कोरोना नियन्त्रणमा सुदूरपश्चिम : ७ सय ५० आइसोलेसन कक्ष, मुख्यमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने 

कोरोना व्यवस्थापनका लागि साढे ११ करोड बजेट बिनियोजन 

कैलाली । सुदूरपश्चिमप्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि साढे ११ करोड बजेट छुट्याएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा गत मंगलवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गरेका निर्णय भिडियोमार्फत सार्वजनिक गर्दै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको रोकथाम तथा व्यवस्थापनका लागि साढे ११ करोड बजेट माग गर्दै सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रस्ताव बैठकले स्वीकृत गरेको थियो  । उनका अनुसार सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा आइसोलेसन कक्ष स्थापना तथा कोरोनाको जोखिमबाट बच्न अन्य स्थानमा आइसोलेसन कक्ष स्थापना गर्नका लागि उक्त बजेट छुट्याइएको हो । यस्तै बैठकले प्रदेश सरकारका मन्त्रीले प्रदेश कोरोना रहात कोषमा एक महिनाको तलब दिने निर्णय पनि गरेको छ  ।

यस्तै बैठकले विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम तथा व्यबस्थापनका लागि तत्काल प्रदेशमा रहेका ८८ वटै स्थानीयतहमा ससर्त ३ करोड वजेट पठाउने निर्णय गरेको छ । प्रदेशमा रहेको एक मात्र उपमहानगरपालिका धनगढीलाई ५ लाख, प्रत्येक नगरपालिकालाई चार–चार लाख, प्रत्येक गाउँपालिकालाई ३–३ लाखका दरले वजेट विनियोजन गरिएको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले कोरोना रोकथामका लागि एक महिनाको तलब दिने
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितका मन्त्रीहरुले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

गत मंगलबार  बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामका लागि प्रदेश राहात कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने निर्णय भएको सामाजिक विकास मन्त्री सुवेदीले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयद्धारा तीन अस्पताललाई ४६ थान पिपिई वितरण
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका संक्रमित तथा सम्भावित विरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपिई वितरण गरेको छ । प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अथात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई) उपलब्ध गराईएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई ४ थान पिपिई उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

तर सामाजिक विकास मन्त्रालयले आपतकालिन अवस्थाका लागि केही पिपई मौज्दात राखिएको तथा थप आर्पूर्तीका लागि पहल जारी रहेको जनाएको छ ।  

कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न तयारी तीव्र
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण हुन नदिन उच्च सर्तकता अपनाइएको छ । भारतमा कोरोनाको संक्रमण देखिएकाले सुदूरपश्चिम जोखिममा छ । यहाँका अधिकांश युवा रोजगारको सिलसिलामा भारतबाट फर्केका छन् ।

प्रदेशमा स्थानीय तहदेखि प्रदेश सरकारले आ–आफ्नो ठाउँमा पूर्व तयारी गरेका छन् । सेती प्रादेशिक अस्पतालको तथ्यांक अनुसार बिहीबारसम्म २७ जनाको नमूना संकलन, १४ को नेगेटिभ आएको छ भने १३ को रिर्पोट आउन बाँकी छ ।

प्रदेश सरकारले धनगढी रंगशालामा आइसोलेसन कक्ष र स्वास्थ्यक्वारेन्टाइन तयार गरेको छ । ती तयार गरेका आइसोलेसन कक्षमा सुविधायुक्त बेड र उपकरण पनि राखिएका छन् । प्रदेशमा कोरोनाको संक्रमण देखिएमा प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले आइसोलेसन कक्षतयार गरेको हो । 

‘कोरोनाको संक्रमण देखिएमा छुट्टै उपचारकालागिआइसोलेसन तयार पारेका छौँ,’ सामाजिक मन्त्री सुवेदीले भने, ‘रोग संक्रमण रोक्न र देखिएपछि गर्ने सम्पूर्ण तयारी छ ।’ धनगढी रंगशालाको मैदान र हलमा आइसोलेसन बेड तयारी अवस्थामा रहेको मन्त्री सुवेदीले बताए । कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा गरी ७ सय ५० वटा आइसोलेसन कक्ष तयार रहेको उनले बताए । 
मन्त्री सुवेदीले प्रत्येक जिल्ला अस्पतालमा ५ बेड तथा प्रदेशरभरी रहेका नेपाली सेनाका प्रत्येक गणमा ७÷७ वटा आइसोलेसन कक्ष समेत तयार रहेको बताए । ‘प्रदेशमाकोरोना संक्रमण देखिएमात्यसको उपचारकालागिनिजी स्वास्थ्य संस्था संगसमेत सहकार्य हुने छ,’ उनले भने । 

कोरोनाको उच्च जोखिममा कर्णाली र सुदूरपश्चिम, गड्डाचौकी नाकाबाट ७० हजार भित्रिए
कोरोना भाइरसको उच्चजोखिममा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला पर्ने देखिएको छ उक्त क्षेत्रका हजारौं नागरिक मजदुरीका लागि भारत गएको र उनीहरु फर्किदा जोखिम बढ्नसक्ने सम्भावना बढेको हो ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला हजारौं नागरिक रोजगारीका लागि गड्डाचौकी, गौरिफन्टा र नेपालगञ्जको सीमा हुँदै भारत जाने गर्दछन् । भारतको नयाँ दिल्लीसँग छोटो रुट हुने भएकाले अधिकांश नेपाली नागरिक गड्डाचौकी बनबास हुँदै जाने गर्दछन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक भारतको नयाँदिल्ली, देहरादुन, बैंङलुरु, सिमला पहाड लगायतका स्थानमा रोजगारीका लागि जाने गर्दछन् । यस्तोमा उनीहरु फर्किदा एकजनामा पनि संक्रमण भए जोखिम बढ्ने सम्भावना बढेको हो । 

क्वारेन्टाइनमा राखेकाहरुको भागाभाग
बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ५ कुवाकोटमा भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाईनमा राखिएको विषयलाई लिएर स्वास्थ्यकर्मी माथि नै आक्रमण भएको छ ।

परिवारका सदस्यले क्वारेन्टाईनमा राखेको विरोध गर्दै उनीहरुको निगरानीमा खटिएका स्वास्थ्य कर्मीमाथि आक्रमण गरी कुटपिट गरेका छन् भने भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाएका थिए । उनीहरुको माग थियो, ‘भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्नु हुदैन् ।’

चैत १२ गते भारतबाट फर्किएका सात जनालाई स्थानीय भूमिराज माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको विषयलाई लिएर नरेन्द्र जागिरीले छोरालाई क्वारेन्टाइनमा राखिएको भन्दै कुटपिट गरेका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामी अहिले उपचारमा छन् ।

पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरले भारतबाट ठुलो संख्यामा आएकाहरुको व्यवस्थापन गर्न समस्या भएको सुनाए । भारतबाट फर्किएका धेरै भएकाले कोही भागेर घर गएको उनले बताए ।

क्वारेनटाईनमा नबसी घर गएकाहरुको खोजी गरिरहेको उनी बताउँछन् । ‘भारतमा कोरोनाको संक्रमण फैलिएपछि ठुलो संख्यामा नागरिक घर फर्किएका छन् । उनीहरु कोही सिधै घर गएका छन् । क्वारेन्टाइनमा बस्न मान्दैनन् । भाग्दै छन् । केहीलाई क्वारेन्टाईनमा राखेका छौं । तैपनि भाग्न थालेका छन् । उनीहरुलाई सम्झाउँदैछौं ।’ उनले भने । 
प्रदेशका अन्य ठाउँमा पनि क्वारेन्टाईनमा राखिएकाहरु भाग्न थालेपछि संक्रमणको जोखिम बढेको छ ।

भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि फर्किएकाहरुलाई क्वारेन्टाईनमा राखिएपनि भागाभाग भएको हो । विदेशबाट फर्किएकाहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न संघीय सरकारले निर्देशनअनुसार स्थानीय तहले प्रबन्ध मिलाई व्यवस्थापन गरेका थिए । तर, अहिले उनीहरु क्वारेन्टाईनबाटै भागिरहेका हुन् ।

अछामको मंगलसेन नगरपालिकाले ५३ जनालाई क्वारेन्टाइनमा राखेको छ । तर उनीहरु पनि घर जान पाउनुपर्ने माग गरिरहेका छन् । तर, नगरपालिकाले १४ दिन अनिवार्य क्वारेन्टाईन बस्न आग्रह गरिरहेको छ । नगर प्रमुख पदमबहादुर बोहराले क्वारेन्टाईनमा राखिएकाहरुका आवश्यक पर्ने लुगा कपडा, खानाको प्रबन्ध मिलाइएको बताए । तर नमान्दा सम्झाउँन समस्या भएको प्रमुख बोहराले बताए ।

डोटीमा १२ स्थानमा क्वारेन्टाईन स्थापना गरिएको छ । १२ क्वारेन्टाईनमा दुई सय ७३ जनालाई राखिएको छ । तर, उनीहरुलाई पनि घर जान हतारिएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कोरोनाको जोखिमबारे बुझाउन खोज्दा पनि नसम्झिँदा समस्या भएको गुनासो गरे । 

धनगढी उप–महानगरपालिकाले क्वारेन्टाइमा रोखकाहरु घर गएका छन् । बुधबार भारतबाट आएका २४ जनालाई कैलाली उद्योग वाणिज्य संघको क्वारेन्टाइनमा राखिएको थियो । तर उनीहरु बिहिबार घर गएका हुन् ।

धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखा उप–संयोजक लक्ष्मीराज उपाध्ययले २४ जनालाई घर फिर्ता गरिएको बताए । ‘उनीहरुको स्वास्थ्य परिक्षण गरेका छौँ । उनीहरुमा कोरोना संक्रमणको आशंका नगरिएपछि घर पठाएका छौँ ।’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर