यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

वीरेन्द्रनगर ।  कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् ।  

सिडिएस पार्क मुगुद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘सुरक्षित गर्भपतन’ सम्बन्धी  छलफलमा सहभागीले पाठ्यक्रममा यौन तथा प्रजननको विषय  भएमा   धेरै जानकारी पाइने बताए  ।  

पछिल्लो समय २० वर्ष नपुग्दै किशारीले असुरक्षित गर्भपतनको सेवा लिनेक्रम बढेकोमा सहभागीले चिन्ता  व्यक्त गरे ।  सुर्खेतका वसन्त जैसीले प्रजननसम्बन्धी  छुट्टै ऐन बनाई विषयगत रुपमा समेट्न र  सुरक्षित गर्भपतनलाई वैज्ञानिक ढङ्गबाट हेर्न आग्रह गरे ।  जुम्लाका रुपलाल देवकोटाले सबै तहका सरकारले  यौन तथा प्रजनन शिक्षाका बारेमा सचेतनाका अभियान सञ्चालन गर्न र पाठ्यक्रममा यस विषयलाई समेट्न माग गरे ।

सहजकर्ता रुपा उप्रेतीले पछिल्लो समय असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बद्धि भएको जानकारी दिए ।  असुरक्षित गर्भपतनका कारण महिलाको स्वास्थ्यमा नकारात्मक असर परेको र  यसको सचेतना आवश्यक रहेको सिडिएस पार्क मुगुका प्रमुख अजबहादुर शाहीले बताए । कार्यक्रममा सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, मुगुलगायत कर्णाली प्रदेशका १० जिल्लाका  किशोर किशोरीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर