• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रदेश दुईः मुस्लिम मुख्यमन्त्री मदर्साप्रति मौन !

जनकपुरधाम । प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधामलाई धार्मिक सहिष्णुताको अदभूत केन्द्र हो भन्दा अतिशयोक्ति नहोला । यहाँ एकातर्फ विश्व प्रसिद्ध जानकी मन्दिरमा प्रार्थनाका स्वरहरु गुञ्जिरहेको हुन्छ भने अर्को तर्फ जानकी मन्दिरको ठीक पछाडी रहेको मस्जिदमा नमाजका स्वरहरु गुञ्जायमान भईरहेको हुन्छ ।

विश्वभरी धार्मिक असहिष्णुता बढी रहेको समयमा जनकपुरधाम विश्व समुदायका लागि उत्कृष्ट उदाहरणको रुपमा लिन सकिन्छ । यद्यपि जानकी मन्दिरको पछाडी रहेको सो मस्जिद तथा स्थानीय मुस्लिम समुदायबाट संचालित मदर्साको अवस्था एकदमै दयनिय रहेको छ ।  

अल जामेअतुल हनफियतुल गौसिया मदर्सा वर्षौदेखि संचालनमा रहेपनि स्थानीय सरकार बनि सकेपछाडी पनि सरकारको आँखा जान सकेको छैन । सरकारी आँखा सो मदर्सामा पर्न नसकेपछि त्यहाँको अवस्था झन दयनिय बन्दै गईरहेको छ । वि.सं. २०१२ मै स्थापना भएको अल जामेअतुल हनफियतुल गौसिया मदर्साले  २०६५मा आएर मात्रै सरकारी मान्यता प्राप्त गर्न सक्यो ।

सरकारी स्तरबाट मान्यता प्राप्त गरेको १२ वर्षपछि पनि त्यहाँ न विद्यार्थीकै लागि राम्रो किसिमको सुविधा प्रदान गरिएको छ न त शिक्षकहरुकै लागि । सामाजिक सहयोगबाट चलिरहेको सो मदर्सामा १ सय २१ जना विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये ५० जना छात्राहरु अध्ययनरत रहेका छन् । 

उर्दु शिक्षाको आकर्षण घटिरहेको समयमा पछिल्लो शैक्षिक सत्रको तुलनामा यस मदर्सामा विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ । शैक्षिक सत्र २०७५/०७६मा २५ विद्यार्थी मात्रै रहेकोमा चालु शैक्षिक सत्रमा थप ८५ विद्यार्थीहरु अध्ययन गर्नका लागि पुगेका हुन् । यहाँ पढ्ने छात्र छात्राहरु उर्दु शिक्षाका लागि यहाँ पुग्ने गर्छन् भने अन्य विषयको अध्ययनका लागि अर्को विद्यालयमा अध्ययन गर्ने गर्छन् । मदर्सामा रहेको विद्यालय व्यस्थापन समितिको पहलकै कारण विद्यार्थीहरुमा उर्दु शिक्षाप्रति आकर्षण बढेको समितिका अध्यक्ष जलालुद्दिन खानले दावी गरे । 

बिना शिक्षक मदर्सा संचालनमा 
२०६५ सालमा सरकारी स्तरमा मान्यता प्राप्त गरेको अल जामेअतुल हनफियतुल गौसिया मदर्सामा हालसम्म शिक्षकहरुलाई नियुक्ति गरिएको छैन । विद्यार्थीहरुलाई पढाउँदै आएका शेख नइमले कक्षा २ सम्म सरकारबाट मान्यता प्राप्त मदर्सा रहेपनि एकजना शिक्षकको पनि दरबन्दी नरहेको बताए ।

नइम मदर्साका सदर मुदरिस (प्रधानाध्यापक) हुन् । तर उनी स्वयं पनि दरबन्दीबाट आएका होनन् । मदर्सामा दरबन्दी किन राखिएको छैन भन्ने प्रश्नमा शिक्षा समन्वय ईकाई धनुषाका प्रमुख बर्खु प्रसाद रजकले अब माविसम्मको शिक्षा स्थानीय तहमा गईसकेकोले स्थानीय तहबाट नै दरबन्दी गर्नु पर्ने बताए । उनले भने ‘ स्थानीय तहमा दरबन्दी मिलान भईरहेको र दरबन्दी नियमावली बनिसकेकोले अब शिक्षक माग गर्दा पुर्ती हुनेछ ।’

यता प्रधानाध्यापक नईमले भने ‘आफूहरु अड्डा कार्यालय धाउँदा धाउँदा हैरान भई सके तर अहिले सम्म केही हाशिल हुन सकेको छैन ।’ नइमले फेरी स्थानीय तहमा निवेदन लिएर जान्छौँ हेर्नुस के हुन्छ प्रतिक्रिया दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खानले समेत मदर्सामा शिक्षक दरबन्दीका साथै विद्यार्थीहरुको दिवा खाजा, ड्रेस, छात्रवृति लगायतका अन्य सुविधाका लागि पहल भईरहेको जानकारी गराए ।

मदर्सामा जम्मा ७ जना शिक्षकहरुलाई सामाजिक स्तरमा राखिएको छ । उनीहरुको तलब मुस्लिम समुदायबाट उठ्ने जकात अर्थात चन्दाबाट व्यवस्थापन हुँदै आएको छ । विराटनगरबाट आएका प्रधानाध्यापक नईम मात्र १० हजार रुपैयाँ पारिश्रमिक लिएर विद्यार्थीहरुलाई पढाउँदै आईरहेका हुन् । उनले भने ‘उर्दु भाषा हराएर नजाओस भन्ने ध्येयका साथ मात्रै आफू कम पारिश्रमिकमा काम गर्दै आएको छु।’

अल जामेअतुल हनफियतुल गौसिया मदर्सामा धनुषा जिल्लाको मात्र नभई महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट, भारतको विभिन्न स्थानबाट समेत उर्दु शिक्षा ग्रहण गर्नका लागि पुग्ने गर्छन् ।    

पढाई फजिलतसम्म विद्यार्थी मौलवीसम्म मात्र  
अल जामेअतुल हनफियतुल गौसिया मदर्सामा नेपाल सरकारबाट कक्षा दुईसम्म मात्रै मान्यता प्राप्त रहेको छ । यद्यपि सामाजिक स्तरमा चन्दा उठाएर मदर्सामा फजिलत अर्थात एमए सम्मको पढाईको व्यवस्था रहेको छ । तर अहिले विद्यार्थी अभावमा मौलवी अर्थात कक्षा १० सम्म मात्रै पढाई हुँदै आईरहेको छ ।

केही दिन अगाडी मात्रै दस्तारबन्दी अर्थात दिक्षान्त समारोह गरेर दुई विद्यार्थीलाई मौलवीको उपाधी प्रदान गरिएको थियो । यहाँ सरकारी स्तरबाट उचित प्रबन्ध नरहेकोले यी दुई विद्यार्थीहरु बाहिर उच्च शिक्षा हाशिल गर्नका लागि गए । 

उर्दु शिक्षा आय आर्जनको माध्यमसंग अहिलेसम्म नजोडिएकोले अहिले पनि विद्यार्थीहरुलाई अन्य विद्यालयमा पढ्नु पर्ने बाध्यता रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खानले बताए । उर्दु शिक्षालाई पनि आय आर्जनको माध्यमसंग जोड्न सकियो भने यहाँ विद्यार्थीहरुमा उर्दु शिक्षाप्रति आकर्षण बढिरहेको उनले दावी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर