थारुहट थारुवान अनसनको पाँचौ दिन : धनगढीमा विरोध र्यालीसँगै चक्काजाम

धनगढी । थारुहट थारुवान राष्ट्रिय मोर्चाको धनगढीको गुरही चौकमा बसेको अनसनको सोमबार पाँचौ दिन पुगेको छ । थारुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले विभिन्न माग सहित सुरु गरेको अनसनको पाँचौ दिन विरोध र्यालीसँगै मोर्चाले १ घण्टासम्म चक्काजाम समेत गरेका छन् । 

अनसनको आयोजना गर्दै संघर्ष समितिले टीकापुर घटना पश्चात विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाइएका राजबन्दीहरुलाई निःशर्त रिहाई गर्नुपर्ने, टीकापुर घटनाको सत्यतथ्य छानविन गर्नका लागि तत्कालिन नेपाल सरकारले पूर्व न्यायधिश गिरीशचन्द्र लाल नेतृत्वको गठित समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, २०७२ भदौ ८ गते निशेषधाज्ञ कर्फ्यू लागेको समयमा थारुहरुको घरमा आगजनी, लुटपाट, डाकाचोरी गर्ने तथा संलग्नहरुलाई पक्राउ गरि कारबाही गरिनुपर्ने लगायतका विभिन्न माग अघि बढाएका छन् ।

नेता लक्ष्मणले सरकारले संघर्ष समितिसंग गरेको ५, ६ र १० बुँदे सहमति अनुसार नेपालको संविधानको धारा २७४ र अनुसूची ४ संशोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । त्यस्तै नेता थारुले सुदूरपश्चिम प्रदेश मान्य नभएको भन्दै कञ्चनपुरदेखि चितवनसम्मको नौ जिल्लाको एउटा प्रदेश बनाउनुपर्ने माग अघि बढाएका छन् । 

सुदूरपश्चिम प्रदेशले पहाडी सात जिल्ला र कैलाली र कञ्चनपुरका थारुहरुलाई न्याय नमिलेको बताउँदै थारुले तराई र पहाडको समान विकास र समृद्धिका लागि पहाडी जिल्लाको छुट्टै र तराईका जिल्लाका छुट्टै प्रदेश आवश्यक रहेको बताएका छन् ।

संघर्ष समितिले संविधान संशोधन नभएसम्म संविधान समेत अमान्य रहेको भन्दै आउँदो कात्तिक ३ गते संविधान जलाउने र च्यात्ने आन्दोलनको कार्यक्रमम समेत घोषणा गरेको छ । विभिन्न माग सहित थारुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले सुरु गरेको अनसन र आन्दोलनले कस्तो मोड लिने भन्ने विषयमा आमजनताले प्रश्न गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर