नियमित खानुपर्ने औषधि सर्वसाधारणको घर घरमा पुर्याइँदै

कास्की ।  कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सरकारले ‘लकडाउन’ आह्वान गरेको छ । लकडाउनका कारणले सबैतिर सुनसान छ । दुई साता लामो लकडाउनका कारणले अत्यावश्कीय बाहेक घरबाहिरसमेत निस्कन पाइँदैन । यस्तो अवस्थामा नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरु औषधिका लागि स्वास्थ्य संस्थासम्म पुग्न सक्ने अवस्था छैन ।

विकट गाउँबस्तीमा त झन यस्तो समस्याबाट धेरै नै प्रभावित बनेका छन् । तर कास्कीको माछापुच्छ«े गाउँपालिकाका दुई वडाका स्वास्थ्य संस्थाले भने अहिलेको विषम अवस्थामा समेत नियमित औषधि सेवन गरिरहेकाहरुलाई अत्यावश्यक औषधि घरमै लगेर वितरण गर्ने गरेका छन् । ल्वाङ्घलेल स्वास्थ्य चौकी र सिदिङ सामुदायिक स्वास्थ्य इकाइले सामाजिक सञ्जाल र फोन सम्पर्कको माध्यमबाट सर्वसाधारणलाई अत्यावश्यक औषधिको विवरण मागेर चाहिने औषधि स्वास्थ्य संस्था, औषधि पसल र पोखराबाट लगेर सर्वसाधारणलाई उपलब्ध गराउने गरिएको छ । 

वडा नं. ९ का अध्यक्ष दुर्गाबहादुर क्षेत्री, वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडी, वडा सदस्य नवीन राना, ल्वाङ्घलेल स्वास्थ्यचौकी प्रमुख आनन्द बराल, स्वास्थ्य चौकीका अहेव हरिबहादुर मल्ल र सिदिङ सामुदायिक स्वास्थ्य इकाइका मेघनाथ अधिकारीलाई आवश्यक औषधि टिपाउन सर्वसाधारणमा सूचना जारी गरिएको छ ।

त्यसरी सर्वसाधारणले फोन, म्यासिन्जर वा भाइवरमा समेत औषधिको फोटोसहित टिपाउनेलाई घरमै औषधि पु¥याउने व्यवस्था गरिएको छ । जनतामा हालको लकडाउनका कारण नियमित रुपमा खानुपर्ने औषधि अभाव नहोस् र समस्यामा नपरुन् भनेर सामाजिक सञ्चालनको प्रयोग गर्दै औषधि व्यवस्थापनको कार्य भइरहेको ल्वाङ्घलेल स्वास्थ्य चौकी प्रमुख बरालले बताए ।

“अहिलेको विषम परिस्थितिमा प्रेसर, सुगरलगायत रोगको नियमित औषधि सेवन गर्नुपर्नेलाई औषधि अभाव नहोस् भनेर उनीहरुले खाने औषधिको जानकारी स्वास्थ्य संस्था वा जनप्रतिनिधिलाई टिपाउन भनेका छौँ ।” बरालले भने, “कतिपयले आवश्यक औषधि फोटो खिचेर म्यासिन्जर र भाइवरमा समेत पठाउनुहुन्छ भने कोहीले फोनबाट टिपाउने गरेका छन् ।  सर्वसाधारणलाई चाहिने औषधि पाएसम्म स्वास्थ्य संस्था, यहाँकै पसल वा नभए बजारबाट ल्याएरसमेत वितरण गरेका छौँ ।”

कतिपय रोगका औषधि सम्बन्धित बिरामीनै अस्पतालसम्म पुग्नुपर्ने अवस्था रहेकाले त्यस अवस्थामा बिरामीलाई स्वास्थ्य चौकीबाट पास बनाएर पोखरा पठाउने गरिएको बताइन्छ । वडाध्यक्ष क्षेत्रीले कोरोना सङ्क्रमण फैलनबाट रोक्न वडाबासीको सुरक्षामा आफूहरु लागेको र सर्वसाधारणलाई घरभित्रै बसेर सहयोग गर्न आग्रह गरिएको बताउँदै आवश्यक औषधि सर्वसाधारणको घर वा नजिकको स्थानमा भीडभाड नगरिकन वितरण गरिएको बताए । –कृष्ण दवाडी 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर