• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोना जाँचका लागि करोडौं खर्चिएर ल्याएको सामान नै नक्कली !

काठमाडौं । कोरोना जाँचका लागि सरकारले बजार मूल्य भन्दा चार गुणा बढी तिरेर ल्याएको स्वास्थ्य सामग्री नै नक्कली भएको पाइएको छ । सरकारले ओम्नी ग्रुपमार्फत किनेको र्यापिड डायग्नोष्टिक किट नै नक्कली भएको र त्यसलाई प्रयोगमा नल्याउन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले अभावका बेला स्वास्थ्यका उच्च अधिकारी र केही व्यापारीको मिलोमतोका कारण सामान नै नक्कली परेको जनायो ।  स्वास्थ्य मन्त्रालयले प्रतिकिट ८ डलरका हिसावले ७५ हजार थान किनेको थियो । त्यो सबै गुणस्तरहीन भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । त्यति सामान किन्न मात्रै ६ लाख डलर अर्थात ७ करोड रुपैयाँ खर्चिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यो किटबाट गरिएको परीक्षण विश्वसनीय नभएकाले तत्काल प्रयोगमा नल्याइएको दावी गरे ।  अहिले चीनबाट आएका ७५ हजार थान किट गोदाममै थन्किएर बसेका छन् । गुणस्तरहीन किट ल्याएकाले त्यसलाई प्रयोगमा नल्याएको मन्त्रालय स्रोतको भनाई । 

सामाग्री खरिदको यथार्थ यस्तो छ 
नेपालमा पहिलो संक्रमितको पहिचान भएको दुई सातापछि कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै मेडिकल सामग्री खरिद प्रक्रिया सुरु भएको थियो । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले १९ मेडिकल व्यवसायीसँग स्वास्थ्यजन्य सामग्री खरिदका लागि भन्दै कोटेसन माग गरेको थियो ।

तर कोटेशन विपरित स्वास्थ्य मन्त्रालयले केहि दिनअघि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि मार्फत् स्वास्थ्य सामग्री खरिदका लागि सहमति जनाएको थियो । अहिलेसम्म मेडिकल सामाग्रि सप्लाई नगरेको र त्यसका लागि दर्ता नभएको कम्पनीलाई सामाग्री खरिदका लागि जिम्मा दिने निर्णयको मन्त्रालयका केहि अधिकारीले समेत विरोध जनाएका थिए । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले टेण्डर आह्वान गरीएपछि विडरहरु आएको तर, लकडाउनको समयमा ल्याउन सक्ने अवस्था नरहेका कारण ओम्नी संग सामान खरीद प्रकृया अघि बढाइएको बताए । संसारभर नै मेडिकल सामान अभाव भएका कारण केहि महगों भएको हुन सक्ने उनले बताए । 

सरकारले चीनबाट खरीद गरी ल्याइएका र सहयोग स्वरुप उपलब्ध भएका स्वास्थ्यजन्य सामाग्रिहरुमा एन ९५ मास्क, डिसेबल सर्जिकल मास्क, पोटेक्टीभ गगल्स, नन कन्ट्याक्ट इन्फारेड थर्मोमिटर, प्रोटेक्टिभ क्लोथ, पोर्टेवल भेन्टिलेटर, पिसीआर टेष्ट किट, डिस्पोजेबल गगल्सलगायत रहेका छन् ।

एउटै सामानको दुइथरी मूल्य
स्वास्थ्य मन्त्रालयले ल्याएको सामान र  चिनियाँ सरकारले नेपाललाई दिएको सामानको मूल्य नै फरक फरक देखिएको छ ।  चीन सरकारले सरकारलाई हस्तान्तरण गरेको एन ९५ मास्कको मूल्य र सरकारले खरिद गर्न लागेको एन ९५ मास्कको मूल्य आकाश जमिनको फरक पाइएको छ । चीनले एन ९५ मास्क २५६ रुपैयाँमा उपलब्ध गराएको छ । त्यही मास्क सरकारले ८४० रुपैयाँमा किनेको छ । 

हेर्नुहोस मूल्य सूची

 

चिनियाँ सरकारले नेपाललाई दिएको सामानको मूल्यसूची
 

 

स्वास्थ्य मन्त्रालयले खरिद गरेको सामानको मूल्यसूची


 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर