गच्छदार भ्रष्टाचार प्रकरण : प्रदेश १ को प्रदेशसभा पनि अवरुद्ध

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधका कारण आइतबारको प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । 

प्रदेशसभाको बैठक प्रारम्भ भएलगतै प्रतिपक्ष सांसदहरुले उठेर विरोध गरेका थिए । सभामुखले पटक–पटक आसनग्रहण गर्न गरेको आग्रह अस्वीकार गर्दै सांसदहरु सिटमा नबसेपछि सभामुख प्रदिपकुमार भण्डारीले सचेतक सुयर्माराज राईलाई बोल्न समय दिएका थिए । 

प्रमुख प्रतिपक्ष दलका सचेतक राईले सरकारले न्याय सम्पादनको प्रकृयामा विभेद गरेको बताए । ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाउँदा राजनीतिक विचारको आधारमा विभेद गरेको उनको आरोप थियो । 

प्रस्ताव लैजाने मन्त्रीमाथि मुद्धा चल्दा निर्णय गर्ने प्रधानमन्त्री, मुख्यसचिव तथा जग्गा खरिद गर्ने नेकपाका महासचिव लगायतलाई कारवाहीबाट उन्मुक्ति दिन खोजेको राईले बताए ।

भ्रष्टाचारमा संलग्न जो कसैलाई पनि उन्मुक्ति दिन नहुने भन्दै बिचारका आधारमा विभेद गरेर मुद्धा चलाउन नहुने बताए । नेपाली काग्रेंस सुशासनको पक्षमा रहेको र अख्तियारको गठनसमेत काग्रेंसकै अग्रसरतामा भएको स्मरण गराए । उनले अख्तियारको निर्णय सच्चिनु पर्नेमा नेपाली काग्रेंस स्पष्ट रहेको बताए । उनले यस विषयको उचित निकास नआएसम्म निरन्तर बैठक अबरुद्ध गरिरहने चेतावनी पनि दिएका छन् ।

प्रदेशसभाको बैठकमा सचेतकले आफ्नो धारणा राखेलगतै प्रमुखप्रतिपक्ष दलका सांसदहरु पुनः सिटबाट उठेर विरोध जनाएपछि सभामुख भण्डारीले सोमबार २ बजेसम्मकालागि बैठक स्थगीत गरे । 

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काग्रेंसका उपसभापति बिजयकुमार गच्छदार लगायत १ सय ७५ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर