बाढीले पोल बगाउँदा १० दिनदेखि म्याग्दीको पश्चिम क्षेत्रमा विद्युत् सेवा बन्द

म्याग्दी । बाढीपहिरोले ट्रान्सफर्मर, मुख्य र वितरण लाइनको पोल तथा तार बगाउँदा म्याग्दीको पश्चिमी क्षेत्रमा दश दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । 

मङ्गला गाउँपालिकाको अर्मनसहित मालिका र धौलागिरि गाउँपालिकामा वितरीत केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको हो । विद्युत् सुविधाको अभावमा सर्वसाधारणको दैनिकीदेखि गाउँपालिका, वडालगायत सरकारी, बैंक, सहकारी संस्थाको सेवा प्रवाह प्रभावित भएको छ । 

राइसमिल,फर्निचर,नेपाली कागज,अल्लो,सिलाइकटाइलगायत विद्युत् आवश्यक पर्ने धेरै प्रकृतिका उद्योग व्यवसाय ठप्प भएको दरवाङका मोतिराज गौतमले बताए । विद्युत् अभावमा नेपाल टेलिकम र एनसेलको मोबाइल फोन सेवासमेत प्रभावित भएको छ । 

दिउँसो घाम लागेको समयमा मात्र मोबाइल फोन सेवा सञ्चालन हुँदा पहिरोबाट अति प्रभावित धौलागिरि र मालिका गाउँपालिकामा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणको बेनीस्थित  वितरण केन्द्रका अनुसार गत असार २५ गतेको पहिरो र बाढीका कारण मुख्य र वितरण लाइनको संरचनामा क्षति पुगेकाले विद्युत् आपूर्ति बन्द भएको हो । 

मङ्गला गाउँपालिका–५ कुरसिम्लामा १०० केभी क्षमताको ट्रान्सफर्मर, दुई वटा मुख्य र तीन वटा शाखा लाइनको पोलसहित तार पहिरोले बगाएको छ । फापरखेतको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध भएका कारण ट्रान्सफर्मर, पोल र तार ढुवानीमा कठिनाइ हुँदा लाइन मर्मतमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले जानकारी दिए ।

उहाँका अनुसार कुरसिम्लाको ट्रान्सफर्मर भएर विद्युत् प्रवाह हुने त्यस अगाडिका थप पाँच वटा ट्रान्सफर्मरअन्तर्गत वितरित विद्युत् अवरुद्ध भएको छ । मालिका गाउँपालिकाको बिममा दुई वटासहित नौ वटा पोल पहिरोले बगाएको छ । देवीस्थान, धौलागिरि गाउँपालिकाको ताकम र मराङमा पहिरोले विद्युत् लाइनमा पु¥याएको क्षतिको विवरण अझै आएको छैन । 

बेगखोलाको बाढीले मुख्य लाइनको दुई वटा पोल बगाएपछि अवरुद्ध भएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा केन्द्रीय लाइनको विद्युत् सेवा बुधबार साँझदेखि पुनःसञ्चालन भएको छ । सबै ठाउँमा अवरुद्ध विद्युत् आपूर्ति पुनःसञ्चालन गराउने प्राधिकरणका कर्मचारीलाई परिचालन गरिएको छ । 

नियमित विद्युत् आपूर्ति नहुने र मर्मतमा ढिलाइ हुँदा सेवा प्रवाहका साथै उत्तरी म्याग्दीको उद्योग र होटल व्यवसायमा असर पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर