• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

लक डाउन : ग्यास र राहतको नाममा डरलाग्दो भिड, कसरी हुन्छ कोरोना नियन्त्रण ?

प्रशासन भन्छ : ‘राहत लिन, नभएका भन्दा हुनेखाने बढी आए’

काठमाडौं । कोभिड १९ (कोरोना भाइरस) को संक्रमणले यतिबेला विश्व आतकिंत बनेको छ । नेपालमा पनि विगत ९ दिनदेखि सरकारले ‘लकडाउन’ गरेको छ । विश्वमा आतकंको रुपमा फैलिरहेको कोरोनाको संक्रमणबाट बच्नका लागि सरकारले विभिन्न उपायहरु अपनाइरहेको छ । 

दैनिक ज्याला मजदुरीबाट गुजारा चलाइरहेका श्रमीक तथा खान नपाउने स्थितिमा पुगेका वर्गको मूल्यांकन गरेर सरकारले राहत प्याकेज घोषणा गर्यो । 
सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्दै स्थानीय तहहरुले पनि राहतका कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

सरकारले केहीदिनअघि राहत प्याकेज घोषणा गरेसँगै यतिबेला समस्यामा परेका श्रमीकहरु राहतका लागि दौडधुप गरिरहेका छन् । तर, सरकारले बाँड्न लागेको राहत भने प्रभावकारी रुपमा बाँडफाँड नहुने देखिएको छ । 

समाचार दैनिकको टीमले बुधबार बिहान देखेको तीनवटा घटना हामीले यहाँ विस्तार गरेका छौं । जसले सर्वसाधरणले नियमलाई उंलघन गरेको मात्र नभई सरकारले त्यसलाई व्यवस्थित गराउनका लागि लिन नसकेको पहल र संवेदनशील भाइरस विरुद्धको हेलचक्र्याईंको दृश्य बोल्छ । 

घटना १ 
समाचार दैनिकको टीम बिहीबार बिहान करिब ११ बजेको समय कपन पुगेको थियो । कपनको मिलनचोकमा रहेको एक ग्यास डिलरले उपभोक्ताहरुलाई ग्यास बाँडिरहेको थियो । तर, त्यहाँको माहोल  निकै आश्चर्यजनक थियो । 

‘लकडाउन’ कै बीच काठमाडौंका चोकमा भएको  मानिसहरुको ठूलो भिड देखियो ।

सरकारले लकडाउन घोषणा गरेदेखि काठमाडौं लगायत देशका शहरमा देखिएको दृश्यभन्दा निकै फरक थियो । जहाँ, झण्डै ५० भन्दा बढी मानिहरुको भिड थियो । दुई जना नेपाल प्रहरीका अधिकारीको पनि त्यहाँ उपस्थित थियो ।

मानिसहरु ग्यास लिनका लागि भिड गरिरहेका थिए । प्रहरी प्रशासन केही हदसम्म उनीहरुलाई टाढा बस्न र भिड नगर्नका लागि अनुरोध गरिरहेको थियो । 

ग्यास डिलरका संचालकहरु नाम बोलाउँदै आधा सिलिन्डर ग्यास बाँडिरहेका थिए । तर, प्रभावकारी रुपमा मानिसहरुको भिड रोकथाम हुन सकेको थिएन् । मानिसहरुको भिड व्यवस्थापनका लागि प्रशासन र ग्यास डिलरको गम्भीर ध्यान नगएको हामीले त्यहाँ पायौं । 

घटना २ 
बिहीबार बिहान नै हामी कपनबाट चाबहीलतर्फ लाग्यौं । चाबहीलको बौद्ध स्तुपा नजिक झनै ठूलो भिड जम्मा भएको रहेछ । जहाँ झण्डै १ सय जनाको हाराहारीमा मानिसहरुको उपस्थिति थियो । त्यहाँ पनि प्रहरीको भ्यान थियो । 

तर, सर्वसधारणको बाक्लो उपस्थिति थियो । हामीले एक प्रहरी अधिकारीलाई सोध्यौं,‘यहाँ किन यति धेरै भिड जम्मा भएको ?, किन भिडको व्यवस्थापन नभएको ?’

ती प्रहरी अधिकारी भन्छन्,‘सकेको प्रयास गरिरहेका छौं । मानिसहरु ग्यास अभावको समस्यालाई देखाएर निस्किएका छन् । हामीले टाढा टाढा रहेर ग्यास लिन भन्दै ग्यास लिएकाहरुलाई घर पठाउने गरिरहेका छौं । भिड केहीबेरमा नियन्त्रण हुन्छ ।’

घटना ३
प्रहरीको उक्त भनाईपछि हामी मित्रपार्क तर्फ निस्कियौं । मित्रपार्कमा झनै डरलाग्दो दृश्य देखियो । त्यहाँ झण्डै डेढ सयको हाराहारीमा मानिसहरु थिए । वडा कार्यालयको अगाडी । 

हामीले त्यहाँ उपस्थित प्रहरी अधिकारीलाई भिडको बारेमा सोध्यौं । प्रहरी उक्त भिड राहत लिन आएका मजदुरहरुको बतायो । तर, यति संवेदनशील समयमा सडकमा एकैपटक देखियो यो भिड किन व्यवस्थित गर्न नसकेको भनि प्रश्न राख्यौं । प्रहरी अधिकारीले गुनासो गरे,‘वडामा राहत लिन आएको भिड हो । 

नियन्त्रणमा लिन खोज्नका लागि वडा कार्यालयले कुनै व्यवस्थित योजना बनाएको छैन् ।’ उनले वडा सदस्यलाई यसबारे जानकारी लिन हामीलाई सुझाए । 

लगत्तै, हामीले वडा सदस्य निर्मला पुडासैनीलाई भेट्यौं । उनले वडाले श्रमीकहरुको तथ्याकं नराख्दा अहिले राहत बाँड्नका लागि असहज भएको गुनासो गरिन् । 

केहीबेरमा वडा अध्यक्ष शुद्ध कुमार डंगोल आइपुगे । जनस्तरमा चेतना नहुँदा अहिले यो समस्या भएको भनि उनले पनि गुनासो पोखे । जुन जुन टोलका पीडित हुन उनीहरुको सहजताका लागि सोही टोलमा आफूहरुले राहतका लागि फारम पठाएपनि यहाँ आएको उनले बताए । 

उनका अनुसार अहिलेसम्म झण्डै ७ सयको हाराहारीमा श्रमीकहरुले राहत फारम भरिसकेको बताए । ५० हजार जनसंख्या रहेको वडामा साँच्चै पीडामा भएका भन्दापनि हुनेखाने मान्छेहरु नै राहतका लागि आएको जानकारी उनले दिए । 

‘हेलमेट लगाएर, गलामा सुनको सिक्री झुण्ड्याएकाहरु पनि राहतका लागि फर्म भर्न आइरहेका छन् ।’ अध्यक्ष डंगोलले भने,‘वास्तविक पीडित पहिचान गर्न अहिले असहज भइरहेको छ ।’

म्हानगरले सवै वडाबाट विवरण संकल थालेको छ । सोही अन्तर्गत काठमाडौं महानगरको वडा नम्बर ७ मा बुधबार बिहानैदेखि मानिसहरु नाम लेखाउनका लागि लाइनमा देखिएका हुन् । 

डंगोलका अनुसार राहत विवरण सोचेजस्तो विपन्नका लागि नभएपछि अहिले नाम लेखाउने काम थालेको बताए । 

‘खान नपाउनेलाई दिने भनेको हो तर बाइक चढेर आउनेहरुले राहत लिएर जान थालेपछि विवरण संकलन गर्न थालेका छौं ।’ उनले भने । 

रात बाँड्न स्वयंसेवक दस्ता बनाएर टोल टोलमा पठाएको तर मानिसहरु टोलमा पनि जाने र वडामा पनि आउने गरेपछि विवरण संकलनतर्फ लागेको वडा कार्यालयको दाबी छ ।

यी तीन घटनाले सरकारको नियम उलंघन भएको प्रष्ट देखिन्छ । कोरोना भाइरसबाट बच्नका लागि कम्तिमा ३ मिटर दुरी कायम गर्ने विश्व स्वास्थ्य संगठनको नियमलाई पनि यसले अटेर गरेको बुझिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर