आत्मनिर्भर भएपनि दूध उत्पादन बढाउन निर्देशन 

विराटगनर । दूध उत्पादनमा प्रदेश १ आत्मनिर्भर भएपनि उत्पादन बढाउने प्रयास जारी राख्न भूमिव्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव विमलकुमार निर्मलले निर्देशन दिएका छन् ।

दुग्ध विकास संस्थान कर्मचारी संगठन नेपालको ३० औं स्थापना दिवशको अवसरमा शुक्रबार दुग्ध वितरण आयोजना विराटनगरमा आयोजित कार्यक्रममा सचिव १ नम्वर प्रदेश अन्य प्रदेशमा दूध आपुर्ती गर्नसमेत सक्षम रहेको बताएका हुन् ।

नेपालको कुल दूध उत्पादनमा प्रदेश १ ले ३० प्रतिशत योगदान गर्दै आएको छ । इलाम जिल्लाबाट उत्पादित दूधले प्रदेश १ को माग पुरा गरिरहेको उनले जानकारी दिए । दूध उत्पादनको अवस्था राम्रो भएपनि त्यसलाई निरन्तर बढाउन जरुरी रहेको सचिव निर्मलले बताउनुभएको छ । उहाँले प्रदेश १ ले पाउडर उत्पादनको क्षमता बढाउदा विदेशबाट आयात हुँदै आएको पाउडरलाई प्रतिष्थापन गर्न सफल भएको दावी गरे । उनले किसानहरुलाई दूध उत्पादनमा आकर्षित गर्न र बजारको अभाव हुन नदिन निजी क्षेत्रसँग साझेदारी गरेर पाउडर उत्पादन गर्ने योजना कार्यान्वयनको चरणमा रहेको बताए ।

राष्ट्रियसभाका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य गोपी अछामीले संस्थाने निजी क्षेत्र र विदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न गुणस्तरमा ध्यान दिनुपर्ने बताए । सरकारले निजी क्षेत्रको संरक्षण गर्दै सरकारी संस्थानहरुको विकासमा योगदान गर्नु पर्ने भएकोले कर्मचारीहरुले आफ्नो हित सोचेर काम गर्नुपर्ने बताए ।

संस्थानका सञ्चालक समितिका सदस्य राम कोइरालाले संस्थानको विकासकालागि कर्मचारीहरुको योगदानको चर्चा गरे । उनले दैनिक ज्यालादारी लगायत कर्मचारीहरुको दिगो व्यवस्थापन गर्ने प्रयत्न भइरहेको भन्दै फागुन पहिलो साताभित्र उनीहरुलाई करार सेवामा समावेश गरिसक्ने जानकारी दिए ।

आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य ओमकार खरेलले संगठनले कर्मचारीको हितका साथै संस्थानको दिगो विकासको पक्षमा सन्तुलित भूमिका निर्वाह गरिरहेको बताए ।

कार्यक्रममा विराटनगर आयोजना प्रमुख निलकण्ठ गौतम, पूर्व अध्यक्ष चुडामणी निरौला, कर्मचारी संघका अध्यक्ष शिवकुमार राजवंशी, कृष्ण केसी, देवेन्द्र अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा अघिल्लो वर्षको एसइई परीक्षामा उत्कृष्ठ भएका कर्मचारी परिवारका सुप्रिम भट्टराई लगायत दुई जनालाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर