‘मिथिलाको चाहना, घरघरमा सहाना’ 

महोत्तरी । मिथिलामा अहिले आफ्ना छोरीचेलीमा नेपालको वाम प्रजातान्त्रिक आन्दोलनकी शीर्ष नेतृ सहाना प्रधानको बिम्व खोजिँदै छ । धनुषाको मिथिला नगरपालिकाले पछिल्ला तीन वर्षदेखि आफ्ना छोरीचेलीमा नेतृ  सहानाको बिम्व खोज्दै ‘मिथिलाको चाहना, घरघरमा सहाना’ कार्यक्रम नै सञ्चालन गर्दै आएको हो ।
 
झट्ट सुन्दा, पढ्दा ‘मिथिलाको चाहना, घरघरमा सहाना’ नाराजस्तो लागे पनि मिथिलामा यो नारा मात्र छैन । उच्च शिक्षा, वाम प्रजान्त्रिक आन्दोलनप्रतिको निष्ठा र नेतृत्व, लैङ्गिक विभेदविरुद्ध निरन्तर सङ्घर्ष र गरिब तथा मिहिनेतका साथ जनताप्रतिको स्नेह सहानामा देखिने मुख्य पक्ष हुन् । यिनै पक्ष दर्बिलोरूपमा आफ्ना चेलीमा देखिन, खोजिन ‘मिथिलाको चाहना, घरघरमा सहाना’ कार्यक्रम नै सञ्चालन गर्दै आइएको मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो बताउँछन् ।
 
प्रदेश नं २ को करिब मध्यभागमा पर्ने नगरपालिकाको ढल्केवर पूर्वपश्चिम राजमार्ग र मिथिला संस्कृतिको केन्द्र जनकपुरधाम जाने सडकको सङ्गम छ । जनकपुरधामसँग जोड्ने मुख, पूर्वपश्चिम राजमार्गमा प्रदेश भित्रको मध्यभागमा पर्ने मिथिला नगरपालिकाको यो कार्यक्रमले छरछिमेकका जिल्ला र स्थानीय तहमा राम्रो चर्चा बटुलेको छ ।
 
छोरी शिक्षालाई उत्प्रेरित गराउने उद्देश्यले तीन वर्षअघि आर्थिक वर्ष २०७४/७५ देखि नै मिथिला नगरपालिकाले ‘मिथिलाको चाहना, घरघरमा सहाना’ भन्ने कार्यक्रम सञ्चालन गर्दै आएको हो । कार्यक्रमको प्रत्यक्ष नेतृत्व उपप्रमुख तारा बस्नेत लामाले गर्दै आएका छन् । पढाइ स्नातक पूरा गरेका मिथिलाभित्रका छोरीलाई कदरपत्र दिएर सम्मान गर्दै  नगद रु छ हजार दिइने यस कार्यक्रममा हालसम्म ७२ जना सम्मानित भइसकेका छन् । पढेकी छोरीसँगै बाबुआमालाई पनि नगरपालिकाले सम्मान गर्न थालेपछि छोरी पढाउनु पर्छ भन्ने कुराले बल पाउँदै गएको नगरपालिकाका उपप्रमुख तारा बस्नेत लामाको भनाइ छ । 

“हामीले छोरी शिक्षा जागरण बढाउने उद्देश्यले यो कार्यक्रम शुरु गरेका हौँ”, उनले भने, “कार्यक्रमको प्रचारप्रसारले उमेर नपुग्दै गरिने विवाह (२० वर्ष पूरा नभई) लाई निरुत्साहित गर्नसँगै छोरी शिक्षाप्रति राम्रो जागरण बढेको छ ।” नेपालको वाम प्रजातान्त्रिक आन्दोलनको एक सशक्त हस्ती, महिलामुक्ति आन्दोलनका अग्रणी योद्धा स्व सहाना प्रधानको नाउँमा स्थापित र सञ्चालित यो कार्यक्रमको उद्देश्य लैङ्गिक विभेदविरुद्ध सशक्त महिला आन्दोलनको विकाससमेत रहेको उनले बताए । 

पहिलोपटक आर्थिक वर्ष २०७४/७५ मा ५४, दोस्रो वर्ष आव २०७५/७६ मा पाँच र गत आर्थिक वर्ष २०७६/७७  मा १३ गरी हालसम्म ७२ जना स्नातक गरेका अविवाहित छोरी र यसै सङ्ख्याका बाबुआमा सम्मानित भइसकेको नगरपालिकाले जनाएको छ । कार्यक्रमको उद्देश्यमा सामाजिक कुरितीविरुद्ध छोरीलाई सशक्त बनाउनु, बालविवाह, बहुविवाह र अनमेल विवाहलाई निरुत्साहित गर्दै नारी शिक्षालाई जोड दिँदै दक्ष जनशक्ति निर्माणमा योगदान पु¥याउनु उल्लेख छ । यसअघि नारी शिक्षा अत्यन्त कमजोर रहेको नगरभित्र अब स्नातक गर्ने छोरी बाक्लै भेटिन थालेका छन् ।

“हामीले सम्मानित गरेका ७२ मध्ये त कडा परिश्रम गर्ने कोइरी, कलवार र हलुवाई जाति समुदायका मात्रै आधा सङ्ख्या छन्”, उपप्रमुख लामाले भने, “त्यसैगरी मगर, सुनुवार, तामाङसहितका जनजाति समुदायका १५ र बाँकी ब्राह्मण/क्षेत्री/सन्यासी जाति समुदायका छोरी छन् ।” कार्यक्रमको मुख्य उद्देश्य गरिब र दलित वर्गमा शिक्षाको प्रसार गर्नु भएको हुँदा अब त्यस्ता परिवारको पहिचान गरी छोरी शिक्षालाई प्रभावकारी बनाउन यसैभित्र थप कार्यक्रम बढाइने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर