• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

नेकपालाई फुटबाट जोगाउन प्रचण्डको ‘अन्तिम कसरत’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक जारी रहेकैबेला अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका गतिबिधिले पार्टी तीब्र फुटको दिशातिर उन्मुख भएको छ । आफ्नो पक्षमा माहोल नदेखिने प्रष्ट भएर पटक–पटक स्थायी कमिटी सार्दै आएका ओली पछिल्लो पटक पार्टीको बैधानिक पासोमा परेका छन् ।

तर, उनले पार्टी पद्दती, सल्लाह, सहमति बिपरित् आफूखुशी राज्य शक्ति प्रयोग गरेर संवैधानिक अभ्यासलाई समेत ख्याल नगरी निर्णयहरु गर्दै गएका छन् । पछिल्लो तीन दिनमा प्रधानमन्त्री ओलीका अभिव्यक्ति, गतिबिधिले पार्टी फुटको संघारमा पुगेको देखिएको एकथरी नेताहरुले बताएका छन् ।

यद्यपी अहिले पार्टी विभाजनबाट कसैलाई फाइदा नहुने भएकाले एकता कायमका लागि पुनः सम्झौतामा जानुपर्ने ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका नेताहरुले पहलकदमी लिइरहेका छन् ।

शनिबारसम्म स्थायी कमिटी स्थगित गरिएको छ । बिहीवार दिनभर नेताहरुबीच छलफल भएका छन् । धेरै नेताहरुको तर्क छ, ‘अर्न्तविरोधको उच्चतम बिन्दु यही हो । अब, यसमा सहमति खोज्नुपर्छ । सबै पक्ष लचकता भएर मझदार बाटो रोज्नुको विकल्प छैन । नभए पार्टी विभाजनबाट कसैलाई फाइदा हुँदैन ।’

प्रधानमन्त्री ओलीका गतिबिधि जे जस्ता भए पनि प्रचण्डले अझै पार्टी एकताका लागि अन्तिम पटकसम्म पहलकदमी लिने भनिरहेका छन् । प्रचण्ड, वरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेब गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ पक्ष अहिलेसम्म एकताका निम्ति पहल गरिरहेका छन् ।

बिहीबार साँझसम्मको अवस्था रहिरहे फुटको संघारमा पुगेको एक नेताले बताए । पार्टी भित्रको आन्तरिक एकता बलियो हुन र अवस्थामा सुधार आउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिन तयार हुनुपर्ने ती नेताहरुको तर्क छ ।

‘प्रधानमन्त्रीज्यूले लगभग पार्टी फुटाउने मात्र हैन नयाँ दर्ता नै गरिसक्नुभएको छ । अध्यक्ष प्रचण्ड लगायतले पार्टी जोगिन्छ भने किन प्रयास नगर्ने भनेर बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने, प्रधानमन्त्री ओली निकटका नेताहरुलाई बोलाएर भेट्ने र स्थायी कमिटीको बैठक पनि शुक्रबार नराखिकन शनिबारका लागि तय गर्नु भएको हो’, स्थायी कमिटी एक सदस्यले समाचार दैनिकसँग भने ।  

प्रधानमन्त्री ओलीले पार्टी फुटाउन सजिलो हुने गरी यस अघि नै दल विभाजन सम्बन्धी अध्यादेश पुनः जारी गर्ने तयारी रहेको उनीहरुको दाबी छ । ती प्रयासका लागि बिहीवार प्रधानमन्त्रीले बजेट अधिवेशन समेत पार्टी सल्लाहबिना अन्त्य गरेका छन् ।

प्रधानमन्त्री ओलीले विवादित अध्यादेश पुनः जारी गरेर दल विभाजन गर्ने र सत्ता साझेदारीका लागि नेपाली काँग्रेससँग प्रस्ताव गरेको दावीसमेत गरेको ती नेताले गरे ।  

‘बुधबार राती नै प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा समक्ष नेकपा फुट्न लागेको जानकारी गराउँदै नयाँ सत्ता समीकरणका लागि प्रस्ताव गर्नुभएको रहेछ’, ती सदस्यले भने, ‘हिजो राति भएको २ घण्टा लामो छलफलमा प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेको र त्यो नभएमा देउवालाई समर्थन गर्न समेत सक्ने संकेत गर्नुभएको रहेछ ।’

निर्वाचन आयोगमा असार १५ गते दर्ता भएको नेकपा (एमाले) समेत प्रधानमन्त्री ओलीकै निर्देशनमा भएको उनले बताए । ‘प्रधानमन्त्रीज्यूका दाहाल थरका कानुनी सल्लाहाकार नै दल दर्ता प्रकृयामा संलग्न हुनुभएको छ । पार्टी अध्यक्ष प्रचण्डले संसदको अधिवेशन अन्त्य नगर्नुस् भन्दाभन्दै एकलौटी निर्णय गरेर अन्त्य गर्नुभएको छ । स्थायी कमिटीको बैठक बसिरहेको छ, त्यसलाई कुनै जानकारी दिनुभएको छैन । प्रधानमन्त्री निवासमै आफू पक्षका नेताहरुको भेला गर्नुभएको छ । पार्टीले गरेको बहुमतको निर्णय मान्दिन भन्ने सन्देश अध्यक्ष प्रचण्डलाई पठाउनु भएको छ । उहाँका यी सबै पार्टी फुटाईसकेको, घोषणा गर्न मात्र बाँकी रहेको देखिन्छ’, उनले भने ।

.........
सहमति खोज्ने प्रचण्डको प्रयास जारीः 

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले भने अन्तिम समयसम्म सहमति गरेर पार्टी विभाजन रोक्ने प्रयास गर्ने बताएका छन् । बिहीवार अपरान्ह राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा भईरहेका छलफल र पार्टीको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री एकलौटी रुपमा चल्न थालेको, पार्टी निर्णय नमानेको, पार्टीका बैठकमै आउन छोडेको, पार्टी एकताका लागि भएका सहमति कार्यान्वयन नगरेको, सरकार एकलौटी ढंगले चलाएका, पार्टीका नेताहरुलाई बदनाम गराउने अभिव्यक्ति दिएकाले समस्या आएको जानकारी गराएका थिए ।

अहिलेकै अवस्थामा ओलीलाई प्रधानमन्त्रीको जिम्मेवारीमा राखिरहँदा पार्टीको छवि, देश र जनताको अवस्था थप बिग्रने भएकाले राजीनामाको कुरा उठेको प्रचण्डले राष्ट्रपति समक्ष बताएका हुन् । 

बुधबार कै ताजा घटनालाई अघि सार्दै प्रचण्डले संसदको अधिवेशन अन्त्य गर्ने कुरा समेत पार्टीमा छलफल नभएको जानकारी राष्ट्रपति समक्ष राखेका थिए । अधिवेशन अन्त्यसँगै प्रधानमन्त्रीले अध्यादेशसमेत राष्ट्रपति समक्ष पेश गरेको हो कि भनेर प्रचण्डले जिज्ञासा राखेको प्रचण्ड निकट श्रोतले बतायो । राष्ट्रपति भण्डारीले आजै अध्यादेश नआएको बताइन ।

पार्टी फुट र एकतासँग जोडिएका विषयलाई प्रभाव पर्ने अध्यादेशहरुलाई हतार गरी निर्णयमा नपुग्न प्रचण्डले राष्ट्रपतिलाई आग्रह गरेका थिए । ‘सरकारका तर्फबाट आउने अध्यादेश वा अन्य प्रस्तावमा छलफल गर्ने वातावरण बनाउनुस् भनेर अध्यक्ष प्रचण्डले आग्रह गर्नुभएको छ’, दाहाल निकट श्रोतले भन्यो ।

........
प्रधानमन्त्री ओलीको तयारी

बुधवार बिहान खुमल्टारस्थित प्रचण्ड निवासमा प्रधानमन्त्री ओली निकटस्थ आधा दर्जन नेता पुगेका थिए । अध्यक्ष प्रचण्डसहितका केही प्रभावशाली नेताहरुको सहभागिता रहेको उक्त छलफलमा नेकपा संसदीय दलका उपनेता समेत रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुगेका थिए ।

पार्टीलाई फुटबाट जोगाउन खुमल्टारमा भएको छलफल सकारात्मक रहेको बैठकपछि उप–नेता नेम्वाङले बताए । छलफल सकारात्मक भएको छ, अब विकास हुने घटनाक्रम कसरी अघि बढ्छ त्यसमा भर पर्ने उनले बताए । 

सो बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने, पार्टी निर्णय मान्नुपर्ने, विगतका सहमति कार्यान्वयन गर्नुपर्ने कुरामा सबै नेता सहमत भएको र सोही अनुसार प्रधानमन्त्रीलाई पनि मनाउने भनेर नेताहरु फर्किएका थिए । 

तर, मध्यान्नसम्म आईपुग्दा बिहानको सम्झदारी पालना भएन । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेर, मन्त्रीहरु बैठकमा पुग्न पनि नभ्याउँदै बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेर राष्ट्रपति समक्ष सिफारिस गरिसकेका थिए । 

प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँगको वार्ता, संसद अधिवेशन अन्त्य, निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता जस्ता विषयले प्रधानमन्त्री ओली पछि हट्ने पक्षमा नरहेको व्यवहारमा देखिएको छ । 

उनी निकटस्थ नेता कृष्णगोपाल श्रेष्ठले भने– ‘प्रधानमन्त्रीलाई ह्युमिलेट गरेर, गलहत्याएको जस्तो बनाएर जसरी राजीनामा दिन भनिएको छ, कुनै हालतमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न । कसलाई के गर्न मन लाग्छ गरे हुन्छ । निर्वाचन आयोगमा पूर्व एमाले र पूर्वमाओवादी दुबैका नाम सुरक्षित हुने गरी मैले नेकपा दल दर्ता गरएको छु ।’ 

प्रधानमन्त्री ओलीलाई पार्टीले कारबाही गरेर निश्कासन गरेमा दर्ता भएको नयाँ दल मार्फत् अघि बढ्ने, सत्ताको साँचो नछोड्ने, प्रतिपक्षीसँगको सहकार्य, अध्यादेश, संकटकालीन अवस्थाको घोषणा, पार्टीले कारबाही गरे आफूले पनि पार्टीभित्रका विपक्षी नेताहरुलाई कारबाही गर्ने र मुद्दा अदालतमा धकेल्ने, संसदीय दलमा बहुमत पुर्याउन अर्को पक्षका दर्जनबढी सांसदलाई कारबाही गर्ने लगायतका योजनाहरु तय गरेका छन् । जुन कुरा उनले अध्यक्ष प्रचण्डसँगको भेटमा सुनाउने समेत गरेका छन् ।

.......
के गर्छ प्रचण्ड–नेपाल पक्ष ?

‘प्रचण्ड–नेपाल पक्ष पार्टी कुनै हालतमा नफुटोस् भन्ने पक्षमा छ । प्रधानमन्त्री ओलीको भर छैन, उनले केही समय घुक्र्याउने, धम्काउने, गलाउने र नसके आफैं पछि हट्ने योजना ओलीको हुन सक्छ’, स्थायी कमिटी सदस्य राम कार्कीले समाचार दैनिकसँग भने, ‘केही नलागेपछि पछि हट्ने उनको पुरानो बानी हो ।’

तर, ओली निकटस्थहरु यसपाली त्यस्तो नहुने दावी गर्छन् । श्रृंखलाबद्ध रुपमा प्रधानमन्त्रीले यो परिस्थितिको कसरी सामना गर्ने भनेर योजना बनाएको उनीहरु बताउँछन् । 

प्रधानमन्त्री ओलीले चाल्न सक्ने त्यस्ता अप्रिय कदमले नेकपा फुट मात्र हैन राजनीतिक व्यवस्था माथि नै प्रश्न उठाउनेहरुका लागि खेल्न मैदान मिल्ने छ । यसतर्फ अध्यक्ष प्रचण्ड सचेत रहेको र शुक्रबार दिनभरी सहमतिको प्रयास गर्ने, स्थायी कमिटीले गरेको निर्णय प्रधानमन्त्रीले मान्ने अवस्था सृजना भएमा पार्टी एकता पनि जोगिने ठहर प्रचण्डको छ ।

कुनै अप्रिय अवस्था आएमा नेकपा मात्र नभई सिंगो देश र जनताको पक्षमा धोका हुने, व्यवस्था माथि नै प्रश्न उठाउनेहरुले ठाँउ पाउने भएकाले प्रचण्डको प्रयास सकेसम्म सहमति गर्ने रहेको छ, उनको सचिवालयको भनाई छ ।

.......
काँग्रेसले ओलीलाई साथ दिन सक्दैन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस समक्ष सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव गरे पनि त्यस्तो संभावना नरहनेको सो पार्टीका नेताहरु बताउँछन् ।

‘शेरबहादुर देउवा एक्लैको पार्टी होईन । यो निर्णय उनले पार्टीमा गराउनु पर्छ, काँग्रेस कुनै पनि हालतमा ओलीलाई साथ दिने निर्णय गर्न सक्दैन’, नेता अमरेश कुमार सिंहले भने । प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने मात्र हैन ओलीले नै देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको अवस्थामा भने बदलाव आउन सक्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर