क्वारेन्टाइनमै स्वास्थ्यकर्मी कुटिए 

बैतडी । बैतडीका एक स्वास्थ्यकर्मीमाथि स्थानीय सरकारले स्थापना गरेको क्वारेन्टाइनमै कुटपिट भएको छ ।  जिल्लाको पुर्चौडी नगरपालिकास्थित कुवाकोट स्वास्थ्य चौकीका अहेव करनसिंह धामीमाथि क्वारेन्टाइनमै कुटपिट भएको हो । 
 
पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेपछि केहीले अहेव धामीलाई कुटपिट गरेको जानकारी दिनुभयो । आफ्ना छोरालाई क्वारेन्टाइनमा किन राखेको भन्दै स्थानीय  नरेन्द्र जागिरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको उनले बताए ।  नरेन्द्रका छोरा सुनिलसहित पुर्चौडीका सात जना बुधवार राती घर फर्केका थिए  ।  
 
भारतबाट फर्केका सात जनालाई  पुर्चौडी नगरपालिका–५ कुवाकोटको भूमिराज मा.वि. काटै गहतलको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखको भन्दै राती साडे दश बजे ड्यूटीमा खटिएका अहेव धामीलाई गालीगलौज गर्दै हातपात गरेका हुन् । 

ती सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित निगरानीमा राखेका थिए । स्वास्थ्यकर्मील कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सुरक्षित तरिकाले क्वारेन्टाईनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि कुटिपिट गरेका हुन् । कुटपिटबाट घाइते भएका अहेव धामीको छाती र हातमा चोट लागेकोे छ र हाल हाट स्वास्थ्यचौकीमा उनको उपचार भइरहेको छ । 
 
बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयलेहातपात गर्ने जागरीलाई बिहीवार नियन्त्रणमा लिइएको जानकारी दिए । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले   कोरोना भाइरस भित्रिन नदिन स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवाका तत्पर रहन निर्देशन दिइरहेकै बेला स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण हुनु दुःखद् घटना भएको बताए । 

यसैबिच नगरपालिकाले आफ्नो ज्यानको परवाह नगरी कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसै घण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथिको कुटपिट निन्दनीय भएको भन्दैे बिहीवार विज्ञप्ति जारी गरेको छ ।  नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथ्वीराज अवस्थी र स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा हातपात गर्ने नरेन्द्र जागरीलाई हदैसम्मको सजायको माग गरिएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर