तिलोत्तमाको बजेट १ अर्ब ८९ करोड

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ८९ करोड २६ लाखको बजेट प्रस्तुत गरेको छ । 

बुधबार सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले प्रस्तुत गरेको १ अर्ब ८९ करोड २६ लाखको बजेटमा सामाजिक सुरक्षाको २५ करोड बाहेक चालुतर्फ ५२ करोड १ लाख अर्थात् ३१.६७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब १२ करोड २५ लाख अर्थात् ६८.३३ प्रतिशत रकम खर्च प्रस्ताव गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेटको आकार ३५ करोडले बढाएको हो । 

तिलोत्तमाले बजेटमा आम्दानीका स्रोतको रुपमा आन्तरिक राजस्व ५७ करोड ९२ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २३ करोड ३४ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ३ करोड, गत वर्षको मौज्दातबाट १ करोड, लागत सहभागितामार्फत् ४ करोड प्राप्त हुने लक्ष्य निर्धारण गरेको छ । 

बजेट प्रस्तुत गर्दै उप–प्रमुख चौधरीले क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाइ नगरबासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको बताइन । 

बजेटमा शिक्षामा ३५ करोड ६८ लाख, स्वास्थ्यमा १३ करोड ६० लाख, कृषि, पशुपालन र सिँचाईमा ९ करोड ७६ लाख विनियोजन गरिएको छ । उद्योग तथा वाणिज्य क्षेत्रको लागि ६ करोड ७५ लाख, भवन, शहरी विकास र पूर्वाधारको लागि ४४ करोड ५८ लाख, युवा साझेदारी कार्यक्रम तथा खेलकुद मैदान पूर्वाधारको लागि २ करोड २२ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको लागि २ करोड २२ लाख विनियोजन गरिएको छ । 

नगर उपप्रमुख चौधरीले गत जेठ २३ गते नगर प्रमुख बासुदेव घिमिरेले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमको आधारमा बजेट सार्वजनिक गरेकी हुन । बजेटमा जग्गा चक्लाबन्दी गरी खेती गर्नेलाई अनुदान दिन ८० लाख, शीत भण्डार एवं कृषि उपज संकलन तथा प्रशोधन केन्द्र निर्माणको लागि १ करोड, सामुदायिक विद्यालयको भवन तथा अन्य पूर्वाधार निर्माणको लागि १ करोड, कोभिड–१९ रोग नियन्त्रणको लागि ५० लाख, वडा नं. १,४,५,८,१०,११ का वडा कार्यालय भवन निर्माण क्रमागतको लागि ३ करोड ७० लाख, एकीकृत सरसफाई केन्द्र निर्माणको लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर