बुटवलका घरमा डिजिटल प्रविधिमार्फत ४० हजार घरमा नम्बरिङ

आधुनिक सूचना प्रणाली लागु

बुटवल । बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घर नम्बरिङ गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गर्दै पूरा भएका घरमा नम्बर टाँस्ने कामसमेत सुरु गरेको छ । 

बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा प्रमुख शिवराज सुवेदीले ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको घरको नम्बर प्लेट टाँसेर सुभारम्भ गरे । बुटवल वडा नं. ८ राजमार्ग चौरहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए००२’ २०५६ नम्बरको निलो टिनको नम्बर कार्ड टाँस्दै नम्बरिङको शुभारम्भ गरे । उपमहानगरको वस्तुगत विवरणसंगै प्रत्येक घरको डिजिटल प्रविधिबाट नम्बरिङले योजना तर्जमा, कार्यान्वयन र थप अध्यय्नका लागि उपयोगी हुने उनले बताए ।  उपमहानगर भित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको सुवेदीको भनाइ छ ।

सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवाकेन्द्रहरु, सार्वजनिक क्षेत्र, सडक, विद्यालदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्नेगरि ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको प्रमुख सुवेदीले बताए । नीति तथा कार्यक्रममै यसलाई समावेश गरेर व्यवस्थित रुपमा कार्यसम्पादन गरिएको उपमहानगरपालिकाको दावी छ । उपमहानगरपालिकाका अनुसार मोबाइल एपमार्फत उपमहानगरका सेवाप्रवाहको जानकारी लिने र ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गर्ने भन्दै पहिलो निर्णय गरिएको र सो कार्यान्वयनको प्रक्रियामा रहेको छ । 

भौगोलिक अध्यय्नका विज्ञहरुसम्मिलित परामर्शदाता छनौट गर्दै १ देखि ११ वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ पूरा गरिएको हो । अहिले काम पूरा भएका वडाहरु उपमहानगरमा सबैभन्दा धेरैजनसंख्या रहेका हुन् । अब दोस्रो चरणमा वडा नं. १२ देखि १९ मा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ सुरु गरिने उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । 

वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ भएको र कर पनि वडा कार्यालयबाटै तिर्ने व्यवस्था मिलाइएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बुटवल उपमहानगरपालिकालाई प्रबिधिमैत्री बनाउन अग्रसर भइरहेको बताए । बुटवल उपमहानगरपालिकाको वडानम्बर ६, ७ र ८ नम्बर वडाका घरहरुमा नम्बर प्लेट टाँसिएको छ । 

अहिलेसम्मकै आधुनिक वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरिएपछि अब कुन घर कुन रोडको कति नम्बरमा पर्छ भन्ने जानकारी जीपीआरएस सिस्टमबाट थाहा पाउन सकिने छ । डिजिटल नम्बरिङपछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेगरि भौगोलिक सूचना प्रणालीको विकास गरिएको उपमहानगरले जनाएको छ ।
 
सेवाग्राहीलाई सघाउन जनप्रतिनिधि सहयोग कक्ष
स्थानीय सरकारमा सेवा लिन आउने कुनै पनि सेवाग्राहीका कामलाई सहज र छरितो बनाउने उद्देश्यले बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधि सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ । खासगरी भवन निर्माण, घर–नक्सासम्बन्धी काम र पूर्वाधार विकासका कामहरुमा सेवाग्राहीलाई सहयोग गर्ने छ । 

नेपाली भाषामा लागत स्टीमेट
उपभोक्ता समितिमार्फत हुँदै आएका पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन बुटवलले नेपाली भाषामै लागत स्टीमेट बनाउन सुरु गरेको छ ।

प्राविधिक भाषाले अलमलमा पर्ने, प्रक्रियाहरु नबुझ्दा झन्झट मान्ने जस्ता समस्या देखिएपछि नगर प्रमुखले नै उपभोक्ता समितिका कामलाई प्रभावकारीसंगै गुणस्तरीय बनाउन यस्तो उपाय सुरु गर्न प्राविधिकहरुलाई निर्देशन दिएको उपमहानगरपालिकाले जनाएको छ । बुटवलमा १९ वटै वडाहरुमा नेपाली भाषामा लागत स्टीमेट तयार पारेर काम भइरहेका छन् । चालु आवमा मात्रै झण्डै पाँच सय योजनाहरु नेपालीमा लागत स्टीमेट तयार पारेर उपभोक्ता समितिमार्फत भइरहेको उपहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उनले यस्ले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाएको दाबी गरे । 

त्यस्तै बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स विल्डिङ परमिट सिस्टममा भवनहरुको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए ।

घरनक्सा पासको टाइम कार्ड लागू
बुटवल उपमहानगरपालिकाले सेवाग्राहीका लागि घरनक्सा पास सम्बन्धी विशेष जानकारी पुस्तिकासहितको टाइम कार्डसमेत लागु गरेको छ । यहाँका १९ वटै वडामा घर बनाउने कुनै पनि सेवाग्राहीलाई आफुले पालना गर्नुपर्ने नियम र भवनसंहीताको मापदण्डका सबै प्रक्रियाका बारेमा पूर्ण जानकारीसहितको पुस्तिका उपलव्ध गराउदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर