• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कोरोना : स्वास्थ्य मन्त्रालयले नै दिन्छ गलत सूचना, संक्रमितको संख्या कहिले ७ कहिले ६

काठमाडौं । विश्व नै कोभिड १९ (कोरोना भाइरस)बाट आक्रान्त भइरहेको बेला नेपाल सरकारको विभागीय मन्त्रालय भने गम्भिर देखिँदैन् । शुक्रबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारीक सरकारी वेबसाइटले सर्वसाधारणलाई झुक्यायो । 

दिउँसो ४ बजेर २६ मिनेटमा अपडेट गरिएको उक्त अपेडेमा संक्रमितको संख्या ७ जना पुगेको जनाइएको छ । तर, केहीबेर अघिमात्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित संख्या ६ नै रहेको बताएका थिए । 

यसरी मन्त्रालयको वेबसाइट नै झुक्किनुको एक कारण थियो । वेबसाइट अपडेट हुनुभन्दा केहीबेर अघिमात्र कास्कीमा कोरोना संक्रमणको बिरामी भेटिएको खबर बाहिरिएको थियो । 

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङलाई कोड गरिएको उक्त समाचार निकै भाइरल पनि भयो । मन्त्री गुरुङले केहीबेरपछि सामाजिक सञ्जाल फेसबुकमार्फत मिडियाका साथिहरुलाई हतारो नगर्न भन्दै कास्कीमा कोरोना संक्रमित नभएको स्पष्ट गरेका थिए । 

सोही हल्लाका कारण केन्द्रीय सरकार अन्तर्गत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा भने संक्रमित थपिएको भनि विवरण थपिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को जानकारी लागि बनाएको छुट्टै पेजमा दिउँसो ४ बजेर ३४ मिनेटमा कोरोना संक्रमितको संख्या ७ भनेर जनाइएको थियो । 

त्यसको केहीबेर अघिमात्र मन्त्रालयका प्रवक्ता डा. देवकोटाले कास्कीमा कोहीपनि संक्रमित नभएको बताएका थिए । उनले पत्रकार सम्मेलनमा भनेका थिए,‘ कुनै केस शंकास्पद भयो भने त्यहाँ (प्रदेशमा) पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ, थप नमूना लिइन्छ । यो प्रोसेस भइसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौं । त्यो हिसाबले त्यहाँ पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ ।’

तर, उनी आफैं कार्यरत मन्त्रालयको वेबसाइटमा भने संक्रमित संख्या थपेर ७ जना पुर्याइएको थियो । 

मन्त्रालयले नै यस्तो डाटा सार्वजनिक गरेपछि साँझ हामीले मन्त्रालयका प्रवक्तालाई सम्पर्क गर्र्यौं । उनले हामीलाई अहिलेसम्म जम्मा ६ जना संक्रमित भएको र वेबसाइटमा के भएको हो आफूले बुझ्ने बताउँदै १० मिनेटपछि सम्पर्क गर्न सुझाए । 

१० मिनेटपछि सम्पर्क गर्दा उनले प्राविधिक कारणले त्यस्तो भएको र प्रदेशको हल्लाको कारण थपिएको बताए । केही मिनेटमा पुनः सच्चिएर संक्रमितको संख्या ६ बनाइयो । 

अहिले स्वास्थ्य मन्त्रालयको डाटामा संक्रमितको संख्या ६ बनाइएको छ भने दिउँसो ७ बनाइएको थियो ।

विश्व यतिबेला कोभिड १९ (कोरोना भाइरस) को महामारीबाट आक्रान्त छ । विश्वका शक्तिराष्ट्रहरु यो महामारीको उपचार र औषधि पत्ता लगाउनका लागि लागिपरेका छन् । तर, सफल भने हुन सकेका छैनन् । 

नेपालमा पनि यो रोगको संक्रमण देखिएसँगै सरकारले पूरै देश ‘लकडाउन’ गरेको छ । सिमाहरु बन्द छन् । हवाईमार्ग ठप्प छन् । जनताको जीवनस्तर अस्तव्यस्त छ । विश्व नै आतंकित बनिरहेको कोभिड १९ जस्तो खतरनाक रोगको डाटा सार्वजनिक गर्न मन्त्रालयले नै हेलचक्र्याईं गरेको प्रष्ट देखिन्छ । कोरोना संक्रमित बिरामीको तथ्याकं यकिन नगरि मन्त्रालयले आफ्नो वेबसाइटमा अपडेट गर्दा जनमानसमा एक प्रकारको क्रास उत्पन्न समेत यो विषयले गराएको छ । 

विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण ५५ हजारको मृत्यु भइसकेको छ भने १० लाख ४१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर