• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जब उपमहानगरको मूल ढोकामै युवाहरुले फोहोरको डंगुर थुपारे [फोटोफिचर]

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले नगरको सफाईमा ध्यान पुर्याउन नसकेको भन्दै युवाहरुले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन् । 

विगत एक महिनादेखि फोहोर नउठेका कारण नगर नै दुर्गन्धित हुन थालेपछि युवाहरुले नगर भित्रको फोहोरको डंगुरहरु उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका हुन् । युवाहरुले जनकपुरधामको रामानन्द चोक, जानकी चोक, जानकी मन्दिर, राजदेवी मन्दिर लगायतको स्थानबाट फोहोर जम्मा गरी ट्रैक्टरमा राखेर उपमहानगरको मूल ढोकामा थुपारेका थिए । 

फोहोर जम्मा गरेर उपमहानगरको मूल ढोकामा थुपार्न पुगेका युवाहरुले ‘जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख–उपप्रमुख मुर्दावाद ! भ्रष्ट मेयर मुर्दावाद ! उपप्रमुख गैर जिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता ले !’ लगायतका नारा समेत लगाएका थिए ।

केही दिन अगाडी मात्रै जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता मिश्रले एक टेलिभिजनमा जनकपुरधामकै स्थानीय फोहोर फाल्न नदिएको र केही व्यक्ति नगरपालिकालाई असफल बनाउने प्रयास गरिरहेको अभिव्यक्ति दिएकी थिइन् । 

फोहोरको डंगुर सहित पुगेका युवा अभियन्ता सरोज मिश्रले उपमहानगरले फोहोर व्यवस्थापनको नाममा प्रत्येक वर्ष करोडौँको रकम खर्चने गरेको छ तर नगर अहिले पनि सफा हुन नसक्नु दुःखद रहेको बताए । उनले फोहोर सफा गर्ने नाउँमा खर्च गरिएको बजेट कहाँ जान्छ ? भन्दै प्रश्न गरे ।

उनले भने ‘ नगरको जनप्रतिनिधिहरु नेतृत्वमा पुगेको ४ वर्ष पुगी सकेको छ तर अहिलेसम्म लैण्ड फिल्ड साइटको निक्र्यौल लगाउन नसक्नु उपमहानगरको असक्षमता देखाई रहेको छ ।’ उपमहानगरलाई घचघचाउनकै लागि आफूहरु फोहोरको डंगुर उपमहानगरको मूल ढोकामा थुपार्न बाध्य भएको मिश्रले बताए । 

अर्का अभियन्ता सुशिल कर्णले आफै फोहोर सफाईमा ध्यान नदिन सक्ने उपप्रमुखले जनकपुरधामको स्थानीयलाई बदनाम बनाउने प्रकारको अभिव्यक्ति दिनु निन्दनीय रहेको बताए । उनले उपप्रमुख रिता मिश्रलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन माग गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर