पर्वतमा कारागार भत्केपछि कैदी महिलालाई अन्य जिल्ला सारियो

पर्वत । विगत तीन दिनदेखिको अविरल वर्षाका कारण पर्वत जिल्ला कारागारको भवन र पर्खाल भत्किएको छ । वर्षाका कारण कारागारको महिला बन्दीगृहतर्फको मुख्य पर्खाल र भवनको केही भाग भत्किएको हो । गएराति पर्खाल भत्किएको कारागारले जनाएको छ ।
 
पर्खाल भत्किएपछि महिला बन्दीगृहमा रहेका बन्दी महिलालाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी सारिएको छ । महिला बन्दीगृहमा सात बन्दी रहेका थिए । उनीहरुमध्ये पाँच जनालाई बागलुङ र दुई जनालाई म्याग्दी जिल्ला कारागारमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार जीर्ण बनेको पर्खाल ठूलो वर्षाका कारण भत्किएको हो । कारागारका अन्य पर्खाल पनि जीर्ण छन् ।
 
एउटै जिल्लामा सबै जना नअटेका कारण दुई जिल्लामा बाँडेर स्थानान्तरण गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । कारागारमा महिला बन्दीगृह बनाउन शुरु गरिए पनि बजेट अभावमा एक दशकदेखि अलपत्र बनेको छ । अलपत्र भएको बन्दै गरेको महिला बन्दीगृहको पर्खाल पनि भत्कने अवस्थामा पुगेको छ । 

यसअघि पनि पर्वत जिल्ला कारागार पटक–पटक भासिने समस्या थियो । पन्ध्र जनाको क्षमता रहेको कारागारमा अहिले ८० भन्दा बढी कैदीबन्दी छन् । पुरुषतर्फको बन्दीगृहमा भने कुनै समस्या नरहेको प्रजिअ रेग्मीले बताए ।
 
यस्तै जिल्ला कृषि ज्ञान केन्द्र पर्वतको भवन पनि भत्किएको छ । निरन्तरको वर्षाका कारण जमिन भासिँदा कर्मचारीको आवास रहेको एकतले भवन भत्किएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए। उनका अनुसार केही दिनअघि भासिएको थियो । त्यसपछि त्यहाँ कर्मचारी बस्न छाडेका थिए । गएरातिको पानीले भवन नै भत्किएको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर