• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रचण्डको ‘अपमानित’ दुई वर्ष

पार्टी एकता ओली र प्रचण्डले नै गरेका हुन । एकता निश्चित सहमति, सम्झौता र त्यसको कार्यन्वयनका आधारमा दिगो हुने हो । तर, प्रधानमन्त्री ओलीप्रति प्रचण्ड जति उदार भए त्यति परिणाम नपाउँदा उनमा ‘अपमानितवोध’ हुनु स्वभाविक हो । 

काठमाडौं । चुनावी तालमेलको परिणामबाट दुई तिहाई नजिक पुगेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता हुने घोषणा भयो । २०७५ जेठ २ गते पाँच बुँदे सहमतिसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भयो र पार्टीमा अध्यक्ष दुई रहने व्यवस्था गरियो ।

उम्मेदवारी बाँडफाँडमा ६०/४० को अनुपातलाई आधार मानिएको थियो । एमाले ६० र माओवादी केन्द्र ४० । निर्वाचन परिणाम त्यही आकारमा आएन । यद्यपि परिणाम नजिक पुग्यो । एमालेको बढि आयो माओवादी केन्द्रमा केही ह्रास आयो ।

२०७५ जेठ २ गतेको पाँच बुँदे सहमतिमा अध्यक्ष, सरकार सञ्चालन दुवै आधा–आधा भनि सहमति भएको थियोे । तर, सरकारको नेतृत्व र अध्यक्षका अधिकारमा ओली सर्वेसवा देखिए । जसबाट प्रचण्ड पटक–पटक झस्किए ।

सिद्धान्त, विचार, मार्गदर्शक आदर्शमा यतिबेला नेकपामा विवाद देखिन्न । केवल विवाद छ भने प्रधानमन्त्री तथा अध्यक्ष ओलीका कार्यशैली, सरकारका अलोकप्रिय निर्णय, शिर्ष नेताहरुप्रति अपमानित गर्ने तौरतरिका नै मुख्य कारक बनेका छन् ।

६०/४० कै आधारमा पार्टी केन्द्रदेखि स्थानीय तहसम्म एकता प्रक्रिया टुंगो लगाउने काम भयो । जुन मनोविज्ञानमा आधारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्वयको मर्यादाक्रम निर्धारण गरिए जस्तो भयो । ६० प्रतिशतका नेता ओली पहिलो र ४० नेता प्रचण्ड दोस्रो भन्ने जुन शैली अप्नाइयो, यसले पार्टी एकताको मजबुद बनाउने काम भएन ।

तेस्रो मर्यादामा को रहने भन्ने विषयमा माधव कुमार नेपाल र झलनाथ खनालमा समेत मतभेद देखियो । मतभेदकै कारण खनालले आफू अपमानि भएको भनि पटक–पटक सार्वजनिक रुपमै अभिव्यक्ति दिए । 

.......
जो प्रचण्ड थिए...

नेपाली वामपन्थी आन्दोलनमा स्थापानकालदेखि रहेको सशस्त्र संघर्षको धारलाई व्यवहारमा ह्वात्तै लाने आँट लिएका प्रचण्ड । नेपाली राजनीतिक केन्द्रमा २५ वर्षदेखि निरन्तर रहे । सशस्त्र संघर्षमा भएका अनेकौं आक्रमण, वार्ता, युद्धविराम, फुट, एकता हिंसात्मक गतिबिधिले प्रचण्ड सधैं राजनीतिक केन्द्रमा हुन सफल भए ।

उनको संघर्षकै परिणाम गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत बन्ने अवसर पाए प्रचण्डले । अघिल्लो पुस्ताका राजनीतिज्ञ गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौताको हस्ताक्षरकर्तादेखि संविधान जारी गर्ने बेला सुशील कोइरालासँगसमेत राजनीतिक सम्झौताका मुख्य भूमिकमा रहे उनी । जब, उनी नेकपाको अध्यक्ष बने त्योबेलादेखि उनको राजनीतिक ‘रवाफ’ दोस्रो दर्जाका रुपमा स्थापित हुने देखिन शुरु भयो । प्रचण्डका यो २ वर्ष राजनीतिक केन्द्रको साक्षी जस्तो हुनेमा केन्द्रित हुन थाले । 

२०४२ देखि नेकपा (मशाल) गठनसँगै युवावस्थाबाट नेतृत्व लिएका प्रचण्डको २०४६ देखि निरन्तर एकल नेतृत्वमा रहे २०७५ सम्म । संसदीय व्यवस्थाको ठूलो दलका नेता बन्ने क्रममा नेकपाभित्र उनी दोस्रो र दुई अध्यक्ष रहने प्रणालीमा पसे । त्यही दिनदेखि प्रचण्ड, प्रचण्ड रहेनन् खुम्चिदै गए । 

२०४४ सालदेखि २०४८ सम्म नेकपा (मशाल)को महामन्त्री । २०४८ मा गठित नेकपा (एकताकेन्द्र)को महामन्त्री । २०५१ मा गठित नेकपा (माओवादी) महामन्त्री । २०५१ मा जुन दिनदेखि नेकपा (माओवादी) गठन भयो त्यसको महामन्त्री प्रचण्डलाई स्थापित बनाउने एउटा कोशेढुंगा साबित बन्यो । जसले २१औं शताब्दीमा वर्ग संघर्षका नाममा ‘माओवादी’ सशस्त्र संघर्ष र प्रचण्डको कमाण्डले विश्वको ध्यानकेन्द्रित बनायो । 

उनकै नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सशस्त्र संघर्ष शुरु भयो । प्रचण्ड २०५७ बाट माओवादीको अध्यक्ष र सुप्रिम कमाण्डर बने । स–साना कम्युनिस्ट गुटहरुलाई मिलाउँदै प्रचण्ड २०७५ जेठ १ गतेसम्म अध्यक्ष नै बने । त्यसबीचमा २०६५ मा पहिलो संविधानसभाको ठूलो दलबाट गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री र २०७३ मा दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भए प्रचण्ड ।

सधैं नेतृत्वमा देखिने । स्थापित एजेन्डा प्रचण्डकै रहने । तर, जसलाई स्थापित बनायो, जुन एजेन्डा स्थापित गरायो त्यसको जस कहिल्यै नपाउने प्रचण्डको राजनीतिक जीवनको सर्वाधिक देखिएका उदाहरणहरु हुन । अबका दिन कस्तो रहन्छ ? प्रचण्डको यो निरन्तर कसरतको परिणामले निर्धारण गर्नेछ ।

..........
‘अपमानित प्रचण्ड’

२०७५ जेठ २ गतेको सहमति बमोजिम दुवै अध्यक्षको सरकार नेतृत्व आधा–आधामा सहमति भएको थियो । तर, प्रधानमन्त्री ओलीले प्रचण्डसँग भएको सहमतिलाई नमान्ने अभिव्यक्ति दिन शुरु गरे । उनले पाँचै वर्ष प्रधानमन्त्री चलाउनु पर्ने अडान राखे । 

जुन दिनदेखि प्रचण्डलाई मर्यादाक्रमसँगै व्यवहारमा समेत दोस्रो दर्जाको व्यवहार गरियो प्रचण्ड झस्किए । पार्टी एकताका बाँकी प्रक्रिया लम्बिदै गयो । कार्यकर्तामा एकताको भावाना नजाग्ने, नेता तथा कार्यकर्ता कामविहिन बने । सरकारका सबै कामकार्य अलोकप्रिय, राजकीय सत्तामा एकलौटी गुटका आधारमा सञ्चालन भएपछि प्रचण्ड झन् झस्किए ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सहमति भएका बुँदा अक्षरस पालन त गरेनन् नै सरकार सञ्चालनमा पार्टीमा सल्लाह नै गर्न छोडे । पूर्व एमाले तर्फका नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेब गौतमलाई त झन् ओलीले पुरै बेवास्ता गरे ।

प्रचण्ड आफू भूमिकाबिहिन भएको गुनासो गरेपछि २०७६ मंसिर ४ गतेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दियो । प्रचण्डले पार्टी चलाउने र ओली ५ वर्ष नै प्रधानमन्त्री बन्ने सहमतिमा प्रचण्डले आधा–आधा सरकार नेतृत्व गर्ने सहमतिलाई त्यागे ।

कार्यकारीको हैसियतमा दाहालले एउटा सचिावलय बैठक गरेर नेताहरुको केही जिम्मेवारी बाँडफाँड गरे । तर, ओलीले आफू निकट नेता तथा कार्यकर्तालाई त्यो मान्य नहुने भनेर उर्दी जारी गरे । ओली निकट सचिवालय सदस्य प्रचण्डको अध्यक्षतामा बस्ने बैठकमै उपस्थित भएनन् र उनको अपमान गर्ने कार्य थालनी भयो ।

कार्यकारी दिएको भनि प्रचण्डलाई प्रधानमन्त्री निवास बालुवाटारमा ओली समानकै कुुर्सीमा दाँयाबाँया राख्ने व्यवस्था पनि गरियो । जसले दुवै जनाको हैसियत बराबर हो भनि देखाउनु थियो । केही समय त्यो क्रम जारी रह्यो । तर, अर्को बैठकमा फेरि कुर्सी राख्न छोडियो ।

गत बैशाखको सचिवालय बैठकमा पुनः प्रचण्डलाई रातो कभर राखेर ओलीकै लाइनमा राख्न शुरु गरियो । जसबाट के देखिन्छ भने पार्टी एकतापछि प्रचण्ड पटक–पटक ‘अपमानित’ भएको महशुस गरेका छन् । कहिले कुर्सी एउटै लाइनमा राखिन्छ, कहिले हटाउने, सधैं सहमति कार्यन्वयन नहुने जस्ता कार्यले अहिले अन्र्तविरोध उच्चतम बिन्दुमा पुगेको छ ।

पार्टी एकता ओली र प्रचण्डले नै गरेका हुन । एकता निश्चित सहमति, सम्झौता र त्यसको कार्यन्वयनका आधारमा दिगो हुने हो । तर, प्रधानमन्त्री ओलीप्रति प्रचण्ड जति उदार भए त्यति परिणाम नपाउँदा उनमा ‘अपमानितवोध’ हुनु स्वभाविक हो । 

यतिबेला प्रचण्डलाई पूर्व एमाले पंक्ति अर्थात् समूहबाट सहयोग भएको छ । यो हुनुमा ओलीलाई उनीहरुले नजिकबाट चिनेकै कारण हो । राजनीतिमा क्रमभंग गर्न सक्ने, कुनै पनि अन्र्तविरोधलाई अन्तिम विन्दुमा पुर्याउने र ‘बोल्ड डिसिजन’ गर्न सक्ने सामथ्र्य प्रचण्डमा छ ।

अन्ततः पार्टीलाई अन्तिम समयसम्म फुटबाट बचाउनुपर्छ भन्नेमै प्रचण्डको जोड् छ । जुन कार्यले इतिहास रच्ने छ । यसका लागि सम्पूर्ण नेकपाका नेता तथा कार्यकर्ताले गुट मात्रै नहेरी मुलुकको भविष्यसँगै आफ्नो भविष्य हेरेर ‘एकीककृत नेकपा जिन्दावाद’ भन्ने भावनामा जानुको विकल्प छैन । जसबाट पार्टी फुटबाट बचोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर