• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कोरानाको कहरः कोही छुन मान्दैन, दाह संस्कार गर्न घाट पनि पाउँदैन

काठमाडौं । यतिबेला पुरै विश्व नै एक रहस्यमयी भाइरस(कोभिड–१९)को संक्रमणको त्रासदीमा छ । जान–अञ्जानमा संक्रमित भइहालेमा यसको औषधि बनिसकेको छैन । 

श्वासप्रश्वासको माध्यमबाट वा संक्रमित व्यक्ति तथा वस्तु(सतह) छुनाले नै सर्ने यस भाइरसको संक्रमणलाई रोक्न यतिबेला आधा विश्वमा नै ‘लकडाउन’मा छ । करिब तीन महिनाको अवधिमा यस भाइरसको संक्रमणबाट हजारौँको मृत्यु भइसकेको छ भने लाखौँ संक्रमित छन् । 

कोभिड–१९ को संक्रमणको आशंका हुँदा मात्रै पनि मानिस कम्तिमा १४ दिन क्वारेन्टाइन वा आइसोलेसन बस्नुपर्छ । त्यस्तै यदि कोही संक्रमित भएको खण्डमा उसलाई आइसोलेसन वार्डमा राखेर उपचार गरिन्छ, जसको नजिक जानाले स्वास्थ्यकर्मी पनि संक्रमित हुनसक्ने खतरा रहन्छ । 

यस्तो अवस्थामा यदि कोभिड–१९ बाट मृत्यु भए उक्त व्यक्तिको अवस्था कस्तो होला ? शवको व्यवस्थापन कसरी गरिन्छ ? सायद हामी अनुमान लगाउन सक्छौँ । सवैभन्दा धेरैको ज्यान गएको इटालीमा शव गाड्ने स्थानको अभावमा अर्कै शहरमा लैजानु परेको खवर आईरहेको छ ।

उदाहरणका लागि हाम्रै छिमेकी देश भारतमा हेरौँ, जहाँ कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ पुगिसकेको छ, जसको अन्तिम संस्कारमा समस्या आइरहेको छ । 

यस्तो अवस्था भारतको दिल्ली र पश्चिम बंगालमा देखिएको छ । चिकित्सकले यो भाइरस खोक्दा वा हाँच्छ्यु गर्दा थुकको माध्यमबाट सर्ने र अन्तिम संस्कार गर्दा फैलिने खतरा नरहने बताएपनि मानिसहरु भयभीत बनेका छन् । 

एकातिर शवलाई अन्तिम संस्कारका लागि लग्न वाहन नभेटिएको र अर्कोतिर घाटमा कोरोना महामारीबाट ज्यान गुमाउने मानिसको अन्तिम संस्कार गर्न स्थानीयहरुले नदिएको भारतीय सञ्चारमाध्यमले बताइरहेका छन् । 

पश्चिम बंगालमा स्थानीय वासिन्दाहरुले आपत्ति जनाएपछि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको व्यक्तिको अन्तिम संस्कारमा ढिलो भयो । घाटमा नाकाबन्दी गरेर बसेका मानिसका अनुसार, शवको क्रिया–कर्म गर्दा पुरै इलाकामा नै यो भाइरस फैलने त्रास बढेको थियो  । 

संक्रमणबाट बच्नका लागि आवश्यक कदम उठाइएको भन्दै इलाकाका वरिष्ठ प्रहरी अधिकारीहरुले करिब दुई घण्टासम्म स्थानीयवासीहरुलाई सम्झाउने प्रयास गर्यो । शवलाई बाध्ने क्रममा सरकारी दिशानिर्देशनको पूर्ण पालनाको गरेकोे डराउनु पर्ने अवस्था नरहेको भन्दै स्थानीयवासीहरुलाई सम्झाएको कोलकता प्रहरी केन्द्रिय विभागका एक अधिकारीले बताए । 

त्यसैगरी, स्वास्थ्य विभागका एक अधिकारीका अनुसार, शव जिम्मा लगाउन पनि निक्कै समस्या पर्यो, किनकि मृतकको परिवारका सदस्यहरु अस्पताल नै आएनन् । शव लग्नका लागि कुनै वाहन पनि भेटिएन । त्यसपछि, एक सरकारी अस्पतालको आइसोलेसन बेडमा भर्ना भएकी मृतककी पत्नीको स्विकृति लिएर विभागले शव जिम्मा लिएको थियो । 

त्यसपछि विधाननगर प्रहरीको एक दलको निगरानीमा नीमताला शवगृहमा मृतकको अन्तिम संस्कार गरियो । पश्चिम बंगालमा सोमबार कोभिड–१९ बाट संक्रमित एक व्यक्तिको मृत्यु भएको थियो । उनलाई १६ फेब्रुअरीमा अस्पताल भर्ना गरिएको थियो, गत साता मात्रै उसमा कोरोना पोजिटिभ देखिएको थियो । 

चीनको हुबई प्रान्तको राजधानी उहानमा गत डिसेम्बरको अन्त्यमा देखा परेको नोबेल कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या विश्वभर झण्डै १९ हजारको मृत्यु भइसकेको छ । 

यस भाइरसको उद्गम स्थल भएकोले चीनले सुरुमै यसको कहर बेहोर्ने नै भयो । सुरुमा सामान्य मौसमी रुघाखोकी जस्तो लक्षण देखिने यस भाइरसको संक्रमणबाट चीनमा मानिस मर्न थालेपछि विश्व स्वास्थ्य संगठनको पनि ध्यान केन्द्रित भयो । 

पछि अध्ययनमा चमेरा(जनवार)बाट मानिसमा सरेर सक्रिय बनेको भाइरसले श्वासप्रश्वास समस्या, फोक्सोका रोगी, रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका र दीर्घरोगीहरुको भटाभट ज्यान लिन थाल्यो । 

यो विशेषगरी श्वासप्रश्वासबाट सर्ने भाइरस हो । कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिंगानको माध्यमबाट एक व्यक्तिमा सर्दछ । यस भाइरसमा मान्छेमा संक्रमण गर्ने क्षमता अन्य कोरोना भाइरसभन्दा तिव्र र धेरै रहेको बताइन्छ ।

यही त्रासदीका कारण नेपाल पनि यतिबेला लकडाउनमा छ । यद्यपि, हामी कतिपय लकडाउनको अवज्ञा गर्दै बाहिर निस्किरहेका छौँ । यस भाइरसको संक्रमण हुनबाट बच्न हामी आफैँ अनुशासित भएर लकडाउनको पालना गर्नु नै उच्च सावधानी हो । सामाजिक दूरी बनाएर संक्रमणको खतरालाई कम गर्न सक्छौँ । 

नेपालमा मृत्यु भएको घटना नभए पनि कोही संक्रमित भइहालेको खण्डमा उसको नजिक जान जो कोही डराउँछन् । यदि मृत्यु भइहालेमा उसको शवलाई उठाउनेदेखि अन्तिम संस्कारसम्म कोही हुँदैन । त्यसैले, हामी आफैँले उच्च सावधानी अपनाएर कोरोनाको संक्रमणबाट बच्नु नै बुद्धिमता हुन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर