• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

स्वेच्छिक अवकास लिएर कृषि पेशामा रमाइरहेका एक पूर्वशिक्षक

झापा । ‘रोजगारी पाइएन्, पढाई अनुसारको काम छैन, मन हुँदा पनि काम गर्न पाइएन...’ भन्दै बिरक्तिनेहरु जति पनि भेटिन्छन नेपालमा । इच्छाशक्ति हुँदा स्वदेशमै केही गर्न सकिन्छ भन्नेहरुको जमात अलि सानै छ । 

कहीँ कहीँ भेटिन्छन, जो नेपालमै श्रम गरेर आफ्नो भविष्य बनाइरहेका छन् । यहाँको माटोमा दुःख गर्दा फल पाइन्छ भन्नेहरुको सूचीमा पर्छन, झाप विर्तामोडका, दिनेश ओझा ।

बिर्तामोडबाट करिब २ किलोमिटर दक्षिण मोडिएपछि सडकबाटै देखिन्छ बिर्तामोड नगरपालिका ३ स्थित बिराटपोखरीमा रहेको ‘श्री शिव कृषि फर्म ।’

कृषि फर्म संचालनपूर्व उनी पेशाले सरकारी विद्यालयका शिक्षक थिए । विद्यालयमा शिक्षण गराउँदै सधैँ विद्यार्थी, चक र डस्टरसंग रमाएका ओझा हाल गाई, माछा र बाख्रासंग रमाइरहेका छन् । 

पैसा देख्न चौमासिक तलब नै कुर्नपर्ने अवस्थाबाट बिरक्तिएर उनले कृषि फर्मतिर हात हालेका हुन् । 

जम्मा ५ बिगाहा क्षेत्रफलमा फैलिएको यो कृषि फर्ममा गाई, बाख्रा, माछासंगै सागसब्जी पनि लगाउँछन् । २० लाख रुपैंया लगानी गरेर सुरु गरेको उनको फर्म बढ्दै जाँदा लगानीपनि अहिले दोब्बर बनिसकेको छ ।

मासिक १ लाख रुपैँया आम्दानी गर्दै आएका उनी अहिले अनुदानका नाममा बिचौलिया हावी भईरहँदा निकै चिन्तित छन् । यस्तै, स्वदेशमा रोजगारीको अवसर नै छैन भनेर विदेशीने युवाहरुलाई गरे नेपालमै हुन्छ भन्ने सन्देश छोड्न चाहन्छन् । 

दिनेश ओझा

फर्ममा उनीमात्र एक्लै छैनन् । उनलाई झाप भद्रपुरका डम्बर पराजुलीले पनि साथ दिन्छन् । अर्थात् उनीपनि यही फर्मका अर्का संचालक हुन् । 

उनको अर्कै कथा छ, जीन्दगीको । 

लामो समय वैदेशिक रोजगारीका लागि विदेशीएका पराजुली पछिल्लो समय आफ्नै देशमा केही गर्नपर्छ भन्ने भाव पैदा भयो । विदेशमा पनि उनको कमाई राम्रै थियो । 

तर, उनलाई आफ्नै देशको माटोमा पसिना बगाउने ईच्छा जाग्यो । सोहीकारण अहिले उनी कृषि फर्मतिर लागेका हुन् । आफूपनि लामो समय वैदेशकि रोजगारीमा बसेर फर्किएका डम्बर अहिले यहाँ रोजगारी नभएर विदेशीने जमातलाई अर्काको गुलमी गर्नुभन्दा स्वदेशमै केही गर्न सकिने भन्दै उत्साहित बनाउँछन् । 

बैंकबाट किसान, गरीब तथा विपन्न वर्गले पाउनुपर्ने कर्जा विचौलिया दलालहरूको खल्तीमा जाने गरेको गुनासोसमेत नआउने होईन । कृषकलाई ऋणको अधिकार छ कि छैन ? यो देशमा गरीब विपन्नहरुलाई ऋण पाउने अधिकार छ कि छैन ? बैंकिङ ऋण सहुलियत ढङ्गले नपाउँदा अहिले लाखौंलाख किसानहरू ठगिन विवस छन् । यसतर्फ राज्य गम्भिर बन्नुपर्छ कि पर्दैन ?

मुलुकको प्रमुख आर्थिक स्रोत कृषिमा आधारित भएको तथा ६० प्रतिशतभन्दा बढी नेपाली कृषिमा आश्रित एवम कुल ग्राहस्थ उत्पादनमा कृषिको ३० प्रतिशत योगदान रहदापनि कृषीको आधुनिकीकरणतर्फ ध्यान किन जान सकेको छैन । 

उनीहरुको प्रश्न छ, ‘जुन देशको ६०÷६५ प्रतिशत जनता कृषिमा आश्रित छन्, त्यहाँ १० प्रतिशत मात्र कृषि कर्जा प्रवाह भइरहेको अवस्था छ, यसरी कृषिमा कसरी आधुनिकीकरण हुन्छ ? कृषि आधुनिकीकरण भएन भने समृद्धिको यात्रा कसरी पूरा हुन्छ ?’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर