भारतमा जनता कर्फ्यु, सुनसान नेपाली बजार

जनकपुरधाम । विश्वभर महामारीकाे रुपमा फैलिएको (काेभिड-१९) कोरोना भाइरसको असर जनकपुरधाममा समेत देखिएको छ । कोरोना संक्रमणको त्रासका कारण जनकपुर सुनसान भएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने उत्तम विकल्प घर बाहिर ननिस्कनु रहेको बुझेपछि बजार क्षेत्रमा चहलपहल पातलिएको छ ।

बिहानैदेखि भरिभराउ रहने जानकी मन्दिरमा दर्शनार्थीको संख्यामा कमी आएको छ । सामान्य अवस्थामा बिहानैदेखि भीडभाड रहने जानकी मन्दिरमा आइतबार न्यून संख्यामा मात्र पूजाअर्चना गर्न मानिसहरु पुगेको त्यहाँका पुजारीले बताए । बाहिरबाट आउने पर्यटकसमेत घटेका छन् । पछिल्लो केही दिनयता जनकपुरमा पर्यटक आउन छोडेको व्यवसायीहरु बताउँछन् ।

जनकपुरधामको बजार क्षेत्रमा न्यून संख्यामा मात्र सवारीसाधन गुडेका छन् । पैदल हिँडडुल गर्नेहरु पनि कमै देखिएका छन् । वहालमा बस्ने कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसमेत जनकपुरबाट आ–आफ्ना गाउँ फर्केका छन् । कोरोना संक्रमणको सम्भावित खतरालाई मध्यनजर गरी जनकपुरधामका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिएको छ । यता आइतबारदेखि सेवा दिन बन्द गरेपछि सरकारी कार्यालय पनि सुनसान छन् ।

दिनहुँ सयौंको संख्यामा सेवाग्रही पुग्ने जिल्ला प्रशासन, मालपोत, नापीलगायत कार्यालयले नेपाल सरकारको निर्णयअनुसार आइतबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको सूचना गेट बाहिरै टाँसेका छन् । आइतबारदेखि महोत्तरीको बर्दिवास बजार पनि बन्द भएको छ । कोरोना भाइरस संक्रमणविरुद्ध सचेत रहन सर्वसाधारणलाई आह्वान गर्दै व्यवसायीहरुले नै बर्दिवास बजार बन्द गर्ने निर्णय गरेका हुन् । कोरोना संक्रमण फैलिन नदिन अत्यावश्यकबाहेक बर्दिवासस्थित उद्योग, कलकारखाना बन्द गर्ने निर्णय भएको वाणिज्य संघले जनाएको छ ।

वाणिज्य संघले २१ चैतसम्म कोरोना भाइरस संक्रमणविरुद्ध सावधानी अपनाउन बजार बन्द गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । संघका महासचिव भवनाथ खतिवडाले चामल, दाल, नुन, तेललगायतका खाद्यान्न वस्तु स्थानीय प्रशासनको सहयोगमा उपभोक्तालाई उपलब्ध गराइने जानकारी दिएका छन् । विपतको समयमा उद्योगी व्यवसायीलाई आर्थिक मार पर्नसक्ने भन्दै वाणिज्य संघले घर भाडामा छुट दिन वाणिज्य संघले सम्बन्धित घरधनीहरुसँग आग्रह गरेको छ ।

भारतमा जनता कर्फयू, असर सीमा नाकामा
कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्नका लागि भारत सरकारले आइतबार आह्वान गरेको जनता कर्फ्यूको असर नेपालसंग जोडिएको सीमामा देखिएको छ । भारतमा आह्वान गरिएको जनता कर्फयूका नेपाल संग जोडिएको भारतीय नाका भएर आव जावत गर्नेहरुको संख्यामा कमी आएको छ ।

धनुषाको भारतीय सीमा नाका जटही पूरै सुनसान देखिएको छ । आइतबार दिनभरीमा जटही नाका भएर एक सय जना पनि भारतीय भूमिबाट नेपाली भूमिमा प्रवेश गरेका छैनन् भने नेपाली भूमिबाट पनि भारतीय भूमिमा प्रवेश गरेका छैनन् । अन्य दिन यो नाका भएर हजारौँ व्यक्ति आवतजावत गर्ने गर्थे ।  जनता कर्फ्यूका कारण आइतबार रक्सौलबाट वीरगञ्जतर्फ र वीरगञ्जबाट रक्सौलतर्फ मानिसहरुको आवतजावत पातलिएको छ ।

भारतमा त्यहाँको सरकारले मानिसहरुलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेकोले रक्सौलबाट वीरगञ्ज नाका भएर मानिसहरुको आवत जावत निकै कम देखिएको छ । वीरगञ्ज रक्सौल नाका भएर पैदल र गाडीबाट समेत जान पाएका छैनन् । दिनभरीमा विरगंज रक्सौल भूमि भएर ५ हजारभन्दा बढी व्यक्ति आवत जावत गर्थे । जबकि आइतबार जनता कर्फयूका कारण मुश्किलले एक हजार व्यक्ति यो नाकाको प्रयोग गरेका छन् । 

३५ नाका बन्द
भारतको बिहार राज्यसँग जोडिएका धनुषाको ३५ वटा नाका बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कुल ३७ नाका मध्ये ३५ वटा नाका आइतबारदेखि बन्द गर्ने निर्णय गरेको हो । भारतको बिहार राज्यबाट कोरोना संक्रमण फैलिन सक्ने भन्दै जिल्लाको मुख्य जटही र खजुरी नाकाबाहेक सबै नाका सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् । जटही र खजुरी नाकाबाट आवतजावत तथा सरसामान आयात निर्यात भए पनि अन्य सम्पूर्ण नाकाहरु पूर्ण रुपमा बन्द गरिएको उनले बताए ।

जटही र खजुरी नाकाबाहेक अन्य नाकाहरुबाट मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द भएको निरौलाले जानकारी दिएका छन् । छिमेकी मुलुकमा कोरोना संक्रमण देखि सकिएको र धनुषा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको संख्या उल्लेख्य रहेकोले पूर्व सावधानीस्वरुप यस्तो निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । खुल्ला गरिएका दुई नाकामा समेत चेकजाँचमा कडाइ गरिएको उनको भनाइ छ । यसैगरी सरकारी कार्यालयहरुले आइतबारदेखि सेवा दिने काम बन्द गरेको उनले बताएका छन्। कार्यालयहरु सञ्चालन भए पनि सेवाहरु बन्द रहने उनले बताए ।

कार्यालयहरुमा सेवाग्रहीको भीडभाड कम गर्न यसो गरिएको निरौलाले बताए । यसका साथै जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरको मुजेलियास्थ्ति मणिपाल मेडिकल कलेजको प्रयोगविहीन भवनमा ६० देखि ७० बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार ७० देखि ८० घण्टाको अवधिमा क्वारेन्टाइन भवन बनाउन तयारी थालिएको छ । मणिपाल कलेजमा क्वारेन्टाइन बनाउनेबारे जानकारी लिन जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह नेतृत्वको टोलीले अनुगमनसमेत गरेको छ ।

स्थानिय युवाले बाँडे पाँच सय निशुल्क मेडिकल मास्क
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोनाभाइरस संक्रमणबाट बच्न स्थानिय युवा आनन्द झाले जनकपुरधाममा  ५०० थान निःशुल्क मेडिकल मास्क वितरण गरेका छन् । जनकपुरधाम भारतसंगको सीमाबाट केही भित्र मात्रै रहेको कोभिड १९को संक्रमणबाट बचाउने उद्देश्यले उनले मास्क वितरण गरेका छन् ।

आइतबार बिहान जनकपुरधामस्थित सदगुरु कबिर अनाथ बालआश्रम, जनकपुरका पत्रकार,जिल्ला प्रहरीको हिरासत कक्षमा रहेका कैदि र ई रिक्सा चालकहरुलाई समेत गरि कोभिड–१९ को संक्रमणबाट बच्न पाँच सय जनालाई उनले मास्क वितरण गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिका वाडा नम्बर ८ बस्ने स्थानिय आनन्द झाले निशुल्क मास्क बितरण गरेका हुन् । सर्वसाधारणमा कोरोना संक्रमणको त्रास बढिरहेको बेला सबैको स्वास्थ्यलाई ख्याल राख्दै मास्क बाँडिएको युवा झाले बताए ।

उनले बाहिर नगई नहुने पेशाका व्यक्तिहरुलाई खास गरी लक्षित गरेर मास्क वितरण गरेको बताए । झाले भने, ‘‘यस्तो अवस्थामा प्रदेश र स्थानिय सरकारले विशेष ध्यान दिनुपर्ने थियो तर याँहाका प्रदेश र स्थानिय सरकारले खासै चाँसो नलिएकोबेला आफुले व्यक्तिगत लागतमा मास्क वितरण गरेका छौ ।’ मास्क वितरण कार्यक्रममा उनकै परिवारका आभास झा, शुशान्त झा, अमित झा लगायतले सहयोग गरेका थिए । 

नेपाल संग जोडिएको राज्य बिहारमा कोरोनाका कारण एकको मृत्यु
नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक जना ३८ वर्षीय व्यक्तिको मृत्यु भएको छ ।  उनी बिहारको राजधानी पटनाका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हालै कतारबाट फर्किएका उनी मार्च २० शुक्रबार अल इण्डिया इन्स्ट्यिुट अफ मेडिकल साइन्सेज (एम्स)मा भर्ना भएका थिए । 

उनी भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने ६० वर्षभन्दा कम उमेरका पहिलो व्यक्ति भएको बताइएको छ । यस्तै शनिबार राति मुम्बईमा पनि कोरोना भाइरसको संक्रमणबाट ज्यान गएका छ ।

मृतक ६३ वर्षका थिए । यससँग भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ भने ३ सय ३२ जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर