• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोराना कहरमा ‘मृत्युको अघिल्तिर’ 

जन्म र मृत्यु निश्चित छ, अरु सब अनिश्चित । तर हरेक मानिस मृत्युप्रति लगभग बेखरजस्तै बनेर बाँचिदिन्छ । त्यसो त पलपलमा मृत्युको भय लिएर बाँच्न पनि सकिदैन । तर मृत्युको भयबाट ग्रसित भएर होइन मृत्युको सत्यसंग आत्मसाथ गरेर जिउन कवि मणि लोहनीले सुझाएका छन् आफ्नो पछिल्लो कविता कृति – ‘मृत्युको अघिल्तिर’मा ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले सर्वत्र त्रास र भय छ । कोरोना भाइरस अर्थात कोभिड १९ का कारण सारा विश्व प्रताडित छ । यसले कहाँ कसरी रोगको सिकार भइने हो कुनै टुंगो छैन । सावधानी अपनाउन खोज्दाखोज्दै पनि जीवन जिउने उपक्रमका कारण हरेक मानिस जोखिममा छ यतिखेर । विश्वभर महामारीका रुपमा फैलिएको यस भाइरसका कारण मृत्युको भयले मानव समुदाय त्रसित छ । यस्तो बेला म पढिरहेकी छु – ‘मृत्युको अघिल्तिर’ । 

डर भनौं की अनौठो ? कितावको नाम सुन्दै कस्तोकस्तो हुने ! मृत्युको भय भनौं की शाश्वत मृत्युको आहत भनौं । तर कविताको यो किताव मेरो हातमा पर्दा मलाई  भिन्न अनुभूति भयो । जीवनलाई सजिलोसंग स्वीकार्न सकियो भने मृत्युको डर कम हुने रहेछ भन्ने लाग्यो । या यसरी भनौं मृत्युको सत्यलाई नभुल्ने हो भने जीवन यति प्रताडित हुदैन जति आजकालका अधिकांश मानिसलाई हुने गरेको छ । यो मेरो अनुभव मृत्युको अघिल्तिर पढ्ने जो कोहीलाई पनि हुने छ । 

मसिना र छोटा कविताहरुको यस कितावमा मृत्युको डरभन्दा बढि जीवनको उज्यालो भेटिन्छ । जीवन जिउने क्रममा मानिसले भुलिरहेका कयौं सत्यहरुसंग आत्मसात गरिन्छ । कविताका माध्यमबाट जीवन जीउने कलासंग साक्षात्कार भइन्छ । मृत्युका कुरा गरेर कवि मणि लोहनीले जीवनका गीत गाएका छन् । 

जन्म र मृत्यु निश्चित छ, अरु सब अनिश्चित । तर हरेक मानिस मृत्युप्रति लगभग बेखरजस्तै बनेर बाँचिदिन्छ । त्यसो त पलपलमा मृत्युको भय लिएर बाँच्न पनि सकिदैन । तर मृत्युको भयबाट ग्रसित भएर होइन मृत्युको सत्यसंग आत्मसाथ गरेर जिउन कवि मणि लोहनीले सुझाएका छन् आफ्नो पछिल्लो कविता कृति – ‘मृत्युको अघिल्तिर’मा । 

नेपाली कविताको क्षेत्रमा मणि लोहनी नयाँ नाम होइन । तीन वटा कविता संग्रहले उनलाई स्थापित गरिसकेको छ । छोटा र गंभीर कविताका कारण उनी नेपाली कविताका क्षेत्रमा परिचित छन् । उनका कविताहरु सरल र मनलाई झंकार दिने खालका हुन्छन् । नयाँ कवितासंग्रह ‘मृत्युको अघिल्तिर’ उनले आफ्ना पुराना परिचय र विशेषतालाई कायमै राख्दै मृत्युमाथिको चिन्तनलाई विशेष जोड दिएको देखिन्छ । आफ्ना मसिना साना कविताका माध्यमबाट उनले जीवनका सत्यहरुलाई उजागर गरेका छन् । उनी कवितामार्फत पाठकको मन र मष्तिष्कमा प्रवेश गर्छन् र सजिलोसंग जीवन जगतका सांसारिकताबाट पाठकलाई आध्यात्मको गहिराईमा डुवाउँछन् । उनी कुनै अमुक जात वा धर्मको पक्षमा छैनन् । समग्र चराचर जगतको हितमा रहेर उनको सृजनशीलता अघि बढेको छ । 

नभएको भए मानिस 
कहाँ हुन्थे होलान् ईश्वरहरु !
म सोचिरहेछु, 
मानिस आफु चोइटिएर जोगाइरहेछ इश्वर 
नभएको भए मानिस 
के संभव छ ईश्वरको अस्थित्व ? 
‘धर्मध्वनी’ पेज नं. ८७ 

अवश्यभांवी मृत्युलाई नदेखेझै गरेर होइन, यसको सत्यलाई स्वीकारे अघि बढ्न यस संग्रहभित्रका कविताहरुले प्रेरित गर्छन् । देशका नाममा, प्रेमको लय र जीवनको उज्यालो गरेर तीन खण्डमा विभाजन गरिएका ३२ वटै कविता समग्र जीवनको चिन्तन र जीवनको श्वाशत आवाजमा केन्द्रीत छन् । मानिस मानिसका सम्वन्ध, उनीहरुले देख्ने सपना र त्यसको प्राप्तिका लागि राज्यले गरेको असयोगप्रति कवि मणि लोहनी आक्रामक छन् । उनी कवितामा राज्यसंग अधिकारका लागि विद्रोह गर्छन् । समग्र देशको नेतृत्व गर्नेले आम मानिसका पक्षमा बोल्नुपर्ने र उनीहरुका खुशी र सपनाका लागि प्रतिवद्ध रहनु पर्ने उनको जिकिर छ । 

संग्रहमा रहेका ‘अँध्यारोका विरुद्धमा’, ‘सम्वन्धको पाठशाला’, ‘जीवनको रित’, ‘दर्शन ढुंगा’, ‘मृत्युको अघिल्तिर’, ‘प्रेमशास्त्र’, ‘धर्मध्वनि’, ‘इच्छामृत्यु’ यी संग्रहका सर्वोत्कृष्ट कविताहरु हुन् । त्यसो त हरेक कविता पठनीय र सुन्दर छन् । केही कविताले राजनीतिक विसंगतिमाथि प्रहार गरेका छन् भने केहीले प्रेम र जीवनको उज्यालोलाई मुखरित गरेका छन् । त्यसो त संग्रहका अघिकांश कविताले जीवनको शक्ति र शौन्दर्य देखाउन मृत्युको चिन्तन गरेका छन् । 

लाग्छ कविता लेखेकै कारण मारिनेछु म 
प्रेम गरेकै कारण रोकिनेछ मुटुको चाल 
सोच्नु काफी छ, 
यस्तै केही सोच्दासोच्दै एक दिन मारिनेछु म
जसरी मारिन्छन् मानिसहरु । 
‘मृत्युको अघिल्तिर’ पेज नं. ७६

कविताले मानिसका सपनाहरुको मात्र होइन सिंगो जीवनको सम्मान गर्नुपर्छ भन्ने ठम्याईका साथ मणि लोहनी कविता लेखिरहेका छन् । उनी जीवनलाई प्रेम गर्छन् । जीवन जिउने क्रममा मानिसले गर्ने संघर्षलाई उनी प्रेम गर्छन् । हरेक मानिसले बाँच्नका लागि गरेको संघर्षमा सौन्दर्य भेटने उनी जीवनको हरेक पक्षमा एकसाथ हुर्किरहेको मृत्युलाई नभुल्न आग्रह पनि गर्छन् । मृत्यु कवि लोहनीको चाह होइन तर मृत्यु अनिवार्य सत्य हो भन्ने मानिसहरुले भुलिरहेकोमा उनी चिन्तित छन् । मृत्युको सम्मुख रहेर पनि मानिस किन यति धेरै लोभिपापी छ भनेर उनी हैरान छन् । मणि चाहान्छन्, हरेक मानिसलाई मृत्युको श्वाशत सत्यको जानकारी हुन आवश्यक छ । मृत्युको अघिल्तिर उभिएर मानिस किन अरुमाथि अन्याय गर्न उद्धत छ ? हरकोही आफ्नो दुनो सोझ्याउन व्यस्त छन् । 

हैरान र भयभीत छन् मानिसहरु 
सम्वन्धको गहिरो घाउ छ सबैसंग
नयाँनयाँ आविस्कारसंगै बढ्दै गएको दुःखको आकार 
‘डिलिट दुःख’ पेज नं. ९१

कथा र निवन्धको क्षेत्रमा पनि सक्रिय मणिले १५ वर्षअघि ‘मलामी साँझ’ कविता कृतिसंगै नेपाली कविताको क्षेत्रमा जब्बर उपस्थिति देखाएका थिए । अहिले यस कवितासंग्रहमार्फत उनले आफ्नो समयको आवाजलाई मुखरित गरेका छन् । देश, जनता र राज्यका विसंगतिका कुराहरु गर्दै उनले जीवन, प्रेम र मृत्युको श्वाशत कुरा गरेका छन् । उनले आफ्ना कवितामा हरेक मानिसले देख्ने सपना र त्यस सपनाका लागि गरेका संघर्षहरुलाई लेखेका छन् । हरेक मानिस संग्लो र सक्षम भएको हेर्ने अभिलाषामा उनका कविताहरु लेखिएका छन् । 

‘मृत्युको अघिल्तिर’ साहित्यिक बजारमा पठनीय कृतिका रुपमा आएको छ । यसले कविता पढ्न रुचाउने पाठकहरुलाई कविताको आनन्दमात्र दिदैन कविताले झंकृत भएको मन र मष्तिष्कले समग्र जीवनको उज्यालोलाई महशुश गर्न वाध्य पार्छ । अझ कोभिड १९ बाट प्रताडित यो पछिल्लो अवस्थामा मानिसले आफ्नै जीवन शैलीमा रुपान्तरण खोजिरहेको बेला यो संग्रहले उठाएको जीवनप्रतिको धारणा धेरैका लागि प्रिय र अनुकरणीय बन्ने निश्चित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर