• शनिबार ४-२४-२०७७/Saturday 08-08-2020/ 03:31 am

सादगी जीवनका विद्रोही बर्मन बुढाले आर्जेको थबाङ

– कछाडसँगै संसद भवन छिर्दाको त्यो विद्रोही स्वभाव । 
– बर्मन बुढा २०१३ सालेदेखि निरन्तर कम्युनिस्ट बनेर जिउनुभयो : मोहनविक्रम सिंह ।
– समाजवाद स्थापित गरेर मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अनन्त

बर्मन बुढाको विद्रोहः

विद्रोही भाव कहाँबाट पलाउँछ ? सरल भाषामा अघिल्लो पुस्ताका कम्युनिस्ट क्रान्तिकारी नेता बर्मन बुढाले जवाफमा भनेथे– ‘जहाँ दमन हुन्छ, त्यहीँ विद्रोह हुन्छ ।’ कम्युनिस्टहरुले विश्लेषण गर्ने ग्रामिण वर्ग संघर्षलाई व्यवहारमा लागु गर्ने उही बर्मन बुढाको बुधबार  ९० वर्ष उमेरमा निधन भयो । कम्युनिस्ट आन्दोलनमा अघिल्लो पुस्ताका बाँकी रहेका नेतामध्ये औंलामा गनिने बाँकी संख्याका एक थिए उनी । 

२०५९ सालमा माओवादीको सशस्त्र संघर्षका घनघोर लडाईं चलेको थियो । २०५२ देखि ७ वर्षसम्म ती विद्रोहको बिजारोपन गर्ने बर्मन गुमनाम जस्तै थिए । ‘मलाई पनि प्रशासनले खोजिरहेको छ । विद्रोह गर्ने जनताको अधिकार हो । जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ भन्ने मान्यतामा म दृढ छु’, कुसुन्ति हाइटस्थित छोरीको घरमा २०५९ मा फोटो पत्रकार चन्द्रशेखर कार्की र मैले भेट्दा आफ्नो अडान दोहोर्याएका थिए बर्मनले ।

चेक कमिज र सेतो कछाड, कालो टोपीमा सजिएका बर्मन सोफामा बसिरहेका थिए । ‘थबाङ’ जुन ठाउँ माओवादी जनयुद्धकालभर विद्रोहको ‘प्रतीक’का रुपमा स्थापित थियो । त्यसपछि मात्रै रोल्पा भन्ने चिनिन्थ्यो । थबाङलाई चिनाउने ती नायक बर्मन बुढा एक्कासी ललितपुरको कुुुसुन्तिमा भेटिंदा फोटो पत्रकार चन्द्रशेखरले प्रश्न गरेका थिए– ‘यो उमेरमा पनि बुढा विद्रोहकै कुरा गर्छन !’

‘भेडीखर्क कहाँ राख्ने भन्ने विषयमा गाउँमा विवाद भयो । त्यो बेलाका मुखियाले मप्रति साह्रै पूर्वाग्रही भएर अन्याय गरे । त्यसपछि मेरो जहाँ दमन हुन्छ, त्यहीँ विद्रोह गर्ने भन्ने भित्री मनमा पलायो । ती मुखिया बिरुद्ध उभिएँ । जेल गएँ । जेल गएपछि झन् मनमा विद्रोह गर्नुपर्छ भन्ने बल आयो’, २०५९ को भेटमा बुढाले भनेका थिए ।

कृष्णवहादुर झाँक्री मगर र बर्मन बुढाको तालुकदारी विवादबाट थवाङ २०१२ साल वरपर विवाद चुलियो । कृष्ण बहादुरले दुःख दिनुसम्म दिए बर्मनलाई । को मुखिया रहने भन्ने विषयले गाउँ बिभाजन भयो । २०१२ सालमा विर्ताको काम गर्ने रुकुमका उपेन्द्रबहादुर शाहीले बर्मनलाई मुखिया बनाए । २०१५ मा मालपोत कार्यालयले पनि उनैलाई मुखियाको जिम्मेवारी दियो । त्यस यताका दिन विद्रोही भएरै बर्मन बुढाको राजनीतिक यात्रा तय भयो ।

......
कछाडसँगै सिंहदरबार छिरेपछि

बहुदलीय व्यवस्था पुनस्र्थापनापछि पहिलो आम चुनाव– २०४८ मा संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा १ बाट उनी निर्वाचित भए । बर्मन बुढाले पहिलो भेटमा भनेका थिए– ‘मलाई २०४८ सालमा थबाङ्गी जनताले भोट हाल्न पाएनन् नि ?’

बर्मनको गाउँ थवाङ निर्वाचन क्षेत्र नम्बर २ मा पथ्र्याे । जहाँको शतप्रतिशत मत कृष्ण बहादुर महाराले पाए । एक विद्रोही शब्दमै उनले त्यतिबेला भनेका थिए– ‘मेरै गाउँबाट मैले मत नपाए कसरी जितिन्छ ? भन्ने डर थियो । १ नम्बरमा त्यो बेलाका नेताहरुले आँट नगरेपछि मलाई हारे हारोस् भनेर दिएका हुन । तर, मैले जितें ।’

निर्वाचित भएपछि उनी सांसद भवन सिंहदरबार आए । मुल गेटबाट जब भित्र पस्दा सांसदको परिचय पत्र देखाए त्यतीबेला सुरक्षाकर्मीले तलमाथि हेरे । मुख खोल्न नसकेको अनुभव सुनाएका थिए । ‘क्या हेर्या छौ भाइ ? म रोल्पा क्षेत्र नम्बर २ को सांसद हूँ भनेर पास देखाएँ । केही नबोली छिर्न देयाए’, रोल्पाली लवाजमा उनले भनेका थिए ।

तपाईं त सिंहदरबार पनि कछाडसँगै छिरेको त्योबेला नै चर्चा थियो ? फोटो पत्रकार चन्द्रशेखरले पहिलो भेटमा प्रश्न गरे । सोफामा सानो सेतो कुकुरको छाउरो मसार्दै कछाड मिलाएर बर्मनले चन्द्रशेखरको जवाफमा भनेका थिए– ‘मैले ०४८ मा रोल्पाबाट जितेपछि मैले जे लगाएको छु यही औपचारिक पहिरन हो भनेको हूँ ।’

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न राजा बीरेन्द्र आउँदाको किस्सा बर्मन बुढाले सुनाएका थिए । ‘अरु दिन जस्तो भए पनि आजको दिन श्री ५ महाराजाधिराज आईबस्ने हुँदा औपचारिक पहिरन लगाउनु पर्ने हुन्छ  भन्यो कानमा आएर मर्यादा पालकले । मैले अरु दलका सांसदले सुन्ने गरी मेरो औपचारिक ड्रेस यही हो भने पछि उ रातोपिरो भएर फर्कियो । हामी ९ जना मात्रै थिएऔं । मैले लगाएको कछाड राजाले नदेख्ने कुरै भएन नि ? त्यसपछि मेरो ड्रेस बारे धेरै चर्चा भयो’, बर्मनले भने ।

एक भाषा, एक भेषप्रति बर्मनको त्यो बेलाको कछाड एक प्रकारको अर्को विद्रोहको प्रतीक थियो । अठार मगरातको घना बस्ति रोल्पमा यतिबेलासम्म ५० प्रतिशत बढिले कछाड लगाउने चलन छ । त्यसैको प्रतिनिधित्व रुपमा उनले आजीवन कछाड नै लगाए ।

उनी विद्रोही भावनाका भए । उपत्यकामा आएर छोरीको घरमा बसे । त्यहीबेला २०६१ मा ज्वाईंको तात्कालीन शाही सेनाको हिरासत भैरवगणमै रहँदा मृत्यु भयो । सेनाले कुसुन्ति घरबाटै बेपत्ता बनाएका उनका ज्वाइँलाई एक्कासी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शब बुझ्न बोलाएको थियो । त्यहीबेला उनले पहिलो आफैं पहिलो सम्पर्क गरेका थिए ।

‘जति सक्दो छिटो घरमा आउनुस् । जरुरी काम छ’, बर्मनले अचानक प्रत्यक्ष फोन गरे मलाई । कुसुन्ति पुग्दा घरमा सन्नता थियो । कुरो बुझिएन । निकै बरेपछि बर्मनले भने– ‘मेरै कारणले ज्वाइँलाई शाही सेनाले हत्या गरेछ । शब हेर्न टिचिङ गइदिनु पर्यो ।’

बर्मन बारे तात्कालिन शाही सेनाको पनि गजबको बुझाई थियो । २०६१ को अन्त्यतिर शाही सेना कमाण्डो फोर्सले थबाङमा सर्च गर्यो । जुन बेला माओवादीले बनाएको सभा हल, बर्मन बुढाको घर जलाई दिए । ‘हामी गाउँमा जाँदा मान्छे थिएनन् । मुख्य गरी बर्मनको विद्रोह नै गाउँलेले अप्नाए भन्ने हाम्रो बुझाई थियो । त्यहाँ जाँदा हामीले पनि त्यही पाएकाले उनको घर र माओवादीले बनाएका हल भत्काएका थिएऔं’, त्यतिबेला कमाण्डोको नेतृत्व गरेका एक कर्णेलले स्मरण गर्दै भने । 

.......
बर्मन खोज्दै मोहनविक्रम र खगुलाल पुगे थबाङ

कृष्णबहादुर झाँक्रीका विरुद्ध बर्मनले त्यहाँ २०१२ सालतिरै किसान संगठन बनाई सकेका थिए । त्यसबारे छिमेकी जिल्लाका कम्युनिस्ट नेता मोहन विक्रम सिंह र खगुलाल गुरुङले जानकारी पाए । संयोग सिंह र गुरुङ पाल्पा जेलमा थिए । बर्मन प्युठान जेलमा । ‘हामी जेलभित्र सँगै भएको भए भित्रै कमिटी बनाउने योजनामा थिएऔं । हामीलाई प्युठान सरुवा गर्ने भन्ने थियो । पछि गरेन, बर्मनजी निस्कि सक्नुभएको थियो’, मोहनविक्रमले समाचार दैनिकसँग भने ।

बर्मनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सिंहले भने– ‘२०१३ सालको कुरा हो । उहाँ प्युठान जेलमा हुनुहुन्थ्यो । हामी पाल्पा जेलमा । हामीलाई प्युठान हामी जेलमा हुँदै गर्दा उहाँ रिहा हुनुभएको हो । पाल्पाबाट हामीलाई सल्यान सारियो । हामी त्यहाँबाट छुटेर सल्यान हुँदै रुकुमको चौरजहारीबाट रोल्पाको थबाङ पुग्यौं बर्मन बुढालाई खोज्दै ।’

थबाङमा बर्मनको विद्रोह बारे जानकार भएकाले कम्युनिस्ट पार्टी निर्माण गर्न त्यहाँ पुगेको सिंहले बताए । ‘उहाँलाई खोज्दै थबाङ पुग्यौं । पहिले जेलमै नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्ने योजना थियो । उहाँ छुटेको थाहा पाए पछि हामी थबाङ पुग्यौं’, सिंहले थबाङलाई सम्झिदैं भने– ‘२०१३ सालमा उहाँकै नेतृत्वमा थबाङमा पार्टी निर्माण गरेका थिएऔं, जसमा खगुलालजी र म गएका थिएऔं ।’

बर्मन बुढाको विद्रोहले थबाङ यतिबेलासम्म एउटा प्रतीकको रुपमा देखिएको स्वीकार्छन सिंह । उनको कम्युनिस्ट पार्टीप्रतिको दृढता बारे सिंहले भने– ‘२०३८ को राष्ट्रिय पञ्चायत चुनावमा यस्तो बनाई दिनुभयो मतपेटिका नै रित्तो बनाई दिनुभयो । जुनबेला उहाँ नेकपा (मसाल)मै हुनुहुन्थ्यो ।’

१०/११ वर्षअघि ललितपुर कुसुन्तिस्थित छोरीको घरमा भेटेको स्मरण गर्दै सिंहले भने– ‘कम्युनिस्ट पार्टीप्रति एकदमै निष्ठावान प्रतिबद्ध व्यक्ति हो । जीवनको अन्तिम समयसम्म उहाँमा कम्युनिस्ट पार्टीप्रतिको लगावमा कुनै कमी आएन । रोल्पा जुन ढंगले कम्युनिस्टहरुको गढ भयो, थबाङ जुन किसिमले संसारलाई चिनायो सबै उहाँको प्रतिबद्धताको परिणाम हो ।’

........
बर्मन पछिको थबाङ 

यतिबेला थबाङ शोकमग्न छ । तात्कालिन एकीकृत माओवादी विभाजन हुँदा बर्मनमा केही नौरश्यता थियो । सिंगो थबाङ्गीको मनो विज्ञान थियो– ‘बर्मन कता लाग्छन ।’ पछि उनी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थबाङ पुग्दा हृदयदेखि स्वागत गरेपछि त्यो विद्रोही मनोविज्ञानका थबाङ्गी मूलधारकै माओवादीमा रहे ।

यद्यपि थबाङकै रैथाने केन्द्रसम्म पुगेका पुराना नेता सन्तोष बुढा भने मोहन वैद्य ‘किरण’ हुँदै यतिबेला विप्लव माओवादीमा पुगेका छन् । उनको जर्वजस्त थबाङमा उपस्थित छ । यसको परिणाम पछिल्लो स्थानीय तहको चुनावमा समेत देखिएको थियो । 

‘हाम्रो पार्टीको सान, सादगी जिन्दगी, जीवनभरी क्रान्तिकारी कम्युनिस्टमा रहनुभएका श्रद्धय बर्मन बुढाको योगदानले थबाङको पहिचान हो’, ऊर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ले भने– ‘१३ सालदेखि निरन्तर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा । संसदीय मोर्चा, जनआन्दोलन, जनयुद्ध सबै परिवर्तनकारी आन्दोलनमा उहाँको सक्रिय भूमिका रहयो । उहाँले देखेको समाजवादको सपनलाई साकार पार्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । हामी पछिल्लो पुस्ता उहाँको जीवनशैली, आर्दश, दर्शन, आचरणबाट पाठ सकेर अघि बढ्ने प्रण गर्छौं ।’

रोल्पाली जनतालाई चिन्हित गराउन सक्ने अभिभावक बर्मन । उनैको योगदानप्रति सच्चा श्रद्धाञ्जलीका लागि अहिले राष्ट्रिय स्तरमा पुगेका व्यक्तित्वहरुले उनीप्रति श्रद्धा व्यक्त गरेका छन् । उप–राष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, ऊर्जा मन्त्री पुनले सामूहिक राष्ट्रिय झण्डा ओडाएर सम्मान गरे । जो उनीहरुका लागि एक आर्दश व्यक्ति मात्रै नभई अघिल्लो पुस्ताका अविभावक हुन ।

पार्टीका सल्लाहकार समेत रहेका बर्मनका लागि पार्टीले छुट्टै कार्यकक्रम सहित श्रद्धाञ्जली दिने छ । त्यसबाहेक नयाँ पुस्ताका लागि आदर्श व्यक्तिबाट लिने उत्प्रेरणाका लागि केही दिनमा योजना तय गर्ने मन्त्री पुनले बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नाजीहरुद्धारा हत्या गरिएका एक यहुदी कम्युनिस्ट वेर्नर स्कोलेम

  • ९ श्रावण, २०७७

सन् १९४०, १७ जुलाईका दिन यहुदी कम्युनिस्ट वेर्नर स्कोलेमको बुकेनवाल्डमा शिविरमा हत्या गरिएको थियो । समाजवाद र लोकतन्त्रका एक च्याम्पियन, उनको जीवन

मधुश्रावणी : शिक्षा र मनोरञ्जनको पर्व

  • ८ श्रावण, २०७७

जनकपुरधाम । मिथिलाको लोकपर्व मधुश्रावणीको आज अन्तिम दिन । मिथिलानी नवविवाहिता महिलाहरु पूजा अर्चना गरी सम्पन्न गरेका छन् । साउन महिनाको

‘जिहादी दुलही’ समिमा बेगम

  • ५ श्रावण, २०७७

काठमाडौं । परिस्थितिले कहिलेकाहीँ सोच्दै नसोचेको र अनौठो अवस्था सिर्जना गरिदिन्छ । सन् २०१९ को फेब्रुवरी माहिनको तेस्रो हप्तामा प्रकाशित र प्रसारित