तिलोत्तमाका वडाहरु धमाधम ‘शुन्य खुला पोलिथिन’ घोषणा 

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ र ६ लाई शनिबार शुन्य खुला पोलिथिन घोषणा गरिएको छ ।

यसअघि वडा नं. ९, २, ८ र १६ लाई शुन्य खुला पोलिथिन घोषणा गरिएकोमा शनिबार थप दुई वडाहरु शुन्य खुला पोलिथिन घोषणा गरिएको हो ।

सिम नेपालको आयोजनामा शनिबार आयोजित फरक–फरक कार्यक्रमबीच वडा नम्बर ४ र ६ लाई शुन्य खुला पोलिथिन वडा घोषणा गरिएको हो ।घोषणाअघि वडा नं. ४ मा वडाबासीले बाजागाजासहितको ¥याली निकालेका थिए ।

कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले वडाध्यक्ष दिवाकर ढकाल र सुखदेव न्यौपानेलाई प्रमाणपत्र प्रदान गरे । अभियानमा नगरबासीले देखाएको सक्रियताको प्रशंसा गर्दै उनले अब यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । नगर उपप्रमुख जागेश्वरी चौधरीले सबैको सहकार्यबाट शुन्य खुला पोलिथिन अभियानलाई सार्थक बनाउँदै अघि बढिएको बताइन । 

शुन्य खुला पोलिथिन घोषणा भएसँगै वडाहरुले अब पोलिथिनजन्य फोहर सडक, सार्वजनिक स्थल वा अन्य कुनै स्थानमा फ्याँकेको पाइएमा जरिवाना लिइने जनाएका छन् । त्यसक्रममा अभियानमा सहभागी भएर दिनरात पोलिथिनजन्य फोहोर बटुल्न लागिपर्ने टोल विकास संस्था, आमा समूह, क्लव, संघ–संस्थालाई सम्मान गरिएको थियो । अभियन्ता निपेश ढाकाले तिलोत्तमा नगरपालिकालाई फागुन महिनाभित्रै शुन्य खुला पोलिथिन घोषणा गर्नेगरी अभियान चलाइरहेको बताए । 

पोलिथिनले उच्च प्रदुषण गर्ने भन्दै सीम नेपालले तिलोत्तमाबाट सुरु गरेको यो अभियान मुलुकभर नै चलाउने जनाएको छ ।  सुर्ती, गुट्खालगायत विभिन्न जङ्क फुडका खोलका कारण बजार क्षेत्र बढी प्रदुषित भएको पाइएपछि तिलोत्तमामा शुन्य खुला पोलिथिन  अभियान चलाइएको हो । शुन्य खुला पोलिथिन घोषणा गरिएका वडाहरुमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना समेत गर्न थालिएको छ । 

यसैबीच शनिबार छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणालीको आह्वानमा किसानहरुले शाखा कुलोहरुमा सरसफाई गरेका छन् । गत शनिबार मुख्य नहर सफाई गरेका किसानहरुले यसपटकको शनिबार शाखा कुलोहरु सफाई गरेका हुन् ।

यस्तै, शनिबार नै भुपू सैनिक टोल विकास संस्था र कटानी भुल्का टोल विकास संस्थाको आयोजनामा सुखौरा खोला सरसफाई गरिएको नगर कार्यपालिका सदस्य राधा शाहीले जानकारी दिइन । तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर