख ज्ञवालीले भन्नुभयो ‘सुनसरीबाट एलएमजी र संखुवासभाबाट हामीले एसएलआर बरामद गरेका छौं ।’ उहाँका अनुसार उनीहरुसँग साना हतियारको संख्या भने अलि बढी नै छ । 

शक्ति सञ्चय गर्न असफल
विप्लव समूहको हिंसात्मक गतिविधिमाथि प्रतिवन्ध लगाउने सरकारले निर्णय गरेपछि संगठित शक्ति निर्माण गर्ने प्रयत्न गरेपनि प्रदेश १ मा उनीहरुले निरन्तर क्षति ब्यहोरिरहेका छन् । उपल्लो तहदेखि जिल्ला तहसम्मका अधिकांश नेता कार्यकर्ता पक्राउ परेका छन् भने सयौंले उक्त समूह छोडेका छन् । थुप्रै नेता तथा कार्यकर्ताहरु अन्य पार्टीमा प्रवेश गरेका छन् । यी घटनाले उक्त समूह शक्ति सञ्चय गर्न असफल भएको र बरु शक्ति क्षयीकरण भइरहेको देखाउँछ । 

तात्कालिन माओवादी जनयुद्धदेखि नै प्रभावशाली नेताको रुपमा पूर्वमा छवी बनाएका नेता पदम राईले विप्लव समूह परित्याग गरी नेकपा प्रवेश गरे । त्यस अघि उनी विप्लव समूहको पोलिटब्युरो सदस्य थिए । संविधानसभाका सभाषद् किरण राईपनि उक्त समुहबााट बाहिरिए । त्यो क्रममा अहिलेपनि निरन्तर चलिरहेको छ । सुरक्षा कारवाही र निरन्तर कमजोर बन्दै गएको समूहबाट डराउने र चन्दा दिने भन्दा सूचना दिने र हिंसात्मक गतिविधि नियन्त्रणमा जनप्रतिनिधि तथा व्यवसायीहरुले सहयोग गर्नु पर्ने डिआइजी ज्ञवाली बताउँछन् ।

धरौटीमा छुट्छन् हतियारधारी
चन्दा संकलन वा संकास्पद गतिविधि गर्ने क्रममा पक्राउ परेकाहरु केही दिन हिराशतमा रहेर छुट्नु सामान्य भएपनि हतियारसहित पक्राउ परेकाहरु थुनामा नजाने अवस्था देखिएको छ । त्यसले सुरक्षा निकायको मिहेनत र प्राप्त गरेको उपलव्धि खेर गइरहेको अनुभूति उनीहरुले गरेका छन् । 

हतियारसहित पक्राउ परेका व्यक्तिलाई धरौटीमा छोड्ने अदालतको आदेशबाट सुरक्षा निकाय सन्तुष्ट देखिदैन । अदालतको आदेश विरुद्ध प्रतिकृया नदिएपनि उनीहरुले हिंसा नियन्त्रणमा न्यायलयबाट सहयोग नभएको अनुभूति गरेको देखिन्छ । न्यायाधीशहरुमा पनि एक प्रकारको त्रासको अवस्थाले काम गरेको छ कि भन्ने आशंका सुरक्षा क्षेत्रले गरेको छ । एकजना सुरक्षा अधिकारी भन्छन् ‘न्यायाधीशलाई भन्दा हामी सुरक्षाकर्मीहरुलाई धेरै चुनौती छ,’ उनले भने ‘अहिले मसँग हतियारधारी सुरक्षाकर्मी सँगै छन् तर भोलि म आम नागरिक हुने छु त्यतिबेला उहाँहरुलाई भन्दा हामीलाई बढी चुनौति हुन्छ । तर जनताको सुरक्षाकालागि हामीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’

नेताहरुको विवरण :
उमा भुजेल-पोलिटब्युरो सदस्य मेचीकोशी इन्चार्ज
घनश्याम श्रेष्ठ पुष्कर-कोशी ब्युरो इन्चार्ज केन्द्रीय सदस्य 
देवानसिंह राई दिपेश-सगरमाथा ब्युरो इन्चार्ज
दिपक राई विकल्प-धनकुटा सेक्रेटरी तथा मोरङ जनसरकार प्रमुख
नरपति पौडेल-मेची ब्युरो सदस्य
सागर लिम्बु-ताप्लेजुङ्ग इन्चार्ज
राजु दाश-पाँचथर इन्चार्ज
आकाश शर्मा-कोशी ब्युरो सदस्य
माधव गौतम-कोशी ब्युरो सदस्य
कृष्णकुमार श्रेष्ठ प्रज्वल-मोरङ इन्चार्ज
पेमाछिरी शेर्पा-संखुवासभा सेक्रेटरी
बिजय नेम्वाङ-पाँचथर सेक्रेटरी
प्रविन मिश्र-इलाम सेक्रेटरी
बमबहादुर विष्ट-भोजपुर सेक्रेटरी
लक्ष्मण पौडेल-झापा इन्चार्ज
राजेन्द्र विष्ट-सुनसरी सेक्रेटरी
कमार खतिवडा-मोरङ सेक्रेटरी
मोहन वस्नेत-सुनसरी सेक्रेटरी
सुरेन्द्र थापा-उदयपुर सेक्रेटरी
कुलबहादुर तामाङ-इलाम युवा संयोजक
मिनप्रसाद पोखरेल-खोटाङ सेक्रेटरी
कृष्ण चौलागाई-मोरङ इन्चार्ज
सुमनसिंह पौडेल-झापा इन्चार्ज

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर