• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

गणतन्त्र दिवशको अबसरमा कसले के भने ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन् । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उनले गणतन्त्रलाई थप सुदृढ तुल्याउन हार्दिक आह्वानसमेत गरे । 

अपार जनसहभागितामा सञ्चालित ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गरे । 

“आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । 

सदाकाल स्वाधिन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पु¥याउने पूर्वजहरुको योगदानको स्मरण गर्दै उहाँहरुको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिले आह्वान गरेकी छिन् । निकै लामो सङ्क्रमणकालपश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेसमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउन सम्पूर्ण राजनीतिक दलहरु तथा आमजनतामा उहाँले हार्दिक आह्वानसमेत गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले नोबल कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सवै नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । उनले सङ्क्रमित विरामीहरुको स्वास्थ्यलाभको कामना गरिन् । ऐतिहासिक दिवसले सबै नेपालीहरुलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने राष्ट्रपति भण्डारीले शुभेच्छा प्रकट गरे । 

सभामुख अग्निप्रसाद सापकोटाको शुभकामना सन्देश

 सभामुख अग्निप्रसाद सापकोटाले १३ औँ गणतन्त्र दिवसले संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न तथा दलहरुबीच सुदृढ राष्ट्रिय एकता कायम गरी समृद्ध नेपाल निर्माण गर्ने महाभियानमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्  ।  
यस अवसरमा आज शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले गणतन्त्र संँगसंँगै नयाँ संविधानमा संघीयता र धर्मनिरपेक्षता पनि सुनिश्चित गराएर व्यावहारिक अभ्यास भइरहेको र अब हरेक नेपाली जनताको जीवनस्तर माथि उठाउनुपर्ने दायित्वमा दत्तचित्त भएर लाग्नुपर्ने उल्लेख गरेका छन्  ।

“गणतन्त्र स्थापनाका गौरवशाली १२ वर्ष पूरा हुँदै गर्दा कोभिड–१९ महामारीबाट उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न बाध्य छौं, जसका कारण यस वर्षको गणतन्त्र दिवस उल्लासमय तवरमा मनाउन सकिने अवस्था रहेन”, शुभकामना सन्देशमा भनिएको छ, “एकातिर महामारीबाट जनताको जीवन रक्षाको सवाल छ भने अर्कोतिर बन्दाबन्दीका कारण उत्पन्न आर्थिक विषमतालाई पार गरेर अघि बढ्नुपर्नेछ, गणतन्त्र दिवसलाई हामीले यो विषम परिस्थिति पार गरेर अघि बढ्ने संकल्प दिवसको रुपमा मनाउनुपर्ने अवस्था आएको छ ।”

सभामुख सापकोटाले नेपालमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्र प्राप्तिको कठोर संघर्षमा घाइते तथा अपाङ्गता भएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिनुभएका योद्धाहरुको उच्च बलिदानी भावको स्मरणका साथ उनीहरुप्रति उच्च सम्मान व्यक्त व्यक्त गरेका छन् ।
 
कोभिड नियन्त्रणमा तीन तहका सरकारले गरेका कामले गणतन्त्रप्रति गर्व गर्ने वातावरण बन्योः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन् । 

गणतन्त्र दिवस–२०७७ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गर्दै आएको प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजान आग्रह गरेका छन् ।  गणतन्त्रलाई अझै समृद्ध बनाउनु आवश्यक रहेको भन्दै उपराष्ट्रपतिले भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई अझै सुदृढ् गर्दै लैजानुपर्नेमा जोड दिएका छन्। 

“गणतन्त्र प्राप्तिका लागि हामीले जसरी एकताबद्ध भएर सङ्घर्ष ग¥यौँ, हाम्रो भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रियताको रक्षा र सुदृढीकरणका लागि पुनः एकपटक राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्नेछ”, उपराष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, “गणतन्त्र दिवस–२०७७ ले हाम्रो राष्ट्रियताको रक्षा तथा सुदृढीकरण र कोरोना भाइरस रोकथामका लागि राष्ट्रिय एकता प्रदर्शन गर्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास लिएको छु ।”

सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था गणतन्त्रसँगै नेपाली जनताले प्राप्त गरेका प्रमुख राजनीतिक उपलब्धि भएको उल्लेख गर्दै उहाँले यी उपलब्धिमा टेकेर देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाका साथ देश समुन्नती र समृद्धिको मार्गमा द्रुत्ततर गतिमा अगाडि बढिरहँदा विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाइरस (कोभिड–१९) ले निकै अप्ठ्यारो पारेको बताएका छन् । 

गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन वलिदान दिनुहुने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपराष्ट्रपतिले सङ्घर्षका क्रममा घाइते भएका योद्धाको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । सङ्घर्षका क्रममा बेपत्ता भएकाप्रति सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले बेपत्ताको अवस्था छिट्टै सार्वजनिकीकरणका लागि सबैको ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर