जनकपुरधाममा जनप्रतिनिधिद्वारा नै लकडाउनको उल्लंघन

जनकपुरधाम । कोरोना भाइरसको प्रकोपका कारण यतिबेला विश्व आतकिंत बनेको छ । जसबाट अहिलेसम्म साढे ९ लाखभन्दा बढि व्यक्ति संक्रमित भएका छन् भने ४८ हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन् ।

यस भाइरससँग सचेत रहन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत सूचना जारी गरिसकेको अबस्था छ । उता फिलिपिन्समा भने लकडाउन उल्लंघन गर्नेमाथि गोली चलाउन समेतको कडा आदेश त्यहाँका राष्ट्रपति रोड्रिगो डुटर्टेले सेना र प्रहरीलाई दिएका छन् । तर हाम्रो देशमा भने जनप्रतिनिधिले नै लकडाउनको उल्लंघन गरिरहेको सहजै देख्न सकिन्छ ।

बिहीबार जनकपुरधाम उपमहानगरपालिकाकी बोर्ड सदस्य श्यामा झाले लकडाउनको यस संकटपूर्ण घडीमा रामजानकी विवाह मण्डपमा दजर्नौ महिलाहरुको बिचमा समूहमै गीत गाएको दृष्य देख्न पाइयो । 

एकातर्फ विश्व स्वास्थ्य संगठनले  कोरोना भाइरस छिटो सर्ने भएकाले मानिसहरूमा यसले अझ महामारी फैलाउन सक्ने आशंका गरेको अबस्था छ भने अर्कोतर्फ यिनीहरु जस्ता जनप्रतिनिधिलाई कुनै डर नै नभएको देखिन्छ ।

आफ्नो नगरका जनतालाई यस महामारीबाट कसरी बच्न सकिन्छ भन्ने कुरा सिकाउनुपर्नेमा उल्टै जनप्रतिनिधिले नै लकडाउनको उल्लंघन गरेपछि सर्वसाधारण जनताले के गर्छ रु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का सुभाष कर्णको प्रश्न छ । 

बोर्ड सदस्य झासँगै विवाह मण्डपमा दजर्नौ महिलाहरु समूहमै बसेर सामाजिक दूरीको समेत कुनै ख्याल नगरेको र मास्क समेत नलगाएको स्वयं झाले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोमा स्पष्ट हेर्न सकिन्छ । 

झाले फेसबुकमा सो भिडियो पोष्ट गर्दै लेखेकी छिन्,‘सब गोटेके रामनवमीके मंगलमय शुभकामना (सबै जनालाई रामनवमीको मंगलमय शुभकामना) जय श्रीराम कोरोनाके हटा दियौ, संसारके कल्याण करु (जय श्रीराम कोरोनालाई हटाइदिनुस,संसारको कल्याण गर्नुस) ।’ 

झाको त्यस पोष्टमाथि टिप्पणी गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने उमेश मण्डलले लेखेका छन्,‘जिल्ला प्रशासनको ध्यान पुगोस । जानकी मन्दिरको सुरक्षा गर्ने नेपाल प्रहरी कहाँ छ यस्तो रमिता को बेला ?’ झाको उक्त भिडियो पोष्टमाथि अन्य व्यक्तिहरुले पनि कमेन्ट मार्फत सचेत गराएका छन् । 

ज्ञातव्य होस,कोरोना भाइरसको संक्रमणबाट अहिले मानिसमा त्रास फैलिएको छ । यसको नियन्त्रणका लागि सँधै साबुनपानीले हात धुने,हाच्छ्यूँ गर्दा नाकमुख छोप्ने र लकडाउनको बेला घरमा बस्नु नै यसको नियन्त्रणको उचित उपाय हो । शौचालय गएपछि र हाच्छ्यूँ गरेपछि करीब २० सेकेण्डजति हात धुनुपर्छ । नाङ्गो हातले आँखा, नाक, मुख छुनु नपर्ने र भीडभाडमा जाँदा मास्क लगाउनुपर्ने यसका नियन्त्रणको उपाय हो । त्यसैले अहिलेको अबस्थामा सबैजना सचेत हुनु अत्यन्त आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर