लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुली

सर्लाही .। सर्लाही जिल्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाको लालबन्दीलगायत पूर्वपश्चिम लोकमार्गका केही ठाउँबाट चर्को भाडा लिएर टाटासुमो तथा ठूला यात्रुबसले यात्रुलाई काठमाडौँ, पोखरा लाने–ल्याउने गर्न थालेका हुन् । 

टाटासुमोले यात्रुसँग रु दुई हजार ५०० देखि तीन हजारसम्म भाडा लिइरहेको पाइएको हो भने बसले पनि सोहीअनुसार भाडा असुलिरहेका छन् । अरुबेला टाटासुमोले लालबन्दीबाट काठमाडौँसम्मको भाडा रु एक हजार लिने गरेका थिए भने बसले रु ६५० लिने गरेका थिए ।

बिरामी बोकेको जस्तो गरी टाटासुमोले हाकाहाकी यात्रु ठग्ने काम गरिरहेको एक स्थानीयवासीले गुनासो गरेका छन् । अत्यावश्यक काम परेका नागरिक तेब्बर बढी भाडा तिरेरै भए पनि काठमाडौँ, पोखरा गइरहेका छन् तर स्थानीय प्रशासनले भने टाटासुमोलाई त्यसरी यात्रु ओसार्न सवारी पास नदिएको जनाएको छ । “टाटासुमोले यात्रु ओसारपसार गरिरहेकोबारे मलाई जानकारी छैन, कसैले त्यसो गरिरहेको भए अवैध हुनेछ”, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भने ।
यात्रु ओसारपसार गर्ने प्रयोजनका लागि अहिले पास दिनै नमिल्नेसमेत प्रमुख जिल्ला अधिकारी जिसीको भनाइ छ । यसैगरी जिल्लामा अहिले बाक्लै मात्रामा चल्न थालेका रिक्सा, म्याजिकजस्ता साना यात्रुवाहक सवारी साधनले पनि साबिकको भन्दा दोब्बर बढी भाडा लिने गरेका यात्रुहरुले गुनासो गरेका छन् । 

यातायात व्यावसायीले भने पास लिने क्रममा रु चार हजारदेखि सात हजारसम्म शुल्क तिर्नुपरेका कारण भाडा बढेको बताएका छन् । यसबारेमा सम्बन्धित निकाय अनुगमन तथा नियमन गर्नुको सट्टा मौन बसेको यात्रुहरुको आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर