• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कोरोना संक्रमण : स्वास्थ्य विज्ञान भन्छ, ‘ सतर्क हुनुस, आत्तिनु पर्दैन’

विश्वभरी फैलिएको महामारी कोरोना भाइरस (कोभिड–१९) हाम्रो मुलुकमा प्रवेशको चरणमा छ । अहिलेसम्म देखिएको संख्या पाँच हो । यो महामारीको प्रभाव देशमा भित्रिएपछि सबैभन्दा बढि स्वास्थ्य संस्थासँग जोडिने नै भयो । कोरोनाको प्रभावका कारण स्थानीय, प्रदेशका अस्पतालमा आइशोलेशन कक्ष बनाउने नाममा अन्य विरामी सबै काठमाडौं पठाउने वा उपचार नगर्ने काम भएको छ ।

यतिबेला हामीले ट्रमा सेन्टरमा हेर्यौं भने देशभरीका विरामी यहीँ थुप्रिएका छन् । स्थानीय, जिल्ला, प्रदेश अस्पतालमा सहजै उपचार हुने विरामीलाई पनि यहीँ पठाइएको छ । ओखलढुंगादेखि जाजरकोटसम्मबाट समेत एम्बुलेन्समा यहाँ पठाईको छ । यहाँ अहिले देखिने विरामीको संख्या लकडाउनपछि झन् बढेको छ । 

हामीले ट्रमा सेन्टरमा उपचार गर्ने प्रक्रियालाई तीन तहमा विभाजन गरेर विपत्लाई सहज बनाउने योजना तय गरिसकेका छौं । भोली कोरोनाबाट हजारौं संक्रमित भएपछि हामी स्वतः संक्रमितको उपचारलाई पहिलो प्राथमिकता दिनु पर्छ भनेर यो योजना बनाएर अहिले नियमित काम गरिरखका छौं ।

‘ए’, ‘बी’ र ‘सी’ गरेर तह निर्धारण गरेका छौं । ‘ए’ मा अर्जेन्ट (अति आश्यक), ‘बी’ ईमरजेन्सी (आपत् कालिन), ‘सी’ रुटिन (नियमित)मा बाँडेका छौं । अहिले विभिन्न अस्पतालहरुमा अन्य कारणले ज्वरो आएका विरामीहरुलाई समेत कोरोना आइसोलेशनमा पठाएर मृत्यु भएको खबर आएको छ । यसको व्यवस्था सम्बन्धित अस्पतालहरुले मिलाउनुपर्छ । हामीले भोली यस्तो अवस्था सृजन हुन नदिनका लागि योजना बनाएका छौं ।

‘ए’ मा हामीले कस्ता विरामीलाई राख्ने भन्ने योजना अनुसार जस्तो, एक जना हात वा खुट्टा भाँचेर ट्रमामा भर्ना भए । ती व्यक्तिलाई चाहिएको उपचार अति आवश्यक हो । उता महामारी फैलिएको छ भने उसको हात वा खुट्टामा प्लास्टर गरेर पठाउने तर, पछि अप्रेशन गर्दा पनि हाड जोडिन्छ भन्ने अवस्था रहेमा । यो हामीले ईमरजेन्सीमा आएका विरामीलाई अर्जेन्टमा झार्ने तरिका । 

‘बी’ को हकमा पाटन, टिचिङ कतै उपचार गर्ने ठाउँ नभएको अवस्था र विरामीलाई तत्कालै अप्रेशन नगरे मृत्यु हुने खतरा देखिएमा उसको उपचार गर्ने भनेका छौं । 

तेस्रो ‘सी’ नियमित फलो गर्ने कामहरुलाई रोक्ने भन्ने तयारी हामीले गरेका छौं । 

यी तीनवटै तह निर्धारण गरेर हामी किन बसेका छौं भने महामारी फैलिएर अन्य अस्पताल र त्यहाँका चिकित्सकले नभ्याए हामी उपचार गर्न तयार हुनुपर्छ भनेर । 

हालसम्म कोरोना भाइरसले नेपालमा महामारीका रुप नलिएका कारण हाम्रो नियमित काम गरिराखेका छौं । भोली कुनै पनि बेला राज्यमा आइपर्ने आपत्का लागि यी योजना बनाइएका हुन । लकडाउनको ९ दिनमा हामीले दैनिक १०÷११ जनाका दरले मेजर अप्रेशनहरु गरिराखेका छौं । स्थानीय, जिल्ला, प्रदेश तहका अस्पतालहरुले पनि यही ढंगले योजना बनाएमा अन्य विरामीका लागि उपचारमा समस्या हुँदैन । विपत्मा के गर्ने र अहिले नर्मल अवस्थामा के गर्ने भन्ने कामलाई प्राथमिकता दिनु पर्यो । 

महामारी रोक्नका लागि तयारी गर्ने कुरा महत्वपूर्ण हो । तर, पाँच जना संक्रमित देखिएका छन् पाँच लाखमा संक्रमण भएको जसरी हल्ला गर्नु गलत हो । त्यो हल्लाले अन्य रोगको उपचारका लागि अस्पताल जाने विरामीलाई गेटबाटै गेट पालेले भित्रै पस्न नदिएर उसको मृत्यु हुने अवस्था आयो । यसमा अस्पताल व्यवस्थापन र चिकित्सक साथीहरुले पनि सोच्नु पर्यो । राज्यले अस्पताल र चिकित्सकहरुलाई कन्फिडेन्समा लिन सक्नु पर्यो । 

अहिलेसम्म नेपालमा देखिएका पाँचै जना कोरोना संक्रमित विरामी विदेशबाट आएका छन् । स्वास्थ्य विज्ञानका आधार र तथ्यमा रहेर भन्नु पर्दा हामी आत्ति हाल्नु पर्ने अवस्था छैन । किन भने महामारी फैलिने एउटा डर किन छैन भने अहिलेसम्म कोरोना भाइरस कम्युनिटीमा ट्रान्सफर (समुदायमा संक्रमण) हुन पाएकोे छैन । हामीले स्वास्थ्य विज्ञानका आधारमा हेर्दा यही देखिन्छ । जब, स्थानीय समुदायमा संक्रमण फैलिन्छ त्यसले महामारी रुप लिन्छ । हामी अहिलेसम्म यसबाट बँचेका छौं ।

-अन्य कारणले ज्वरो आएका विरामीहरुलाई समेत कोरोना आइसोलेशनमा पठाएर मृत्यु भएको खबर आएको छ ।

-पाँच जना संक्रमित देखिएका छन् पाँच लाखमा संक्रमण भएको जसरी हल्ला गर्नु गलत हो ।

-डर किन छैन भने अहिलेसम्म कोरोना भाइरस कम्युनिटीमा ट्रान्सफर हुन पाएकोे छैन ।

-धेरैजनाको परिक्षण नगरेर कोरोना संक्रमित देखिएन भन्ने हल्ला गलत हो ।

-चिकित्सकहरुको पहिलो धर्म जुनसुकै रोगबाट पीडित विरामीको उपचार गर्नु हो । 

धेरैको प्रश्न छ, धेरै जनाको परिक्षण नभएर हो नेपालमा कोरोना नदेखिएको । यसमा सहमत हुन सकिन्न । अहिलेसम्म विश्वभर देखिएका संक्रमितको अवस्था हेर्दा ८५ प्रतिशतमा सामान्य, १५ प्रतिशतमा रुघा–खोकी, त्यसमध्ये ४ देखि ५ प्रतिशतलाई गाह्रो भएको देखिन्छ । यदि नेपालमा त्यस्तो धेरैलाई भेटेको भए त्यो ४, ५ प्रतिशत मान्छे त कुनै न कुनै अस्पताल वा डाक्टरको सम्पर्कमा त आउँथ्यो ! मान्छे गाह्रो सहेर बस्न सक्दैन । हामी सबै जिल्ला, प्रदेश अस्पतालहरुसँग दैनिक सम्पर्कमा छौं । त्यस्तो केश कहीँ देखिएको छैन । किन भने प्रत्येक जिल्ला हुम्ला, जुम्लाका स्थास्थ्यकर्मीलाई समेत स्वाब लिने, प्याक गर्ने, सुरक्षित पठाउने सबै सिकाईको छ ।

अस्पतालमा चिकित्सकहरु आत्ति हाल्नुपर्ने अवस्था छैन । जस्तो उदाहरणका लागि एउटा बालक वा बालिकाको शरिरका कुनै अंग भाँचियो । त्यसको उपचार गर्न अस्पताल लिएर बुवा आए । बुवा ८÷१० दिनअघि विदेशबाट आएका रहेछन भने क्वारेन्टाइनमा राख्ने र उनको स्वाब परिक्षण गरे पुग्छ । यो काम स्वास्थ्यकर्मीकै हो । यदि कोभिड–१९ पोेजेटिभ देखियो भने ती बुवालाई आइसोलेशनमा राखेर उपचार गर्ने हो । त्यसपछि शरिरका कुनै अंग टुटफुट भएका बच्चादेखि परिवारका सदस्यहरुको पनि स्वाब परिक्षण गरेर संक्रमण भए नभएको पत्ता लगाएर उपचार गर्ने हो । 

धेरै चिकित्सक र अस्पताल व्यवस्थापनले पीपीई (व्यक्तिगत सुरक्षात्मक उपकरण), किट छैन भन्ने गुनासो छ । अब, त्यो पनि समाधान हुन्छ । अहिले तल्लो तहसम्म पीपीई, कीट पुगिसकेको छ । सरकारले कोरोना संक्रमितको उपचार कुन–कुन अस्पतालमा हुने भनेर निश्चित गरिसकेको छ । हामी चिकित्सा विज्ञानका आधारमा काम गर्ने चिकित्सकहरुको पहिलो धर्म जुनसुकै रोगबाट पीडित विरामीको उपचार गर्नु हो । कोभिड–१९ को महामारीको आतंक देखाएर रोग पीडित कोही सर्वसाधरणको ज्यान नजाओस् ।

(राष्ट्रिय ट्रमा सेन्टर चिकित्सा विज्ञान प्रतिष्ठानका निर्देशक डा. पौडेलसँग कुराकानीका आधारमा उजिर मगरले तयार पारेको लेख ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर