अल्ट्रासाउण्ड खरिदमा महालेखाको प्रतिवेदन : स्वास्थ्य निर्देशकद्वारा नियम विपरित स्पेसिफिकेशन संशोधन 

धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले अल्ट्रासाउण्ड मेसिन खरीद गर्दा प्रदेश सचिवबाट स्वीकृत भएको स्पेसिफिकेसन स्वास्थ्य निर्देशकले संशोधन गरेको खुलेको छ ।

स्पेसिफिकेसन संशोधनसंगै अल्ट्रासाउण्ड मेसीन खरीद गर्दा पटक पटक खरीद ऐन बिपरित काम भएको महालेखाले ठहर गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो ५७ औं बार्षिक प्रतिवेदनमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले खरीद ऐनको नियम बिपरित स्पेसिफिकेसन संशोधन गरेको जनाएको छ ।

आर्थिक बर्ष २०७५÷०७६ मा ८८ थान अल्ट्रासाउण्ड मेसीन खरीद गर्दा स्वदेशी आपूर्तिकर्ताहरुबाट दररेट माग गरी सामाजिक विकास मन्त्रालयका तत्कालीन प्रदेश सचिव गोगन बहादुर हमालले स्वीकृत गरेको स्पेसिफिकेसन प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले संशोधन गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयका प्रदेश सचिव हमालले २०७५ फागुनमा स्वीकृत गरेको स्पेसिफिकेसन निर्देशक डा.अवस्थीले २०७६ जेठ २४ गते संशेधन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले माथिल्लो निकायबाट स्वीकृत भएको स्पेसिफिकेसन तल्लो निकायले संशोधन गर्ने बिषय खरीद ऐनको नियम बिपरित रहेको समेत ठहर गरेको छ । बोलपत्रको प्रक्रिया शुरु भइसकेपछि स्वदेशी बोलपत्रदाता हस्पिटेक प्रालिको आग्रहमा प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थीले नियम बिपरित स्पेसिफिकेसन संशोधन गरेको प्रतिवेदनमा उल्लेख छ ।

सोही संशोधित स्फेसिफिकेसनका आधारमा हस्पिटेक प्रालिले नै निर्देशनालयलाई ८८ थान अल्ट्रासाउण्ड मेसीन आपुर्ति गरेको थियो । मन्त्रालयले समेत अन्तरराष्ट्रिय आपूर्तिकर्तासित समेत दरभाउ बुझेर स्पेसिफिकेसन बनाउनु पर्नेमा त्यसो नगरी स्वदेशी आपुर्तिकर्ताहरुबाट मात्रै दरभाउ बुझेर स्पेसिफिकेसन बनाउने गल्ति गरेको प्रतिदेनले औंल्याएको छ । 

सम्झौतामा अल्ट्रासाउण्ड मेसीन संयुक्त राज्य अमेरिकामा बनेको हुनु पर्ने उल्लेख छ । यसका आधारमा अमेकिरन कम्पनीकै बिल बिजक अनुसार आपूर्तिकर्ताले प्रतितपत्र खोल्नु पर्ने हुन्छ । तर निर्देशनालयले प्लाज्मा कर्पोरेसन हङकङले जारी गरेको बिजकका आधारमा आपुर्तिकर्तालाई प्रतितपत्र खोल्न दिएको छ ।

सार्वजनिक खरीद ऐनको नियम ११ अनुसार लागत अनुमान गर्नु पर्नेमा निर्देशनालयले लागत अनुमान गर्दा नियम ११ मिचेको समेत महालेखाको प्रतिवेदनमा उल्लेख छ । खरीद ऐनको नियम ११ मा नेपालमा उत्पादन नहुने सामान आयात गर्दा लागत अनुमानका लागि स्वदेशी र विदेशी आपुर्तिकर्तासित दररेट मागेर मात्र गर्नुपर्ने उल्लेख छ । तर निर्देशनालयले स्वदेशी आपुर्तिकर्तासित मात्रै दररेट मागेको छ ।

सामान आपुर्तिका लागि निर्देशनालयले आपुर्तिकर्ता हस्पिटेक प्रालिलाई सम्झौता गरे भन्दा बढी रकम पेश्की दिएको पनि पाइएको छ । महालेखाको प्रतिवेदन अनुसार निर्देशनालयले आपुर्तिकर्तालाई दिएको पेश्की सम्झौता रकम भन्दा २१ लाख २३ हजार बढी छ । निर्देशनालयले अल्ट्रासाउण्ड मेसीन आपुर्तिका लागि ११ करोड ४५ लाख १९ हजारमा सम्झौता गरेकोमा पेश्की मात्रै ११ करोड ६६ लाख ४२ हजार उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर