सुदुरपश्चिम प्रदेश सरकारको सवारी करः ‘विपन्नलाई मार, सम्पन्नलाई राहत’

धनगढी । चालु आर्थिक बर्ष २०७६/७७ मा देशभरमै सवैभन्दा वढी कर सुदुरपश्चिम प्रदेशमा रहेको थियो । तर त्यसको चर्को आलोचना भएपछि प्रदेश सरकारले आगामी आर्थिक बर्षमा सवारी कर अन्तर्गत मोटरसाईकलमा कर कटौती गरेको बजेटमा घोषणा गर्यो । त्यसको केही दिनपछि पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले छाती फुलाउँदै चालु आर्थिक बर्षको भन्दा कर कम गरेको भन्दै हुन्कार फुके । तर प्रदेश सरकारले लगाएको सवारी करले भने विपन्न वर्गलाई थप मार पारेको छ । तर सम्पन्न र पुँजीपति वर्गलाई यसले सहुलियत भएको छ । 

अटो मोवाईल व्यवसायीहरुका अनुसार सुदुरपश्चिम प्रदेशमा सवैभन्दा वढी बिक्री हुने मोटरसाईकलमा ५ सय रुपैयाँ कर वढेको छ । विपन्न वर्गहरुले बाध्यताका लागि किन्ने मोटर साईकलमा कर वढेको हो । सम्पन्न वर्गहरुले विलासित र रहरले चढ्ने मोटर साईकलमा आधाभन्दा वढी कर घटेको छ । विभिन्न सीसी क्षमताका मोटरसाईकलहरुमा कर घटाउने तर सवैभन्दा वढी बिक्री हुने मोटरसाईकलमा भने कर बढाईएको अटो मोवाईल्स व्यवसायीहरु बताउँछन् । उनीहरुको भनाईमा कर वढी संकलन गर्ने उद्देश्यले कम बिक्री हुने मोटरसाईकलमा घटाएर सबैभन्दा बढी बिक्री हुने मोटरसाईकलमा बढाईएको हो । 

सुदुरपश्चिममा एक बर्षमा झण्डै १० हजारभन्दा वढी मोटरसाईकल बिक्री हुने गरेको सम्बद्धहरु बताउँछन् । त्यसको ७० प्रतिशत हिस्सा १२५ देखि एक सय ५० सीसी मोटरसाईकलकै रहेको छ । यसको हिसावले ७ हजार मोटरसाईकल विक्री भएमा एउटा मोटरसाईकलको चार हजार पाँच सयका दरले सुदुरपश्चिम सरकारले सवारी कर वापत तीन करोड १५ लाख आम्दानी गर्छ । १५० देखि २५० सीसीसम्मका मोटरसाईकलमा पनि कर चार हजार पाँच सय नै रहेको छ । केही वाईकहरु मात्रै २५० देखि चार सय र चार सयभन्दा वढीका हुने भएकोले कम्तिमा पनि यस वापत पनि एक करोड ३५ लाख राजश्व उठ्छ । एक बर्षमा सुदुरपश्चिम सरकारले नयाँ किनिएका मोटरसाईकल वापत मात्रै कम्तिमा साढे चार करोड आम्दानी गर्छ । 

प्रदेश सरकारले १२५ सीसीसम्मका मोटरसाईकलमा लाग्ने करमा कुनै घटबड गरिएको छैन् । १२५ सीसीदेखि १५० सीसीसम्मका मोटरसाईकलमा भने ५ सय कर वढाईएको छ । यसअघि ४ हजार कर तिर्नुपर्ने अव चार हजार पाँच सय कर तिर्नुपर्नेछ । १५० सीसीदेखि चार सीसीका वाईकमा भने झण्डै आधा कर कटौती गरिएको छ । जुन मोटरसाईकल कम विक्री हुने र विलासिलता र रहरले चढ्ने गरिएको छ । १५० देखि २५० सीसीसम्मका मोटरसाईकलको कर ८ हजार रहेको घटाएर ४ हजार ५ सय बनाईएको छ । यसमा तीन हजार ५ सय कर कटौती भएको हो । २५१ देखि चार सय सीसीसम्मका मोटरसाईकलमा भने ५० प्रतिशत कर कटौती भएको छ । यसअघि १६ हजार रहेको करलाई ८ हजारमा झारिएको छ । ४ सय सीसीभन्दा माथिको मोटरसाईकलमा भने सवैभन्दा वढी कर छुट गरिएको छ । यो सीसीका मोटरसाईकलमा वुलेट लगायतका पर्छन् । यसअघि ३० हजार कर रहेकोमा चार सय सीसीभन्दा वढीका मोटरसाईकलमा अब ९ हजार मात्रै कर तिर्नुपर्ने छ । 

विभिन्न अटो मोवाईल्सका डिलर्सहरुसँग लिईएको तथ्यांकमा सवैभन्दा वढी १२५ देखि १५० सीसीसम्मका मोटरसाईकल नै बिक्री हुने गरेका छन् । मोटरसाईकल बिक्रीको अनुपात हेर्दा धनगढी र सुदुरपश्चिममा बिक्री हुने सवै मोटरसाईकलहरुमा १२५ देखि १५० सीसीसम्मका मोटरसाईकलको हिस्सा आधाभन्दा वढी रहेको छ । त्यही भएर पनि कम बिक्री हुनेमा कम र बढी बिक्री हुने बढी कर लगाएर प्रदेश सरकारले बढी कर संकलनको जुक्ती लगाएको स्वयम व्यवसायीहरु बताउँछन् । सुदुरपश्चिममा सवैभन्दा वढी बिक्री हुनेमा हिरो मोटरसाईकल पहिलो नम्बरमा रहेको छ ।

हिरो मोटरसाईकलको धनगढीका लागि आधिकारिक विक्रेता विशेष अटोमोटिभ्सले एक बर्षमा झण्डै एक हजार चार मोटरसाईकल बिक्री गर्छ । यसमा १२५ देखि एक ५० सीसीका मात्रै ७० प्रतिशत मोटरसाईकल बिक्री हुने गरेको अटोमोटिभ्सका सञ्चालक पुष्कर ओझा बताउँछन् । ‘कम सीसीका मोटरसाईकल मानिसहरुले रहर नभई वाध्यताले किन्ने गरेका छन् । यसमा कर नबढाउनुपर्ने हो ।’ कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका ओझाले भन– ‘तर सवैभन्दा वढी बिक्री हुने र चढ्ने मोटरसाईकलमा कर वढ्यो । जसलाई सामान्य मोटरसाईकल नभई नहुनेले वढी कर तिर्नु पर्यो । जसले रहर गरेर विलासितका लागि वाईक चढ्नछन् । उनीहरुको कर घट्यो । हामीले पनि पटक पटक कर घटाउन आवाज उठाएपछि घटाउनुभन्दा पनि समायोजन गरेको जस्तो छ । तर अन्य प्रदेशभन्दा अझै हाम्रोमा कर बढी नै छ ।’ 

हिरोपछि दोस्रो नम्बरमा धनगढीमा विक्री हुने मोटरसाईकल हो बजाज । बजाजको आधिकारी विक्रेता दिनेश अटोमोटिभ्सले एक बर्षमा एक हजार एक सयभन्दा वढी मोटरसाईकल विक्री गर्दै आएको छ । त्यसमा १२५ देखि एक ५० सीसीका मोटरसाईकलकै वाहुल्यता रहेको छ । झण्डै ८० प्रतिशत मोटरसाईकल १२५ देखि एक ५० सीसीकै विक्री हुने गरेको छ । त्यसमा पनि बजाजको पल्सर मोटरसाईकल बिक्रीको एक नम्बरमा हुन्छ । ‘बजाजका वाईकलहरु स्टाईलिस हुने भएकोले युवाहरुले वढी किन्ने गरेका छन् । तर पनि अन्य मोटरसाईकलै हाराहारी मुल्यमा विक्री हुँदा अधिकांश वाईक १२५ देखि एक ५० सीसीकै बेचिन्छ ।’ बजाज अटोमोटिभ्सका म्यानेजर यम ढकालले भने– ‘राम्रो मोटरसाईकल किनौं भन्ने सोच पनि हुन्छ धेरैको महँगो मोटरसाईकल पनि किन्न सक्दैनन् । तर यो १२५ देखि एक ५० सीसीका मोटरसाईकले मार पनि पर्दैन । सरकारले बढी बिक्री हुने सीसीकै मोटरसाईकलमा कर बढाएर सामान्य वर्गहरुलाई अझ मारमा पारेको छ ।’ 

सवैभन्दा वढी विक्री हुने मोटरसाईकलको तेस्रो नम्बरमा आउने नाम हो होन्डा ब्रान्ड । धनगढीका लागि होन्डा मोटरसाईकलको आधिकारिक विक्रेता कुमारी ट्रेडर्सले बर्षभरी एक हजार मोटरसाईकल बिक्री गर्दै आएको छ । त्यसको आधा हिस्सा अर्थात झण्डै ५० प्रतिशत मोटरसाईकल १२५ देखि एक ५० सीसीका बिक्री हुने गरेका छन् । ‘यो सीसीका मोटरसाईकल मेरो कम मोडेलका भएपनि अधिकांश बिक्री हुँदै आएको थियो । बिक्रीको हिसाबले १२५ सीसीको होन्डा साईन मोटरसाईकल पहिलो नम्बरमा पर्छ ।’ कुमारी टेड्रर्सका सञ्चालक राकेश कर्माचार्यले भने– ‘१५० सीसीभन्दा वढीको मोटरसाईकल कम मोडेलका थिए । अहिले मोडेलहरु आएका छन् । यसमा भने केही राहत भएको छ ।’

यमाहा मोटरसाईकल यमाहा मोटरसाईकलको आधिकारिक विक्रेता स्वेता टेडिंड कन्सर्नले एक बर्षमा झण्डै ८ सय वढी मोटरसाईकल बिक्री गर्ने गरेको छ । यमाहाका मोटरसाईकल सवैभन्दा वढी १२५ देखि एक ५० सीसीकै मोडेलहरुका छन् । त्यस कारणले पनि ९८ प्रतिशत मोटरसाईकल १२५ देखि एक ५० सीसीकै विक्री हुने गरेका छन् । ‘दुई प्रतिशत बेचिने वाईकको कर घटाउने अनि ९८ प्रतिशत बिक्री हुने वाईकको कर वढाउने, यो त सिंर्धै सामान्य वर्गलाई पेलेको जस्तो भएको छ ।’ स्वेता टेडिंड कन्सर्नका सञ्चालक राजेश भण्डारीले भने– ‘सम्पन्न वर्गलाई राहत दिने, गरीब वर्गलाई अझ पेलेर कर वढाउने भनेको छ घुमारो पाराले कर वढाएको देखिएको छ ।’ 

मोटरसाईकलको बजारमा टिभिएस, सुजुकी मोटरसाईकलहरु पनि रहेका छन् । टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता वागेश्वरी अटोमोटिभ्सले एक बर्षमा झण्डै ८ सय वढी मोटरसाईकल बेच्दै आएको छ । यसका अधिकांश मोडेलहरु वढी तौल भएका हुने गरेका कारण यसका ब्रान्डहरु भने वढी नै सीसीका विक्री हुने गरेका छन् । १२५ देखि एक सय ५० सीसीकै मोडेलहरुका मोटरसाईकल ३० प्रतिशत विक्री हुने गरेको वागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेमसिंह साउँदले जानकारी दिए । ‘एक सय ५० सीसीका वाईकहरुको वढाएको थियो, त्यसमा घटाएको छ । यो निर्णय त राम्रो छ ।’ उनले भने– ‘कम सीसीका वाईकमा पनि घटाएको भए अझ मोटरसाईकल बाध्यता भएर चढ्नेहरुलाई सजिलो हुन्थ्यो ।’ 

धनगढीमा सुजुकी मोटरसाईकल पनि विक्री हुदैं आएको छ । सुजुकीका लागि आधिकारिक विक्रेता पश्चिम नेपाल सप्लायर्सका अनुसार सुजुकी मोटरसाईकल बर्षमा झण्डै तीन सयको संख्यामा बिक्री हुने गरेका छन् । त्यसमा झण्डै आधा भाग १२५ देखि एक सय ५० सीसीकै रहेको छ । सुजुकीका लागि आधिकारिक विक्रेता पश्चिम नेपाल सप्लायर्सका सञ्चालक महेन्द्र सिंह सवैभन्दा वढी बिक्री हुने मोटरसाईकलमै कर बढाएर बढी कर उठाउन खोजेको आरोप लगाउँछन् । सुदुरपश्चिम प्रदेश सरकारले भने मोटरसाईकलको करको दायरा घटाएको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोरा दुई किसिमका मोटरसाईकलमा फरक फरक रहेको करलाई एउटैमा समायोजना गर्दा वढी देखिएको तर्क गर्छन् । ‘एक सय २५ देखि एक सय ५० सीसीको मोटरसाईकल र एक सय ५० देखि दुई सय ५० सीसीको मोटरसाईकलको पहिले कर फरक फरक थियो । तर अहिले हामीले त्यसलाई एकै बनाएका हौं ।’ मन्त्री बोहराले भने– ‘एक सय २५ देखि ५० सम्मको ४ हजार थियो । एक सय ५० देखि दुई सय ५० सम्मको ८ हजार कर थियो । यसपाली हामीले दुवै सीसीका करलाई एकै बनायौं । समायोजन प्रक्रिया गर्दा एकमा पाँच सय वढेको देखिए पनि अर्कोमा तीन हजार पाँच सय घटेको पनि छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर