• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

लकडाउनमा पम्फा भुसालसँग ‘आमा सम्वाद’

हेर्छिन आमा मुसुक्क मुस्कुराउँछिन घरीघरी । माया लाग्दो हो । छेउँमा इशाराले बोलाउँछिन । बाल्यकालदेखिको टाढा–ढाढा बस्ने बानी । यसपाली यो मौका । आमाले महशुस गरेकी होलिन र त चेहेरा झन् उज्याला छन् । ‘छोरी मेरो छेउँ’मा छे भन्ने आमामा राम्रै सेन्स् छ । आफू सधैं जनता, पार्टी, समुदाय, समाज भन्यो हिंड्यो । वर्षौंको दैनिकी । लकडाउनको दश दिनमा आमासँगको यो सम्वाद चलिरहेको छ । यही त हो आमाको माया, सय प्रतिशत निस्वार्थ रुपमा छोरा–छोरीप्रति समर्पण गरेका हुन्छन् ।

आमा बेडबाट नउठेको ७ वर्ष भयो । आमा बोल्दिनन् । तर, सेन्सका हिसाबले सबै बुझ्छिन आमा । उमेर ९२ वर्ष । 

घरमा सधैं सहयोगी राखेर बिहान ‘हेलो’ आमा भनेर हिड्यो । साँझ आमा भन्न आयो । नबोल्ने आमालाई त्यही मात्रै भनिन्थ्यो हिजोका दिनसम्म । लकडाउनले यस्तो मौका जुराईदिएको छ, जीवनमा आमासँग विर्सन नसकिने क्षण । ४ दशक बढि भयो आमासँग यसरी लामो समय न बिताएकी ।

कोरोनाको संक्रमण विश्वभरी फैलिएको छ । त्यसका विरुद्ध सरकारले लकडाउनको घोषणा गर्यो । सबै वर्ग, जाति, लिङ्गलाई घरभित्रै बस्ने बनाएको छ । महामारी फैलिने डर, त्रासको वातावरण सबैमा छ । सामाजिक दुरी टाढा बनाएर बस्नु छ । यी नकरात्मक पाटो कोरोनाका हुन् । तर, अर्को पाटो हेर्दा पारिवारिक मिलनको सुखद् वातावरण सृजना गरेको छ ।

‘कक्षा ६ देखि घरबाट टाढा हिडेर पढेकाे जिन्दगी । केही समयपछि संगठनमै लागियो । त्यसपछि काठमाडौं, काठमाडौैंबाटै जनयुद्धमा हिडियो । कक्षा ६ मा पढ्ने उमेरदेखि अहिलेसम्म यतिका लामो समय आमासँग बसेकी थिइन’, कोरोनाले आमाको स्याहार सुसार गर्न समय दिएको अनुभव गरिन नेतृ पम्फा भुसालले । आमाको स्याहार सधैं माइली दिदी र सहयोगीले गर्ने, तर कोरोनाको कहरसँगै सहयोगी आफ्नै घर गएपछि अहिले दिदी बहिनीको जिम्मेवारी भएको छ,' भुसालले सुनाईन । 

‘सामाचारहरुमा अपडेट हुन्छ । राष्ट्रिय महत्वको विषयमा केही स्टाटस लेख्छु । कतिपय ती मेरा बिचारहरु समाचार बनेर आएको हेर्छु । केही मन्त्रीहरुलाई फोन गर्छु । कतिपयले उठाउँछन । कतिले उठाउँदैनन् । कतिपयले कल व्याक गर्छन । न उठाए, कल व्याक नगरे बिजी छन् भन्ने लाग्छ । देहोर्याएर कल गर्ने बानी छैन्’, लकडाउनको दैनिकी सुनाउँदै भुसालले भनिन ।

बाँकी समय आमासँग । ‘जिन्दगीमा आमा के हुन भन्ने महसुस अहिले गरेकी छु । हुन त हिजोको जनयुद्धकालमा पनि आमाको याद नआएको होइन । तर, भौतिक रुपमा यसरी बस्न पाएकी थिइन । यसपाला जुर्यो । आमाले छोरीलाई कति माया गर्नुहुन्छ भन्ने बुझ्ने मेरा लागि यो समय पाए जस्तो महसुश गरेकी छु’, उनले भनिन ।

जहिले अप्ठ्यारो पर्छ त्यहीबेला मुखमा पुट्ट आउँछ नि ‘आमा’ ? हो किन आउँछ एक्कासी आमा ? भन्ने आभास यसपटक गरेको उनको सुखद् अनुभव छ । ‘म साइँली छोरी हुँ । ९२ वर्षकी आमासँग बस्न पाउनु यो मेरो भाग्य हो । आमाको छेउमा बस्छु । आमाको हाउभाउ हेर्छु । आमाले मप्रति देखाउने माया । जसले मलाई सोच्न बाध्य बनाउँछ, आमाको माया छोराछोरीप्रति सय प्रतिशत निस्वार्थ समर्पित । मैले आमा यसरी बुझिरहेकी छु’, उनले आमा–छोरी हुनुको अर्थ शब्दमा व्यक्त गरिन ।

– आमा बोल्नु हुन्न, सेन्सले बुझेर मुस्कुराउनु हुन्छ ।
– चार दशकपछि आमासँय यति लामो समय सँगै बस्ने समय मिल्यो ।
– छोराछोरीप्रति आमाको सय प्रतिशत निस्वार्थ माया समर्पित हुन्छ ।
– मेरो क्षेत्रका आमाहरुले मास्क तयार गरे ।

..........
संकटमा जनताका आमा र दिदी बहिनी

आफू निर्वाचित क्षेत्र घना वस्तिले बनेको छ । ललितपुर महानगरपालिकाको २० र गोदावारी नगरपालिकाको २ वडा । यी बाक्लो बस्तिले उनलाई काम गर्न निकै सहज भयो । कोरोनाबाट बँच्ने उपायका प्रचार–प्रसार घरघरमै पुग्यो । राष्ट्रिय मिडिया, सामाजिक सञ्जालको सहज पहुँचले प्रचार–प्रसारमा झन् सहज भयो । सबै वडाअध्यक्ष, सदस्यहरु र प्रदेश सांसदहरुसँग छिनछिनमा अपडेटमा छिन उनी । ‘मेरो क्षेत्रका वस्ती नजिक र सहरमा भएकाले कोरोनाबाट बँच्ने प्रचार–प्रसार, राहत वितरणमा खासै समस्या छैन । प्रत्येक वडाका अध्यक्षहरुसँग छिनछिनमा अपडेट छु’, उनले भनिन,‘केही समस्या आइपरे फोनबाटै स्थानीय जनप्रतिनिधिहरुसँग समन्वय गरी समाधान गरिरहेकी छु ।’

ललितपुर महानगरपालिको संयोग गजबले आमा, दिदी बहिनीमै जुर्यो । जब, महामारी फैलिने डर बढ्यो । त्यहीबेलादेखि बजारमा मास्क, सेनिटाइजर पुरै अभाव भयो । भुसालको क्षेत्रमा भने त्यसको विकल्प तत्कालै जुट्योे । २२ वडाका घरघर थाहा छ । तर, टोल समितिको संख्या गन्न भ्याएकी छैनन् । ‘मास्क बजारमा अभाव भयो । महानगरले तत्कालै टोलटोलमा सीप सिकिसकेका दिदी बहिनी, आमा समूहहरु परिचालन गरेर महानगरले कपडा दिएपछि मास्कको अभाव ललितपुरमा भएन’, तत्कालको समस्या समाधान आफ्नै क्षेत्रका आमाहरुले मास्क बनाएर समाधान गरेकोमा गर्व गरिन ।

कोरोना रोकथाममा छिटो पहल लिनुपर्छ भन्नेमा उनी अग्रपंक्तिमा रहिन । उनले भनिन्– ‘भीम रावलजी, म लगायतले संघीय संसदको राज्य नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्याकंन निर्देशक समितिमा कुरा राख्यौं । तत्काल भारतसँगको नाका बन्द गर्नुपर्छ भनेर । अर्को दिन सरकारले नाका बन्द गर्यो । तेस्रो दिन लकडाउन गर्यो । यो सकारात्मक पक्ष हो ।’

उनको मनमा आफ्नै पार्टी नेतृत्व दुई तिहाई सरकार । सरकारमा बसेकाहरुसँग जिज्ञासा भने थुप्रै छन् । ‘हामीलाई माया गर्ने छिमेकीहरु पनि थिए । कोभिड–१९ को महामारी चपेटाबाट उठेर चीन सरकारले के–के सहयोग चाहिन्छ भनेर एक महिनाअघि भनेको हो । हामीले क्याविनेटमा रहेका २३ र दुई राज्य मन्त्रीहरुले काम गरिराखेका होलान भन्ने थियो । तर, त्यो रहेनछ । अस्ति टेन्डरको समस्यापछि सरकारको तयारीमा गम्भिर कमजोरी छ भन्ने प्रष्ट भयो’, उनले भनिन ।

प्रत्यक्ष जनतासँग जोडिने पद । कोभिड–१९को यो त्रास । भाइरसबाट बच्ने उपाय एउटा सामाजिक दुरी टाढा गर्नु हो । आफ्नो क्षेत्र यसै बाक्लो बस्ति । सजग रहेर भौतिक र सामाजिक दुरी केही टाढा भए पनि सामाजाकि संजाल, टेलिफोनबाट प्रत्यक्ष भेटघाट भइरहेको उनले बताईन । ‘हरेक समुदाय जहाँ छौं । त्यहीँ रहने अवस्था छ । केही समय आ–आफ्ना जीवनशैली बदल्ने सक्यौं भने फेरी हाम्रो सामाकिज दुरी नजिक भएर सँगै हिड्ने दिन आउँछ’, उनले सबैसँग आव्हान गरिन ।

(ललितपुर–३ की सांसद तथा नेकपाकी नेता भुसालसँग कुराकानीका आधारमा समाचार दैनिकका लागि उजिर मगरले तयार पारेको आलेख ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर