प्रदेश १ सरकारले करिव ३५ अर्ब हाराहारीको बजेट ल्याउदैं

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दैछ । असार १ गतेभित्र बजेट ल्याउनु पर्ने व्यवस्था अनुरुप सरकारले बजेटको सम्पूर्ण तयारी पुरा गरिसकेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले दिउँसो ३ बजेट बस्ने प्रदेशसभाको बैठकमा बजेट प्रस्तुत गर्नुहुने छ । 

कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको प्रभावका कारण यस पटकको बजेटमा अघिल्लो वर्षका कार्यक्रमहरुकै निरन्तरता रहने छन् । प्रदेश सरकारले बजे्ेट मार्फत पूर्वाधार तर्फ नयाँ कार्यक्रमहरु बनाएको छैन । खानेपानी तर्फ केही नयाँ कार्यक्रम बनाउनु बाहेक यस पटक सडक, पुल, सिंचाइ, तटबन्द आदि क्षेत्रमा नयाँ योजना थप नभएको बताइएको छ । खानेपानीका केही नयाँ आयोजनाहरु भने बजेटमा परेको बताइएको छ । 

पर्यटन तर्फ पनि पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिइएको र नयाँ कार्यक्रमहरु समावेश नभएको बताइएको छ । सामाजिक विकास तर्फ केही नयाँ कार्यक्रमहरुमा थप भएको स्रोतले बताएको छ ।  केही दिन अघि प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनि गर्दै बहुवर्षे योजनाहरुलाई निरन्तरता दिने र नयाँ कार्यक्रमहरु थप नगर्ने घोषणा गरेको थियो । सोही नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनेका कारण अधिकांश मन्त्रालयहरुले नयाँ कार्यक्रम थप नगरेका हुन् । 

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि स्वास्थ्य तर्फ सरकारले विशेष जोड दिँदै नयाँ कार्यक्रमहरु थप गरेको बताइएको छ । लामो समयको बन्दाबन्दीका कारण उत्पादनमा परेको प्रभावलाई न्यूनीकरण गर्न र उत्पादन बढाउँदै कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न प्रदेश सरकारले कृषि क्षेत्रमा नयाँ कार्यक्रमहरु थप गरेको बताइएको छ । 

चालु आर्थिक वर्षका लागि ४२ अर्बको अनुमानित बजेट प्रस्तुत गरेको प्रदेश सरकारले मध्यावधी समिक्षापछि त्यसमा संशोधन गरी ३३ अर्वको अनुमान गरेको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले करिव ३५ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर