कोशी नदीका सबै पानीजहाज सेवा बन्द 

विराटनगर । सप्तकोशी नदीमा विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको पानी जहाज (स्टिमर) बुधबारदेखि बन्द भएको छ । असुरक्षाको कारण देखाउँदै जहाज सञ्चालकहरुले सेवा बन्द गरेका हुन् । 

स्थानीय केही युवाहरुको अराजक गतिविधि, हुलहुज्जत, अनुचित कमिसन र स्वतन्त्र व्यवसायमा रोकावटको प्रयास भएपछि नेपाल जलयातायात व्यवसायी महासंघले सप्तकोशी नदीमा जहाज सञ्चालन बन्द गर्ने निर्णय गरेको हो । 

बुधबार १४ जना भारतीय पर्यटकलाई बोकेर चतराबाट धनकुटाको शहिदभूमि गाउँपालिका त्रिवेणी पुगेको जहाज स्थानीय केही युवाहरुले ९ घण्टासम्म नियन्त्रणमा लिएर अवरोध गरेपछि व्यवसायीहरुले सेवा बन्द गरेर सुरक्षाको माग गरेका हुन् । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गरिरहेको र मुख्यरुपमा भारतीय पर्यटकहरुलाई आकर्षित गर्न प्रयास गरिरहेको बेला युवाहरुको व्यवहारले आफुहरुसमेत निराश भएको व्यवसायीले बताएका छन् । 

उनीहरुले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर सुरक्षाका प्रत्याभूति नभएसम्म जहाज चलाउन नसक्ने बताएका छन् । महासंघका केन्द्रीय सदस्य राजेन्द्र कार्कीले स्थानीय केही युवाको दादागिरी तथा कमिशनको दवाव र निशुल्क यात्रागर्ने प्रवृत्तिले व्यवसाय संकटमा परेको बताए । उनले सुरक्षाको अनुभूति र यात्रास्थलमा सुरक्षाकर्मीको उपस्थिति नभएसम्म जहाज सञ्चालन गर्न नसक्ने बताए ।

कोशी नदीमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रा.लि., नेपाल रिभर ट्रान्सपोर्ट प्रा।लि।, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट प्रा.लि. र सप्तकोशी टुरिज्म एण्ड वाटर ट्रान्सपोर्टेशन प्रा.लि.ले पानी जहाजबाट सञ्चालन गर्दै आएका छन् । कोशी नदीमा आठ सिटदेखि ७० सिट क्षमताका जहाजहरु सञ्चालनमा छन् । पानी जहाजले दैनिक ७ सय स्थानीय यात्रु र करिव ३ सय आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा दिँदै आएको कार्कीले जानकारी दिए ।
 
पत्रकार सम्मेलनमा चतरादेखि त्रिवेणीसम्मको यात्रु भाडादर निर्धारण गर्न, आवश्यक कानून व्यवस्था मिलाउन र सुरक्षाको प्रत्याभूति दिलाउनसमेत माग गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर