झापामा कोरोनाका त्रास, नियन्त्रणका लागि जिप्रकाको १५ बुँदे निर्णय

झापा । खुल्ला सिमा भएकै कारण झापापनि कोरोना भाईरसको उच्च जोखिममा देखिएको छ । सोही जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालय झापाले कोरोना भाइरस नियन्त्रणका लागि १५ बुँदे निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले भाइरस नियन्त्रणका लागि भारतबाट नेपाल प्रवेश गर्ने जो कोही व्यक्तिलाई मुख्य नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी र गैरसरकारी संस्था लगायत स्वास्थ्यसँग सम्वन्धित अन्य निकाय एवम् संस्थाहरुले कोरोना भाइरस परामर्श केन्द्रमा परामर्श गर्दै सहजीकरण गर्ने निर्णण गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार बजारमा देखिएको मास्क अभाव, स्यानिटाइजर, स्वास्थ्य सम्बन्धी उपकरणहरु लगायत स्वास्थ्यसंग अति आवश्यक उपभोग्य बस्तुको वारेमाा बजार अनुगमनलाई तीब्र रुपमा अगाडि बढाइने भएको छ ।

कोभिड १९ को सम्भावित संक्रमणको रोकथाम, नियन्त्रण र सजगता अपनाउन जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरु, स्थानीय तह, सञ्चारमाध्यमहरु, नागरिक समाज, पेशाकर्मी समाजसेवी, सामाजिक अगुवाहरुसँगको सहकार्यमा सचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।

नजिकिँदै गरेको फागू पूर्णिमा (होली) लगायत सबै प्रकारका सभासम्मेलन, भेला तथा भीडभाड नगर्न, भीडभाडमा सामेल नहुन प्रशासन कार्यालयले आग्रह गरेको छ । जिल्लामा रहेका सरकारी, सामुदायिक, निजी अस्पताल, स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्यकर्मीहरु आवश्यक परेको समयमा स्वास्थ्य सेवामा उपलव्ध गराउने गरी तयारी अवस्थामा राख्न प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

त्यस्तै कोरोना भाइरस सम्वन्धी जनचेतनामूलक सामग्री प्रकाशन तथा प्रशारण गर्ने, कोरोना भाइरसका सम्वन्धमा आधिकारिक सूचना प्रवाह तथा समन्वय गर्न स्वास्थ्य कार्यालय झापाका प्रमुखलाई फोकल पर्सनका रुपमा जिम्मेवारी दिइएको छ ।

भाइरसको जोखिम न्यूनीकरणका लागि यसअघि जिल्लामा बसेका विभिन्न वैठकले गरेका निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै स्थानीय तहमा हुने भेला, सभा, सम्मेलन हुन नदिने, मेची अस्पताल भद्रपुर तथा जिल्लास्थित सबै अस्पतालहरुमा कोरोना भाइरसका कारण हुन सक्ने महामारीको पूर्व तयारीका लागि कम्तीमा १० जनालाई उपचार हुने गरी आइसोलेशन कक्षको व्यवस्था गर्ने, दमक, काँकरभिट्टा, भद्रपुर तथा बिर्तामोडका बसपार्कहरुमा हेल्प डेस्कको व्यवस्था गर्ने, प्रदेश स्तरीय क्वारेन्टाइनको व्यवस्थाका लागि प्रदेश सरकारलाई आग्रह गर्ने, प्रत्येक विद्यालयमा ज्वरो नाप्ने इन्फरेड थर्माेमिटरले ज्वरो परीक्षण गर्ने, कोरोना भाइरस सम्वन्धी परीक्षण गर्न तथा ल्यावका लागि प्रयोग हुने सामग्रीका लागि प्रदेश सरकारलाई आग्रह गर्ने र स्थानीय तहले आइसोलेशन रुम तथा सोको सामग्रीहरुको व्यवस्था मिलाउन पहल गर्ने निर्णय भएको छ ।

झापाका सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरुसहितको वैठकले झापामा कोरोना भाइरस सम्वन्धी सचेतना जगाउन सबै एक हुने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर