मलाई असफल बनाउने षड्यन्त्र भएको छ : मुख्यमन्त्री शाही 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई असफल बनाउन षड्यन्त्र भईरहेको बताएका छन्  । मंगलबार कर्णाली प्रदेश सभा स्थापना दिवसको अवसरमा संसद सचिवालयद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विकास निर्माणका काम हुन नदिएर आफूलाई असफल पार्न खोजेको बताएका हुन् । 

आफूलाई असफल बनाउन खोजिएको कुरा मुख्यमन्त्री शाहीले स्पष्ट रुपमा खुलाएनन् । कर्णालीको विकासको सन्दर्भलाई जोडेर उनले आफूमाथि षड्यन्त्र भईरहेको संकेत गरेका हुन् । 

‘एकअर्काको प्रगति स्वीकार्न सक्ने क्षमता दाजुभाईबीच पनि छैन, यो पनि कर्णालीको विकास हुन नसक्नुको एउटा कारण हो,’ उनले भने, ‘मुख्यमन्त्री असफल बनाउन किन लाग्नु प¥यो, विकासले मुख्यमन्त्री सफलता देखिने होईन । बरु पछाडि परेका समुदायलाई सहज हुने हो ।’

उनले आफूलाई असफल बनाउन विकास निर्माणका केही काम रोक्न खोजिएको अस्पष्ट तर्क प्रस्तुत गरे । ‘कुनै ठाउँमा बत्ति बल्यो भने अध्यारोमा बसेकाले उज्यालो पाउँछन्, त्यहाँ उज्यालो हुनु र नहुनु मुख्यमन्त्रीको सफलता र असफलता जोडिँदैन । किन षड्यन्त्र बुन्नु प¥यो ?’ उनले कर्णाली भित्रैबाट आफूलाई मुख्यमन्त्री स्वीकार्न नखोजेको बताए । 

विकास निर्माणका काममा कानुनले नै समस्या पारेको मुख्यमन्त्री शाहीले बताए । ‘निर्माण व्यवसायीहरुलाई बाटो बनाउनका लागि चिठी दिएको चार महिना भयो, अझै पनि खन्न सकेको छैन्,’ उनले भने, ‘कानुन हेर्ने हो भने म्याद थप्ने व्यवस्था छ, केही गरिहाल्यो भने ठेकेदार अदालत गईहाल्छन् ।’

मुख्यमन्त्री शाहीले संघीयताको परिकल्पना विकासकै लागि भएको बताउँदै प्रदेश सरकारको अहिलेको जिम्मेवारी कर्मचारी र संरचना व्यवस्थापनको भएकोले यसमा कर्णाली सरकार लागेको स्पष्ट बताए । उनले खराब संस्कारका कारण कर्णालीको विकास हुन नसकेको समेत बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर