प्रदेश ५ सरकारको स्थापना दिवस, प्रादेशिक एक्स्पोको तयारी अन्तिम चरणमा पुग्यो : मन्त्रालय

बुटवल । प्रदेश ५ सरकार स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको तयारी थालिएको छ । यही फागुन ३ गते मूल समारोह गर्ने तयारीमा रहेको प्रदेश सरकारले स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ । प्रदेश पाच सरकार स्थापना भएको फागुन ३ गते २ वर्ष पुग्दैछ । मूल समारोहमा विभिन्न किसिमका पदक वितरण गर्ने तयारीमा पनि सरकार रहेको छ । 

यसै सन्दर्भमा प्रदेश ५ सरकारले दाङको बेलझुण्डीमा प्रादेशिक एक्स्पो आयोजना गर्दैछ । प्रदेश सरकार स्थापनाको अवसर पारेर फागुन १० गतेदेखि १२ गतेसम्म आयोजना हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको प्रदेश ५ सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले जानकारी दिए । 

उनका अनुसार एक्स्पोमा प्रदेश सरकारले २ वर्षसम्म गरेका काम, विकास, विविधता र संस्कृति झल्कनेछन् । 

‘प्रदेश सरकारले २ वर्षमा गरेको कामको जानकारी एक्स्पोमार्फत दिने तयारी गरेको छ, ‘एक्स्पोको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव खरेलले भने, ‘१२ जिल्लाका पहिचान र विशेषता झल्कने र व्यवसायिक स्टल पनि समावेश गरिनेछ ।’ एक्स्पोमा सरकारी र निजी क्षेत्रका गरी करीब ५ सय स्टल सहभागी हुनेछन् । 

एक्स्पोमा १२ जिल्लाका १ सय ९ स्थानीय तहले आफूले गरेका नमूना कामसमेत प्रस्तुत गर्ने अवसरसमेत प्रदेश सरकारले दिने उनले बताए । 
 
‘समृद्ध प्रदेश, खुसी जनता’को लक्ष्यमा उत्साह र प्रदेशवासीमा खुसी प्रदान गर्न र प्रदेश नं ५ मा नमूना कृषि, नमूना पर्यटन, नमूना स्वास्थ्य, नमूना विकास, नमूना शिक्षा तथा संस्कृित स्थापनामा अभिप्रेरितको लागि मुख्य भूमिका खेल्ने सरकारको अपेक्षा छ । 

२ वर्षसम्म सरकारले गरेका गतिविधि, प्रगति तथा सेवाप्रवाहसम्बन्धी जानकारीमूलक प्रस्तुति तथा स्टल, प्रदेश ५ का विभिन्न ठाउँका कला संस्कृति झल्कने नाचहरू, दोहोरी गीत, सारङ्गीबादन, भ्रमण वर्ष–२०२०, स्थानीय प्रविधि र उत्पादनहरूको प्रदर्शनी, नवप्रवद्र्धन प्रविधिमा आधारित स्टलहरु एक्स्पोमा राखिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले बताए । 

यस्तै वन पैदावार, योगा, मेडिटेसन, र माइन्डफुलनेस कार्यक्रम युवा तथा बालबालिकाका लागि नविन खेलहरू शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरू (स्मार्ट पढाइ र सिकाइको प्रोजेक्टहरू) हेल्थ क्याम्प सञ्चालनलगायतका स्टल पनि एक्स्पोमा रहनेछन् । 

सुरक्षा व्यवस्था र गतिविधिहरूको प्रस्तुति, विपद तयारीको डेमो तथा राहत व्यवस्थापन र वितरण प्रणालीको प्रस्तुति, सूचना सञ्चार क्षेत्र, सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान, टेलिसेन्टर, टिभी, रेडियो, एफएमका कार्यक्रमहरू निर्माण कार्यहरूको जानकारी, टिभी, एफएमहरूसँगको बृहत् गोष्ठी, एक्स्पो कार्यक्रम वृतचित्र प्रदर्शनजस्ता कार्यक्रम पनि रहेको कानुन मन्त्रालयका उपसचिव हरिसिंह धामीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर