• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मुस्लिम समुदायको महान चाड इदको शुभकामना सन्देशमा कसले के भने ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल–फित्रको अवसरमा विश्वका विभिन्न स्थानमा रहेका नेपाली मुस्लिमहरुलाई शुभकानाम दिएकी छन् ।

यो पर्वले धार्मिक तथा सांस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने उनले उल्लेख गरेकी छन् ।

इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान पर्वका अवसरमा उनले शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य रहेको पनि सन्देशमा उल्लेख गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल–फित्र पर्व मनाउने विश्वास व्यक्त गरेका छन् ।

इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल–फित्रका अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला पर्व आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने बताएका छन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल–फित्र मनाउन आग्रह गरेका छन् ।

रमदानको रोजा पूरा गरी इद उल–फित्र मनाइरहेका इस्लाम समुदायका सम्पूर्ण दिदीबहिनीलाई शुभकामना दिँदै उनले विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरू हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताको मौलिक पहिचान भएको बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले इद उल–फित्र पर्व मनाउनेक्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । इस्लाम धर्मावलम्बीको इद उल–फित्र (इद) पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस पर्वले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश दिने बताएका छन् ।

यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सन्देश दिँदै पर्वले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गर्ने विश्वास व्यक्त गरेका छन् । उनले सरकारको आग्रहलाई पालना गरी दूरी कायम गर्दै पर्व मनाउन सम्पूर्ण मुसलमान समुदायमा आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल–फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना (इद मुवारक) व्यक्त गरेका छन् ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै भौतिक दूरीलाई कायम राखी पारस्परिक एकता, विश्वास र प्रेमका साथ पर्व मनाउन उनले सबैलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर