• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

उपमहानगरमा क्वारेन्टाइन क्षमता बढाउन वडाध्यक्षहरुको माग

जनकपुरधाम । क्वारेण्टाइनको अभाव देखिएपछि जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरुले वडा वडामा क्वारेण्टाइनको स्थापनाको माग गर्दै ३ सुत्रिय माग अगाडी सारेका छन् । 

जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहले नगरवासी प्रतिको जिम्मेवारी र कर्तव्यबोध नगरेको आरोप लगाउँदै वडाध्यक्षहरुले क्वारेन्टाइनको स्थापना वडा वडामा गर्नु पर्ने भन्दै जिल्ला समन्वय समिति धनुषालाई ज्ञापनपत्र बुझाएका हुन् । 

जनकपुरधाम उपमहानगरपालिका भित्र पर्ने विभिन्न वडाका वडाध्यक्षले संयूक्तरुपमा ज्ञपानपत्र बुझाउदैँ ५ सय शैयाको क्वारेण्टाइन स्थापना वा प्रत्येक वडामा क्वारेन्टाइन स्थापना तत्कालै गर्नुपर्ने, जनकपुरधाम उपमहानगरवासीका लागि एक थान रियल टाइम पिसिआर मेसिन जडान गर्नुपर्ने र जटही नाका भित्र पालिका भित्र आउनेहरुलाई भोजन र यातायातको व्यवस्था अनिवार्यरुपमा गर्नुपर्ने माँग गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७को वडाध्यक्ष जानकीराम साहले प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा व्यवस्थितरुपमा कोरोना परिक्षणको मेसिन पटक पटक विग्रिनु, चेकजाँच व्यवस्थित रुपमा तिव्र रुपमा नहुनु र कुनै पनि किसिमको सुविधा सहितको व्यवस्था नरेहकाले हामीले बाध्यात्मक अवस्थामा ज्ञापन पत्र बुझाएको बताए ।

उनले हामीले बुझाएका मागहरु तत्कालै सम्बोधन नभएमा उत्पन्न हुने सम्पूर्ण परिस्थितीको जिम्मेवारी स्वयम् नगर प्रमुख तथा सरोकारवालले लिनुपर्ने चेतावनी दिए । 

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले जनकपुरधाम नगरमा पनि भारतमा अध्ययन गर्दै आई रहेका छात्र छात्रा, मजदुरी लगायतका कार्यहरु गर्न गएकाहरु लामो समयको लकडाउनका कारण घर फर्कि रहेको त्यसको व्यवस्थापन गर्नु स्थानीय सरकारको दायित्व रहेको बताए । उनले यस अवस्थामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि फर्किनेहरुलाई संघीय सरकारको प्रवाधान अनुसार क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेकजाँच गराउनुपर्ने व्यवस्था हुनुपर्छ, तर यहाँ क्वारेण्टाइनको पनि व्यापक अभाव रहेको बताए । 

जनकपुरधाम नगरमा आवश्यकता अनुसारको क्वारेन्टाइनको निकै अभाव रहेको र भएका क्वारेन्टाइन पनि अव्यवस्थित रहेकोले तत्काल क्वारेण्टाइन स्थापनाका लागि दवाब दिने उद्देश्यले ज्ञापन पत्र बुझाउन आएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए । जनकपुरधाममा क्वारेण्टाइन क्षमता बढाउनु अतिआवश्यक रहेको उनको भनाई छ । 

वडाध्यक्षहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयलाई बारम्बर मौखिकरुपमा र विभिन्न पटकको डेलिगेसन मार्फत पनि गुनासो तथा जानकारी गराउदाँ समेत प्रमुख लालकिशोर साहले आफुखुसी कार्यपालिका बोर्डको वैठक समेत नबसी कार्य गरेको आरोप समेत लगाए ।

जिसस धनुषाका अध्यक्ष रामवनरैत यादवले वडाध्यक्षहरुको माँग प्रति आफु गम्भिर रहेको बताउदैँ यसका लागि तत्काल पहल गर्ने प्रतिशद्धता व्यक्त गरे । 

जनकपुरधाम उपमहानगरपालिकाका १८ जना वडाध्यक्षहरुको हस्ताक्षर रहेको सो ज्ञापन पत्र प्रदेश दुई सरकार, जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिका कार्यपालिकाको कार्यालयलाई समेत बोधार्थमा ज्ञापन पत्र बुझाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर