प्रदेश १ सरकारको दुई वर्ष : २७ किमि सडक कालोपत्रे, १२९ किमि ग्राभेल

विकास र सामाजिक सुरक्षा सुदृढ सरकारको लक्ष्य

विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार अब विकास र सामाजिक सुरक्षा सुदृढ गर्न लागिपर्ने बताएका छन् । आगामी दिन विकास र समृद्धिसहित उपलव्धिमुलक हुने विश्वास मुख्यमन्त्री राईले व्यक्त गरेका छन् । 

प्रदेश सरकार स्थापना भएको दुई वर्ष पुरा भएको सन्दर्भमा मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालय परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममा उनले  सरकार गठनको दुई वर्ष संविधान र संघीयता कार्यान्वयनको आधार तयार पारेको बताएका हुन् । उनले प्रदेश सरकारले आवश्यक आधार तयार पारेको अब विकास र सामाजिक सुरक्षालाई सुदृढीकरण गर्नेतर्फ लक्षित भएको बताएका हुन् । 

प्रदेश सरकार सुशासन प्रवद्र्धनमा ढृढ रहेको भन्दै मुख्यमन्त्री शेरधन राईले  सरकारले भ्रष्टाचार प्रवृत्तिलाई छुट नदिने दोहोर्याए । उनले भने, ‘प्रदेश सरकार भ्रष्टारको विरुद्धमा कसैसँग पनि झुक्दैन र कुनै सम्झौता गर्दैंन ।’ 

सबै पक्षको साथ सहयोग र सहकार्यबाटै सरकारले दुई वर्षको अवधिमा उत्साहजनक सफलता हाशिल गरेको मुख्यमन्त्री राईले बताएका हुन् । 

कानून निर्माण गर्ने, प्रदेशलाई संस्थागत गर्ने तथा प्रदेशको राजधानी तोक्ने आदि कार्यमा प्रमुख विपक्षी दल लगायत सबै पक्षको सकारात्मक सहयोग पाएको उनले बताए । प्रदेश नामाकरणको विषयमा पनि सरकारले प्रमुख प्रतिपक्ष लगायत सबैको उस्तै सहयोग र सहकार्यको अपेक्षा गरेको उनले बताएका छन् । यसबीचमा प्रदेश सरकार कतै नचुकेको र कसैसँग नझुकेको भन्दै सरकारले गलत काम नगरेको मुख्यमन्त्री राईले बताए ।

प्रदेश सरकारले दुई वर्षे कार्यावधिमा महत्वपूर्ण ३९ कानून, नियमावली, नियम, मापदण्ड र गठन आदेश लगायतका महत्वपूर्ण कार्य सम्पन्न गरेर संघीयता कार्यान्वयन गरेको दावी गरेको छ । यस्तै सरकारले लगानी वोर्ड गठन गरेर परियोजना बैंक स्थापना गरेको र अहिले २६ आयोजनाहरु बैंकमा रहेको मुख्यमन्त्री राईले जानकारी दिए । 

आगामी बैशाख महिनामा लगानी सम्मेलन गरेर आयोजनाहरु कार्यान्वयनमा अगाडि बढाउने उनको भनाई थियो । यसैगरी प्रदेश सरकारले आावधिक योजना मार्फत विकासको कामलाई व्यवस्थितरुपमा अघि बढाएको, सडक, खानेपानी, सिंचाई, यातायात आदि क्षेत्रको पूर्वाधार विकासमा १० वर्षे गुरुयोजना बनाएर अघि बढिरहेको मुख्यमन्त्री राईले बताए ।

प्रदेश सरकारले पूर्वाधार तर्फ २७ किलोमिटर सडक कालोपत्रे, १२९ किलोमिटर सडक ग्राभेल १० वटा मोटरेवल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको  जनाएको छ । यस अवधिमा प्रदेश सरकारले ६२ वटा बहुवर्षीय सडक, ८७ वटा मुख्यमन्त्री ग्रामिण सडक, १२६ वटा  मोटरेवल पुल र ११४ वटा झोलुङ्गे पुल निर्माणाधीन रहेको, ९ सय ४९ वटा खानेपानी योजनाहरु निर्माण भइरहेको मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको, डिजिटल शिक्षा सुरु भएको विवरण मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरे ।

उनले इलाममा टि–टेस्टिङ सेन्टर स्थापनाको तयारी भइरहेको, कोशी रिफ्रेसमेन्ट सेन्टरको डिपिआर तयार भइसकेको, प्रादेशिक अनुसन्धान केन्द्र निर्माणको प्रकृया अघि बढेको, छिन्ताङ घटनाका सहिद परिवारलाई आर्थिक सहयोग तथा सम्मान, जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम अघि बढाएको, पहिलो पटक वैदेशिक सहयोगस्वरुप स्विजरल्याण्ड सरकारबाट १ अर्वको सहयोग प्राप्त गरेको र चालु आर्थिक वर्षको दोश्रो चौमासिककै अवधिमा २५ प्रतिशत भन्दा बढी पूँजीगत खर्च भएको भन्दै सरकारका उपलव्धीका विवरणहरु सार्वजनिक गरे । यसबीचमा प्रदेश लोकसेवा आयोग समेत गठन भइसकेको छ । यसबाट प्रदेश भित्रका कर्मचारी पदपूर्तिको बाटो खुल्ला भई प्रशासनिक संघीयतालाई बलियो बनाउन मद्दत पुग्ने उनले बताए । 

उनले सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहसम्म पुगेको र संघीय प्रणालीको प्रमुख मेरुदण्डको रुपमा प्रदेश सरकार गठन रहेको बताए । जनताका सबै अपेक्षाहरु सम्बोधन हुन यो दुई वर्षका ७३० दिनमा सम्भव नभएको भन्दै आगामी दिनमा जनअपेक्षा सम्वोधन गर्दै अघि बढ्ने बताए ।

कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी र मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका दुई वर्षका प्रगति विवरण सम्मिलित पुस्तक सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर