• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने–‘पार्टी लगभग फुट्यो, तपाईंहरु कता हो कित्ता क्लिएर गर्नुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कित्ता क्लिएर गर्न मन्त्रीहरुलाई चुनौतिका रुपमा निर्देशन दिएका छन् । बालुवाटारमा शनिबार साँझ आफ्नो मन्त्रिपरिषदका मन्त्री तथा राज्यमन्त्रीलाई बोलाएर प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

नेकपा फुटको संघारमा पुगेको र एकताका लागि अझै प्रयास भने जारी राख्ने उनले बताउँदै कित्ता क्लिएर गर्न निर्देशन दिएका थिए । 

‘मैले अब बाइ स्टेप, बाइ फोर्स कदम चाल्दै छु । तपाईंहरु कता लाग्ने हो ? कित्ता क्लिएर गर्नुहोस्‘, प्रधानमन्त्रीको भनाई उद्धिृत गर्दैै एक मन्त्रीले समाचार दैनिकसँग भने । 

पार्टी एकता चरम सङ्कटमा परेको अर्थ लगाउदै प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा समेत आफुलाई तल्लो स्तरमा झरेर अपमानित ढंगले गालिगलौज गरिएको गुनासो गरे । 'यो षडयन्त्र हो, म यस्ता षडयन्त्रपूर्ण तरिकाले भएका स्थाय कमिटीका कुनै निर्णय मान्दिन । तपाईंहरू मन्त्रिपरिषद् सदस्य मात्रै होइन । पार्टी कमिटी सदस्य पनि हो । कता लाग्ने क्लियर गर्नुस ।'

साँझ साढे ७ बजेदेखिको बैठकमा झण्डै आधा घन्टा बोलेका प्रधानमन्त्री ओलीले अर्को बैठकमा आउँदा आफ्नो निर्णय लिएर आउन मन्त्रीहरुलाई अल्टिमेटम दिएको स्रोतले समाचार दैनिकलाई बताएको छ । 

उनले पार्टी फुट्न लागेकोबारे मन्त्रीहरुसँग गुनासो गरेका थिए । यस विषयमा मन्त्री तथा राज्यमन्त्रीहरूसँग परामर्श गर्दै उनले सुझाव समेत मागेको सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीले समाचार दैनिकलाइ जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पार्टी स्थायी कमिटीमा एजेण्डा नै नभएका विषयमा छलफल भएको र आफुलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट अपमानजनक ढंगले हटाउन खोजिएको गुनासो गरे । त्यस्तो अवस्था आउन नदिने अडान राख्दै प्रधानमन्त्री ओलीले भनेको कुरा उदृत गर्दै एक मन्त्रीले भने, ‘म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ । त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ । पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ 

देश र पार्टीलाई दुर्घटनाबाट बचाउने आफ्नो प्रयास अन्तिमसम्म रही रहने र अहिले पनि त्यसैका लागि लागिरहेको उनले दोहोर्याएका थिए ।  ‘जुन साथीलाई म मन पर्छु, त्यो साथीले मलाई साथ दिनुहोला, जुन साथीलाई म मनपर्दैन साथ नदिनुहोला,’ प्रधानमन्त्रीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले अहिले आफुले सरकारको नेतृत्व छाड्दा राष्ट्रियता समेत कमजोर हुने दावी गरेका छन् । एक मन्त्रीका अनुसार राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको रक्षा हुने ज्ञरेण्टी भएमा आफुले राजिनामा दिने बताए । 

प्रधानमन्त्री ओलीले बोलिसकेपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापामगर पार्टीलाई फुटबाट जोगाउन आग्रह गरेका थिए । 

सत्तारुढ दल नेकपाभित्र पछिल्लो समय विवाद चर्किरहेको बेला मन्त्रीहरुलाई ओलीले त्यस्तो निर्देशन दिएका छन् । १० असारदेखि जारी पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भइरहेको छ । सरकार संचालनमा एकलौटी भएको, पार्टीका गतिविधिहरुमा ध्यान नगएको, पार्टी फुटाउन उद्दत भएको भन्दै पार्टी भित्रकै शीर्ष नेताहरुले उनलाई राजीनामाका लागि भनेका थिए । 

पार्टीभित्रबाटै राजीनामा माग भएपछि उनले परिस्थिति जटिल बनेको भन्दै आफ्ना सरकारका मन्त्रीहरुलाई बोलाएर संकटको समाधान गर्नेगरी अघि बढ्न भनेका हुन् । 

यसअघि प्रधानमन्त्री ओलीले केहीबेर अघिमात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग  झण्डै २ घण्टा छलफल गरेर आएका थिए । राष्ट्रपतिसँग उनले पछिल्लो एक हप्तामा ३ पटक भेट गरिसकेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर