• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कोरोनाले देखाएको बाटोः ‘निजी अस्पताल तुरुन्त सरकारीकरण गरौं'

साना इकाईकमा समुदायः
सरकारले लकडाउनको घोषणा गर्यो जनताले त्यसलाई खुरुक्क माने । होम क्वारेन्टाइनमा बस भने बसे । यी अनुशासन हामीले कोरोना भाइरस संक्रमण नहोस् भनेर मानिरहेका छौं । लकडाउन कहाँ गर्ने हो ? क्वारेन्टाइन कस्तो ठाउँमा बनाउने भन्ने न सरकारले प्रष्ट पार्यो । न जनताले बुझे । लकडाउन भनेको गाउँमा समेत घरबाट बाहिर ननिस्किने, क्वारेन्टाइन भनेको एउटामा छु्ट्टै बस्ने भन्ने मात्रै सर्वसधारणमा बुझाई छ ।

लकडाउन भनेको ठूला शहर, जहाँ हजारौं मान्छेको भिडभाड् हुन्छ त्यसका लागि भनिएको हो । चीनको वुहानबाट फैलिएको कोराना भाइरस (कोभिड–१९) जुन विशाल शहर हो । त्यहाँ होम क्वारेन्टाइन भनिएको हो । शहरका घरबाट बाहिर ननिस्क भनिएको हो । 

धेरै भिडभाड हुने ठाउँमा संक्रमण फैलिन्छ भनेर विद्यालय, फिल्म हल, ठूला कलकारखाना, रेल, जहाज, यातायात, व्यापारिक मलहरु बन्द गर्नुपर्छ भनिएको हो । हामीले त, एउटा डाँडामा घर भएको व्यक्तिलाई पनि घरबाट बाहिर न निस्कि भनेर कडाईका साथ अनुशासन पालना गर्न भनिरहेका छौं । यसको अर्थ त्यो घरबाट निस्केर भिड्भाडमा जानुपर्छ भनिएको पनि होइन । साना इकाई बनाएर बस भन्नेमा हाम्रो ध्यान गएन । एउटा परिवारले मात्रै हाम्रो समाज निर्माण भएको देखिन्न । 

हिमाल, पहाड, तराई सबै ठाउँमा स–साना समुदायहरुबीचबाट समाज चलेको देखिन्छ । उनीहरुको जीवन पद्दति त्यहीँ ढंगले चलेको छ । जे भनिए पनि हाम्रो समाज अर्मपर्म, अ‍ैंचोपौंचोबाटै चलेको छ । सरसापटीबाट अर्थ चलाएका छन् । नुनको ढेकी सकियो भने भोली दिने गरी पैंचो माग्न जाने परम्परा अझै छ । कृषिमा आत्मनिर्भर बहुसंख्यक जनताका केही नभए पनि एक हल गोरु छ । दुहुना गाई, भैंसी पाल्ने पुस्ता अझै सकिएको छैन । 

खाद्यन्न सकिए त जसोतसो दुई तिहाईको सरकारले गाडीबाट पुराइदेला । ती एक हल गोरु, दुहुना गाई भैंसीलाई घाँस कसले पुराइदिन्छ ? गाई बस्तुका लागि घाँसपात पानी खुवाउन किसान त बाहिर निस्कनै पर्छ । त्यो जीवनशैलीलाई कसरी सरल बनाईदिने भन्नेमा ध्यान गएको छैन सरकारको । अझ गाउँमा यतिबेला बारी र  खेतका मकै गोड्ने समय आयो । समयमा मकै खनिएन भने अर्को वर्ष भोकमरीको सामना गर्नुपर्छ । 

– प्रकृतिमाथि पुँजीवादीले जसरी हमाला गर्यो, प्रकृतिले उही शैलीमा जवाफ फर्कायो ।
–क्वारेन्टाइन कहाँ बस्ने हो ? कस्तो हुनुपर्छ सरकार बुझाउँदैन ।
– टाकुरामा बसेको परिवारलाई लकडाउन र सेनिटाईजर होईन, साना इकाई बनाएर जीवनशैली चलाउँन सिकाउ ।
– प्रकृति र विज्ञानको लडाइँ हो कोरोना ।
– विज्ञानले बनाएका एटम बम प्रकृतिको एउटा किरा (कोरोना भाइरस) भन्दा फिका भए ।  

त्यसैले लकडाउन र क्वारेन्टाइन भनेको घरभित्रबाट बाहिर ननिस्कने, कामै नगर्ने भन्ने शैलीमा जसरी त्रास सृजना गरिएको छ यसले भावि दिनलाई झन् विकराल बनाउने छ । यो शहरको हकमा पूर्णतः लागु हुनुपर्छ । तर, सानो समुदाय बनाएर बाहिर सहर बजारमा नजाउ, नौलो मान्छेलाई आफ्नो समुदायको वस्तिमा पस्न नदेउ भनेर आफ्नो दैनिकी जीवनशैलीमा केही परिवर्तन गरेर काम गर भन्नेमा केन्द्रदेखि स्थानीय तहसम्म चेत भएन । 

उदाहरणका लागि ३० घरको एउटा समुदाय छ । त्यहीँबाट आफ्नो जीवनशैलीमा केही फेरबदल गर । साबुन पानीले हात धुनु, सरसफाईमा बस्नु, धेरै भिड्भाडमा नजानु भन्ने हो । प्रचार गरिएको छ, सेनिटाइजर हातमा लगाऊ । यहाँ शहरमा त ८० प्रतिशत जनताले हिजोसम्म सेनिटाइजर के भन्ने थाहा थिएन । गाउँमा त झन् ९९ प्रतिशतले सेनिटाइजर न उच्चारण गर्न सक्छन, न देखेका छन् । त्यसको विकल्प के हो भन्ने भनि दिनुपर्यो । 

अहिले बजारमा छ्यास्छेयास्ती सेनिटाइजर छ । तर, हातमा लगाउँदा जँड्याको स्वास जस्तो गन्हाउँने । आखिर त्यो सेनिटाइजर पनि पाटनको नेवारी समुदायले बनाएको लोकल रक्सीबाटै बन्ने रहेछ त ? हो हामीले अब, यस्तै साना इकाईका समुदाय रहेको समाज निर्माण उनीहरुले उत्पादन गर्ने मौलिक चिजहरुबाट समेत संक्रमणबाट बँच्न सकिन्छ भन्नेमा जोड् दिनुपर्छ । 
............
कोरोनाः प्रकृति र विज्ञानको लडाईं
प्रकृतिमाथि पुँजीवादी जीवनशैलीले जसरी हमाला गरेको थियो, प्रकृतिले त्यसको जवाफ उही शैलीमा फर्काएको अवस्था हो अहिले । धेरै आक्रण गरे त्यसको प्रतिकार हुन्छ भन्ने स्वयंसिद्ध तथ्य हो । पुँजीवादीहरुले यसलाई बुझेनन् र अहिलेको विकराल अवस्था आएको छ । 

विज्ञानले बनाएका एटम बम, हाईड्रोजन, क्षेप्यास्त्र अहिले फिका भए । प्रकृतिको एउटा किरा (कोरोना भाइरस)ले विश्व तहस नहस बनाई दियो । पुँजीवादीहरु प्रकृतिको लय बुझ्दैनन् । नाफामुखी र बजार मात्रै हेर्छन र, प्रकृति दोहोन गरेर त्यसमाथि बिजयी प्राप्त गरेर नफा कमाईयो भनेर मख्ख हुन्छन् । 

अहिले प्रकृतिको लय नबुझ्दा शक्तिशाली पुँजीवादी मुलुकको हालत हेरौं त । त्यसबाट हामी पनि अलग छैनौं । नव उदारबादबाट उदाएका भनिएकाहरुले खोलिएको मेडिकल बजार देखियो त संकटको घडीमा । निजी अस्पतालहरुले सामान्य रुघाखोकी र ज्वारो आउँदा समेत भर्ना गर्न मान्दैनन् । तर, सरकारबाट वर्सेनी करडौं छुटमा मेडिकल समाग्री भित्र्याई रहेका छन् ।

नेपालका मेडिकलहरु चिरफार गर्ने काम बाहेक अरु महामारीका बेला काम गर्दैनन् भन्ने पुष्टि भएन र ? त्यो एउटा सरकारी स्वामित्वको टेकु अस्पताल नभएको भए अहिले मुलुकको हालत के हुन्थ्यो ? नव उदारवादका नाइकेहरुले कसरी विमारीबाट पैसा लुट्छन र परेकाबेला राज्यलाई सहयोग गर्दैनन् भन्ने यो राम्रो उदाहरण हो ।

अब, दुई तिहाई बहुमतको सरकारले निजी मेडिकल सम्बन्धी नयाँ नीति अबलम्बन गरेर अघि बढ्नुको विकल्प छैन । यही यथास्थितिमा रहने हो भने जनताले दुई तिहाईको अनुभूति गर्न सक्दैनन् । 
......
अबको मोडेल क्युवा उपयुक्त हुनसक्छ
कोरोना भाइरसका कारण विश्वभरका पुँजीवादी देशमा स्वास्थ्य उपकरण नपाएर छट्पटी छ । तर, क्युवामा स्वास्थ्य समस्या भन्ने सुनिएको छैन । स्वास्थ्य नीतिमा विश्वको नमूना हो क्यूवा । सबै अस्पताल सरकाको हातमा छ । स्वास्थ्य सेवा निशुल्क भएपछि जनता ढुक्क छन् । उनीहरुको स्वास्थ्य सेवा राम्रा भएकाले संसारले त्यो नीतिलाई अध्ययन गरिरहेको छ ।

न्युयोर्क सीटीका मेयरले संघीय सरकारसँग ३० हजार भेन्टिलेटर माग गर्दा ट्रम प्रशासनले दिन सकेन । अमेरिकामा स्वास्थय उपकरण सबै भन्दा बढि उत्पादन हुन्छन, गुणस्तर पनि उत्तिकै । तर, त्यो किन्नुपर्छ ।

त्यहाँका मुठ्ठीभरका पुँजीपतिको लगानीमा रहेका कम्पनीले त्यसै दिने कुरा भएन । त्यस्तो सम्बृद्ध मुलुक न्युयोर्क सीटीका मेयरको दशा देख्ता हाम्रो चेत खुल्नुपर्ने हुन्छ । सबै निजीकरण हुँदाको हालत के हुन्छ भनेर । 

पुँजीवादीहरु लगानी गरेपछि फाइदा लिने भएकाले त्यो भन्दा अर्को सोच्न सक्दैनन् । हेरौं त, शक्तिशाली राष्ट्र कोरोना भाइरसबाट मृत्युको संख्या ? त्यहाँ त सबै सेवा सुविधा छ । उपाचारका सबै आधुनिक उपकरण, औषधी त्यहीँ छ । तर, संक्रमण बढि राखेको छ । मृत्युकको संख्याका अंक उकालो लागिरहेको छ ।

दुई तिहाईको सरकार सबैलाई क्षतिपूर्ति दिन सक्छ भने अब, यहाँका निजी मेडिकलहरुलाई पनि क्षतिपुर्ती दिन तयार हुनुपर्छ  । क्षतिपुर्ती दिएर निजी अस्पतालहरुलाई सरकारको स्वामित्वमा लिनुपर्छ । सेवा, सुविधाका नाममा सामान्य अवस्था हुँदा उच्च खालको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उपचार हुन्छ ।

जब, राज्यलाई अप्ठ्यारो पर्छ विरामी गेटबाटै फर्काईदिने पनि संसारमा कहीँ अस्पताल हुन्छ ? अहिलेको नजिरलाई लिएर यो शक्तिशाली सरकारले निजी अस्पतालको निर्मम बजारमाथि नियन्त्रण गरिएन भने हामी उपचार नपाएरै मर्छौं ।

नेपाली जनतासँग पैसा छैन । निजी अस्पतालहरु पैसा र नाफाबिना उपचार गरिदिंदैनन् । सरकारी अस्पतालहरु न्यून छन् । त्यहाँ राम्रो उपचार हुँदैन भन्ने भ्रम यी निजी अस्पतालहरुले सृजना गरिदिएर जनताको मनमा त्रास सृजना गरिदिएका छन् ।

यो महामारीले अब हाम्रो स्वास्थ्य नीति क्युवाली मोडेलको हुनुपर्छ भन्ने देखाएको छ । हामी समाजवाद उन्मुख अवधारणमा अघि बढेकाले कम्तिमा यहीँ मौकामा यहीँबाट सुधारको काम थालनी गरौं । 

(नेकपा (नेकपा)का नेता कार्की समाजवादी आन्दोनका प्रखर वक्ता हुन् । पार्टीभित्र दोस्रो पुस्ताका बौद्धिक नेताका रुपमा चिनिने कार्कीसँग समाचार दैनिकका लागि उजिर मगरले गरेको कुराकानीमा आधारित लेख ।) 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर