जनयुद्धको स्मरण गर्दै नेता राम कार्की भन्छन्, ‘पूँजीवाद रहेसम्म हिंसा चाहेर पनि हट्दैन्’

विराटनगर । वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेर बुधबार विराटनगरमा १० वर्षसम्म सशस्त्र संघर्षको स्वरुपमा सञ्चालन भएको जनयुद्धको सम्झना गरिएको छ । कोशी सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा जनयुद्धका क्रममा विकसित भएका गीतसंगीतहरुको प्रस्तुति गरिएको थियो । 

तत्कालिन नेकपा माओवादी पार्टीले वर्गीय मुक्तिको उद्देश्यले २०५२ साल फागुन १ गतेबाट जनयुद्धको घोषणा गरेको थियो । सो आन्दोलन १० वर्षसम्म सशक्तरुपमा सञ्चालन भएको थियो भने २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि आन्दोलनको स्वरुप परिवर्तन भएको थियो । 

जनयुद्ध दिवशको सन्दर्भमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका केन्द्रीय सदस्य राम कार्की पार्थले जनयुद्ध निरर्थक नजाने बताए । जनयुद्धले गणतन्त्र नामक शिशुको जन्म दिएको भन्दै उनले शिशु स्वीकार गर्नेले जन्माउने आमालाई अस्वीकार गर्नै नसक्ने दावी गरे । उनले जनयुद्ध गणतन्त्रको जननी भएको दावी गरेका थिए । जनयुद्धले जुन उडान भरेको थियो त्यो जहाज गन्तव्यमा नपुगी बिचैमा दुर्घटना भएको तर त्यसले महत्वपूर्ण उपलव्धी हाशिल गरेको उनको टिप्पणी थियो । 

समय र सन्दर्भहरु फेरिएकोले बारुदको बेला नभएको र बन्दुकको जरुरी नभएको उनको भनाई थियो । ‘अहिले बारुदको बेला हैन, बन्दुकको जरुरी छैन,’ नेता कार्कीले भन्नुभयो ‘बिचारको छलफल जरुरी छ र मानिसहरुको सोच्ने तरिका बदल्न जरुरी छ ।’

राजनीतिमा हिंसाको प्रयोगको सवालमा विभिन्न आलोचना हुने गरेको तर्फ संकेत गर्दै उहाँले पूँजीवादले हिंसालाई प्रश्रय दिने गरेको दावी गरे । ‘पूँजीवाद रहेसम्म हिंसा रहिरहन्छ कसैले चाहेर पनि हटाउन सक्दैन,’ नेता कार्कीले भने, ‘समाज रुपान्तरणकालागि हिंसा भनेको मिडवाइफ(धाइआमा) हो ।’

युद्धमा मानिसको ज्यान जाने खतरा रहने गरेको स्मरण गर्दै उहाँले शान्ति र समृद्धिको यात्रामा इमान जाने खतरा रहेको बताए । उनले अहिलेको समयमा नेता कार्यकर्ताहरुले इमान बचाउन लाग्नु पर्ने र त्यसले मात्र बिचारको रक्षा हुनसक्ने बताए । समाजवाद स्थापनाको दिशामा जानुपर्ने भएपनि मुलुकले बाटो पहिल्याइनसकेको भन्दै उनले संसारमा समाजवादको अभ्यासहरु असफल भएपनि समाजवाद असफल नभएको जिकिर गरेका छन् । 

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज घनेन्द्र वस्नेतले जनयुद्धले नै गणतन्त्र सम्भव भएको बताए । उनले नेकपा स्थापनाको ७० वर्षमा थुप्रैं आन्दोलनको सृङ्खला पार गर्दै यहाँसम्म आएको र गणतन्त्र स्थापनामा जनयुद्धको भूमिका महत्वपूर्ण रहेको बताए । ‘नेपालमा जनयुद्ध भएको थिएन भने अहिलेको गणतन्त्र सम्भव पनि थिएन,’ नेता बस्नेतले भने, ‘विगतका थुप्रै सशस्त्र आन्दोलनको कडिहरु यसले जोडेको छ ।’ उनले नेपालमा कम्युनिष्टहरु टिकिरहनुको पछाडि राष्ट्रियताप्रतिको प्रतिवद्धता र वर्गीय पक्षधरता प्रमुख रहेको भन्दै त्यसमा आँच आउन दिन नहुने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विगतको आन्दोलनको विरासत बिर्सेर सहि ठाउँमा पुग्न नसकिने बताए । उनले गणतन्त्र स्वीकार गर्ने तर जनयुद्ध स्वीकार नगर्ने भन्ने हुन नसक्ने भन्दै जनयुद्धले ल्याएका परिवर्तनहरुको उचित मुल्यांकन हुनुपर्ने बताए ।

सांस्कृतिक कार्यक्रममा तात्कालिन सामना सांस्कृतिक परिवार, सुखानी सांस्कृतिक परिवार आदिमा योगदान गरेका कलाकारहरुले जनवादी गीतसंगीतको माध्यमबाट सहभागीहरुलाई मनोरञ्जन दिलाएका थिए । कवि भरत गुरागाई, गरिमा भट्टराई प्रतिष्ठानका अध्यक्ष गणेश उप्रेती सुशिल लगायतले परिवर्तनका कविताहरु सुनाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर