मानव सेवा आश्रम सञ्चालनमा समस्या, महानगरले तिरेन घरभाडा

चितवन । मानव सेवा आश्रमको घर भाडा महानगरले नदिएपछि अहिले आश्रम सञ्चालनमा समस्या आएको छ ।  भरतपुर महानगरपालिकालाई गत कात्तिक ९ गते एक समारोहका बीच सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरियो । निकै तामझामका साथ घोषणा गर्दा भरतपुर १० वाईपास रोडमा रहेको मानव सेवा आश्रमको घर भाडा महानगरले तिर्ने सहमति भयो । तर अहिलेसम्म महानगरले घर भाडा नतिरे पछी आश्रम भने अन्यौलमा परेको छ । 

आश्रमको घरभाडा मासिक ७२ हजार तिर्नुपर्छ । कार्तिक देखीको घरभाडा महानगरले तिरिदिने भनेपनि अहिलेसम्म कुनै काम नभएको आश्रमले जनाएको छ ।  घोषणा हुनु अगाडि नै स्थानिय सरकारबाट एक लाख ८० हजार रुपैया रकम सहयोग गरेको थियो, भने घोषणा भईसकेपछि कुनै सहयोग नआएको आश्रमकी सहसंयोजक सुमा रावलको भनाई छ । 

घोषणा संगै हरेक आईतबार साँझमा भरतपुर र नारायणगढका सडक पेटीहरुमा रहेका असाहयहरुलाई उद्धार गरि मानव सेवा आश्रममा ल्याएर राख्ने गरिएको छ । केही समय भरतपुर महानरपालिकाकी मेयर रेणु दाहाल आफै रात्रिकालिन उद्धार कार्यमा सहभागि भइन् । सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरेपछी अहिलेसम्म आश्रममा २५ जनाले आश्रम पाएका छन् । 

आश्रममा अहिले कपडाको समेत अभाव रहेको आश्रमकी सहसंयोजक रावल बताउनु हुन्छ । आश्रममा प्राय मानसिक सन्तुलन गुमाएका मानिसहरु आश्रय लिईरहेको छन् । उनीहरुले कपडामा नै शौच गर्ने हुदाँ फेर्ने कपडाको अभाव रहेको रावलको भनाई छ । क्षमता भन्दा वढी मानिस आश्रममा रहेका कारण कतिलाई जाडोको समयमा पनि घर बाहिरनै सुताउनु परेको रावलको भनाई छ । कोठाको संख्या भन्दा बेवारिसेहरु बढी भएकोले सुत्ने ठाँउको अभाव भएको भन्दै रावलले भनिन्, “सुत्ने ठाँउको मात्रै नभई जाडोमा लगाउने लत्ताकपडा पनि पर्याप्त छैन । धेरै चिसो बढेको कारण बाक्लो कपडाहरुको अभाव छ । एक जनालाई चार जोर कपडा आवश्यक पर्छ । मानव सेवा आश्रममा अहिले खाद्यान्नको समेत अभाव भएको ।”

आश्रममा सात जना बालबालिका, चालिस जना महिला र ३७ जना पुरुष गरि ८४ जना आश्रित रहेका छन् । ति मध्ये ५६ जनाले नियमित विभिन्न प्रकारका औषधी सेवन गरिरहेका छन् । १० जना शारिरीक रुपमा असक्त र ४६ जना मनोरोगी रहेको आश्रमले जनाएको छ ।  उता भरतपुर महानरपालिका प्रमुख रेणु दाहालले भने महानगर घर भाडा तिर्ने प्रक्रिया रहेको बताइन् । 

मानव सेवा आश्रम चितवनले घरपरिवार बिहिन सडकमा बस्न वाध्य भएका असहाय तथा मानसिक रोगीको उद्धार संगै उपचार गरी परिवारसंग पुर्नमिलन गराउँदै आएको छ ।  चितवनको भरतपुरमा २०७२ सालमा स्थापना भएको आश्रमले अहिलेसम्म नौं सय जनाको उद्धार गरेको छ । २०६९ सालबाट हेटौंडामा स्थापना भएको मानव सेवा आश्रमको १७ वटा शाखा रहेको  छ । 
      
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर