• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सभामुख चयनमा सकस : तुम्बाहाम्फेलाई राष्ट्रपति र प्रधानमन्त्रीको साथ !

'तुम्बाहाम्फे र नेम्वाङको बोलचाल हरायो'

काठमाडौं । पार्टी स्थायी समिति बैठक चल्दा चल्दै उठेको सभामुख चयनको विषय त्यहाँ छलफल नै नगरि सचिवालयमा फरवार्ड गरियो । सचिवालयले प्रतिनिधिसभाको सभामुख चयनको विषय टुंगो लगाउने जिम्मा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दियो । तर, संसदमा सजिलो बहुमत भएको सत्तारुढ दल नेकपा सभामुख चयन गर्न नसकेर बन्धक बनिरहेको छ ।

बन्धक बन्नुको कारण समेत अध्यक्षद्वयकै बीचमा कसलाई सभामुख बनाउने भन्ने विषयमा कुरा नमिल्नु रहेको छ । अध्यक्षद्वयका बिचमा पटक–पटक यस विषयमा छलफल भएपनि कुरा मिल्न सकेको छैन ।

पुस ४ गते यता दुई पटक संसदको बैठक सूचना टाँस गरेर स्थागित भयो । नेकपा सचिवालयले २ पटक उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिन निर्देशन दियो । समानुपतिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर राष्ट्रपति विद्यादेवी भण्डारीको कोटामा उपसभामुख बनेकी भनिएकी तुम्बाहाम्फे नै अहिले नेकपाका नेताहरुलाई टाउको दुखाईको विषय बनेकी छन् ।

पुस ४ गतेको बैठक उनले उपसभामुखकै हैसियतमा चलाईन् । त्यसपछि सभामुख चयन गर्नुपर्ने बैठक उनले चलाउँदा संवैधानिक व्यवस्थाका कारण नेकपाले गुमाउने निश्चित थियो । त्यसैले उपसभामुखलाई राजिनामा दिन सचिवालयले लिखित निर्देशन दियो ।
अध्यक्षद्वयले मौखिक आग्रह गरे ।

शिवमायाको बल
११ गते शुक्रबारका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक बस्नुपूर्व उपसभामुख तुम्बाहाम्फे राजिनामा दिने मुडमा थिईन । उनी आफैंले ‘बाधक’ बन्दिन भन्ने अभिव्यक्ति दिएकी थिइन् । उनि निकटस्थहरुले समेत पार्टीको लिखित निर्णय पाएपछि राजिनामा दिने माडमा पुगेको बताएका थिए । 

तर, उनको पछिल्लो अभिव्यक्तिले पार्टीले लिखित निर्णय गरेपनि, अध्यक्षद्वयले भनेपनि आफूलाई सभामुख बनाउने निर्णय नगर्दा सम्म राजिनामा निदिने अडानमा पुगेकी छन् । 

उनिमा यत्रो ‘बल’ आउनुको पछि राष्ट्रपति विद्यादेवी भण्डारीको सिधा आर्शिवाद, पुर्व एमाले तर्फका महिला सांसदहरुको खुल्ला अभियान र प्रधानमन्त्री केपी ओलीकै घुमाउरो साथ रहेको नेकपाका एक नेता दावी गर्छन ।

तत्कालिन सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएपछि खाली भएको सो स्थानमा पूर्वमाओवादी खेमाले आफ्नो दावेदारी पेश गरिरहेको छ । पार्टी एकताका काम अझै सम्पन्न भईनसकेको र पार्टी एकताका बेला भएको भागबण्डामा सो  पद आफूहरुकै भएकोले दावी स्वभाविक हुने पूर्व माओवादी खेमाको भनाई छ । अहिले पनि राज्यका ५ विशिष्ठ नियुक्तिमध्ये राष्ट्रपछि, प्रधानमन्त्री र राष्ट्रियसभाका अध्यक्ष पूर्व एमाले खेमाले ओगटेको छ । उपराष्ट्रपति नन्दबहादुर पुन माओवादी खेमाका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली संसदमा भएका पछिल्ला कतिपय गतिविधिसँग सभामुख महराप्रति असन्तुष्ट थिए । नेपालको संसदीय ईतिहासमै प्रधानमन्त्रीले बोलेको भाषा असंसदीय भयो भनेर सभामुख महराले संसदको रेकर्डबाट हटाउन लगाए । 

प्रधानमन्त्रीले पारित गर्न चाहेको अमेरिकी सहयोग एमसीसी सम्बन्धी विधेयक संसदबाट तत्काल पारित गरेनन् । संसदकै एक उच्च अधिकारी भन्छन्, ‘सभामुख र प्रधानमन्त्रीका बीचमा संसदको अधिवेशन कहिले बोलाउने र कहिले अन्त्य गर्ने भन्ने विषयमा समेत कुरा नमिल्दा प्रधानमन्त्री सभामुख महराप्रति रुष्ट थिए । 

बालुवाटार श्रोत भन्छ, ‘सरकार संचालनका लागि संसदबाट विगतमा जस्तो असहयोग नहोस भन्ने कुरामा प्रधानमन्त्रीज्यू सचेत हुनुहुन्छ । त्यसैले पनि उहाँ सभामुखमा सुवासचन्द्र नेम्वाङलाई बनाउने पक्षमा हुनुहुन्छ ।’ 

नेम्वाङलाई बनाउने तयारी भएपनि प्रधानमन्त्री ओदलीले अहिले भने तुम्बाहाम्फेलाई भित्रभित्रै साथ दिएको श्रोतको दावी छ । 

तुम्बाहाम्फेले अडान लिदा प्रचण्डले अग्नी सापकोटाको पक्षमा लिएको अडान छोड्न सक्ने र पूर्व एमालेको खेमाका नेम्वाङ र तुम्बाहाम्फेमध्य रोज्नुपर्दा नेम्वाङलाई सभामुख बनाउन सकिने हिसाव बालुवाटारको छ । तुम्बाहाम्फेलाई टिकाई राख्नमा राष्ट्रपति विद्यादेवी भण्डारीले नै राजनीतिक रोल खेलिरहेकी छन् ।

नेकपाको राजनीतिक विश्लेषण समेत गर्ने काँग्रेसका एक नेता भन्छन्, ‘उपसभामुख आफ्नै बलमा यति बलियो गरि टिकेकी छ्रनन । उनलाई राष्ट्रपतिको त घोषित साथ छ नै प्रधानमन्त्रीको समेत घुमाउरो साथ छ ।’ नेकपामा राष्ट्रपति भण्डारी भनेपनि प्रधानमन्त्री ओली भनेपछि अन्ततः एउटै हुने उनको तर्क छ । 

प्रचण्ड–ओली सम्बन्ध चिसियो
पार्टी एकता जस्तो ठूलो काम सम्पन्न गर्दै यहाँ सम्म आईपुगेपनि नेकपा भित्र सभामुख चयनको विषयले गंभिर रुप लिएको छ । पूर्वमाओवादी खेमा यो पदमा स्वत आफूहरुको दावी रहेको बताउने गर्दछ भने पूर्व एमाले खेमा प्रधानमन्त्रीलाई सजिलो बनाउन उनले चाहेको व्यक्ति सभामुख हुनुपर्ने तर्क गर्दछन् ।

स्थायी समिति सदस्य हरिबोल गजुरेलले समाचार दैनिकसँग भने, ‘यो कुनै बहसको विषय नै होईन । पूर्वमाओवादी खेमाको पद सोही खेमाबाट पुर्ति हुन्छ ।’

नेकपाका प्रमुख सेचतक देव गुरुङले पनि उपसभामुखले बन्धक बनाएका कारण संसदको सभामुख चयन प्रकृया सुरु हुन नसकेको बताएका छन् । उनले भने, ‘नेकपाबाट सभामुख र उपसभामुख दुवै पदमा रहन संविधान अनुसार मिल्दैन ।

उपसभामुखज्यूले पदबाट राजिनामा नदिएका कारण नयाँ सभामुख चयन गर्न समेत कठिन भईरहेको छ’, समाचार दैनिकसँग उनले भने, ‘उपसभामुखले राजीनामा दिएपछि नेकपाले सभामुख पदमा उम्मेदवार हुनेको नाम अघि सार्छ ।’

प्रचण्डको अडान
नेकपामा अध्यक्ष प्रचण्ड यसपाली अडान नछोड्ने पक्षमा छन् । सरकारको ५ वर्ष मध्य आधा–आधा कार्यकाल प्रधानमन्त्री हुने लिखित सहमति प्रचण्डले सजिलै छोडेर केपी ओलीलाई नै ५ वर्ष सम्म पूर्ण कार्यकाल प्रधानमन्त्री हुन दिनेगरि पछि हटे ।

पार्टी एकताका धेरै आन्तरिक विषयहरु प्रचण्डले छोडेपनि यो अडान भने नछोड्न प्रचण्डमाथि पूर्वमाओवादी खेमाको ठूलो दबाब छ । त्यसैले सकेसम्म अध्यक्ष ओलीसँगको सहमतिमा नभए पार्टी सचिवालय वा स्थायी समितिबाट निर्णय गराउने पक्षमा प्रचण्ड छन् । 

नेकपा सचिवालय तथा स्थायी समितिमा प्रचण्डले अघि सारेको व्यक्तिलाई सभामुख बनाउन साथ दिने पक्षमा बहुमत नेता छन् । प्रधानमन्त्री ओलीका पक्षमा नेता ईश्वर पोखरेल मात्रै रहेको तथा महासचिव विष्णु पौडेल नखुलेको एक नेताले दावी गरे ।

नेम्वाङ र तुम्बाहाम्फेको बोलचाल हरायो
तुम्बाहाम्फेको सचिवालयमा कार्यरत एक कर्मचारीका अनुसार हिजोआज पूर्वसभामुख तथा नेकपा सांसद सुवास नेम्वाङ र उपसभामुख तुम्बाहाम्फेको सम्बन्धमा केही चिसोपना आएको छ । 

नाताले सानिमा÷छोरा पर्नेे उनीहरुबीच सभामुख चयन प्रक्रियाकै कारण सम्बन्धमा चिसोपना आएको तुम्बाहाम्फे निकट स्रोतको दाबी छ । 

नेम्वाङले सुरुमा तुम्बाहाम्फेलाई सभामुख बन्नुपर्छ भनेर आफैंले भनेको तर, प्रधानमन्त्री ओलीले नेम्वाङलाई अघि सारेपछि नेम्वाङ आफ्नो आन्तरिक लविङमा लागे । 

स्रोतका अनुसार उनले अध्यक्ष दाहाललाई पनि कन्भिन्स गराउनका लागि नेताहरुलाई पठाएका थिए । 

सुरुमा आफूलाई सहयोग गर्छु भनेका नेम्वाङ आफैं सभामुख दाबेदार हुनेवित्तिकै उनीहरुबीचको सम्बन्धमा दरार उत्पन्न भएको तुम्बाहाम्फेको सचिवालयमा कार्यरत एक कर्मचारीको दाबी छ । नाम नखुलाउने सर्तमा समाचार दैनिकसंग कुरा गर्दै ती कर्मचारी भन्छन्,‘प्रधानमन्त्रीले नेम्वाङलाई ‘ग्रिन सिग्नल’ दिने बित्तिकै उनले पहिलेको बाचा बिर्सेका हुन् । अहिले बोलचाल समेत छैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर