कोरोना नियन्त्रणका नाममा राज्यकोषबाट कति खर्च भयो ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म डेढ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ ।

स्वास्थ्य मन्त्रालयलाई ८५ करोड रुपैयाँ बजेट रकमान्तरको अनुमति दिएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख धनीराम शर्माले जानकारी दिए । ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न ५० करोड निकासा भएको छ । उनले भने, ‘चीनको वुहानबाट १ सय ७४ नागरिकलाई उद्धार गर्दा १३ करोड रुपैयाँ खर्च भएको छ ।’ यस आधारमा हालसम्म १ अर्ब ४८ करोड रुपैयाँ अर्थले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि निकासा दिएको हो । यो बजेटमध्ये वुहानबाट उद्धार गर्दाको १३ करोड रुपैयाँ भने पूरै खर्च भइसकेको पनि अर्थले जनाएको छ ।

कोभिड–१९ संक्रमण फैलिएको प्रमुख मुकाम चीनको वुहानबाट फागुन पहिलो साता सरकारले १ सय ७५ जना नेपालीलाई हवाई चार्टड गरी उद्धार गरेको थियो । उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा १४ दिन राखिएको थियो । उद्धारका लागि प्रयोग भएको नेपाल वायुसेवा निगमको जहाजदेखि क्वारेन्टाइन निर्माण र खानालगायत खर्च सरकारले बेहोरेको थियो ।

‘स्वास्थ्य मन्त्रालयलाई रकमान्तर गरिदिएको ८५ करोड कोषमा राखिएको ५० करोड रकम भने पूरै खर्च भइसकेको छैन,’ शर्माले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेअनुसारको आर्थिक प्याकेजका लागि प्रदेश र स्थानीय तहलाई दिनुपर्ने रकमले केही खर्च बढ्न सक्छ । नभए अहिलेकै वातावरण कायम भए तत्काल धेरै खर्च हुने सम्भावना छैन ।’

कोरोना त्रासका कारण गत साताबाट सरकारले ‘लकडाउन’ गरिसकेकाले विकास निर्माण तथा अन्य नियमित खर्च ठप्प प्रायः छन् । राजस्वसमेत कम संकलन भइरहेको छ । अन्य क्षेत्रमा खर्च पनि कम हुने हुँदा थप बजेटको दबाब नरहेको अर्थले जनाएको छ । आइतबार नै मन्त्रिपरिषद् बैठकले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंक (एडीबी)बाट पनि कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारका लागि करिब २१ अर्ब रुपैयाँबराबरको ऋण तथा सहायता लिने निर्णय गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर