• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

१५ केजी सुनचाँदी प्रकरण : अनुसन्धान युनुस अन्सारीतिर मोडियो, प्रहरीबाटै पनि भयो गल्ती 

काठमाडौं । सुन्धाराबाट बरामद साढे १४ किलो चाँदी र आधा किलो सुन तस्करीको घटनामा प्रहरीले नक्कली भारतीय रुपैयाँ कारोबारमा जेलमा रहेका युनुस अन्सारीको ‘कनेक्सन’ खोज्न थालेको छ । तस्करीमा संलग्न मुख्य अभियुक्त युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानमा उनको ‘कनेक्सन’ खोज्न थालेको हो । यद्यपि, घटनामा कमिसन पाउने चक्करमा प्रहरी अधिकारीबाटै समेत त्रुटि भएको पाइएको छ । 

तस्करीमा संलग्न मुख्य अभियुक्त पर्साका इल्ताफ हुसेन अन्सारी युनुसकै पूर्वसाझेदार भएको पाइएपछि प्रहरीले अनुसन्धानको एउटा पाटो युनुसतिर मोडेको छ । इल्ताफ नक्कली भारतीय रुपैयाँ तस्करीमा यसअघि जेल सजाय भुक्तान गरेका व्यक्ति हुन् । प्रहरीका अनुसार युनुस र इल्ताफले संयुक्त रूपमा नक्कली भरतीय रुपैयाँको कारोबार गर्थे । युनुसकै छत्रछायामा इल्ताफ नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न भएको प्रहरीको दाबी छ । 

यसैलाई आधार मानेर प्रहरीले १४ किलो चाँदी र आधा किलो सुन तस्करीमा युनुसको संलग्नता खोज्न थालेको हो । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘अनुसन्धान विभिन्न कोणबाट हुन्छ र एउटा कोण युनुसतर्फ केन्द्रित भएको साँचो हो । तथ्य के आउला पछिको कुरा हो । इल्ताफ र युनुस नक्कली भारतीय रुपैयाँको कारोबारमा विगतमा सँगै संलग्न भएको घटना स्थापित नै छ । त्यसो हुँदा अहिले पनि यी दुईबीच सम्बन्ध हुन सक्ने हाम्रो अनुमान छ । त्यसैले अनुसन्धान गरिनु स्वाभाविक हो ।’

नक्कली भारतीय रुपैयाँ कारोबारमा पटक–पटक पक्राउ परेका युनुस अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । मंगलबार सुन्धाराबाट एकाएक गायब भएको स्कार्पियो अन्सारीकै निवासस्थल नख्खिपोट क्षेत्रमा भेटिएका कारण पनि घटनामा दुईबीच सम्बन्ध हुन सक्ने प्रहरीको अनुमान छ । 

अनुसन्धानमा संलग्न महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि अनुसन्धान युनुससँग केन्द्रित रहेको संकेत गरे । उनले भने, ‘घटना गम्भीर छ । गम्भीर ढंगले अनुसन्धान हुनु स्वाभाविक हो । यस्ता घटनामा विगतका दिनमा अपराधमा संलग्न अनुसन्धानको घेरामा पर्नु स्वाभाविक हो । सत्य–तथ्य अनुसन्धानपछि खुल्ने विषय हुन् ।’

५७ लाख खर्चेर चाँदीमा जलप

प्रहरीले बरामद गरेको साढे १४ किलो चाँदीमा ५७ लाख रुपैयाँ खर्चेर सुनको जलप लगाइएको खुलेको छ । जलप लगाउने कार्यमा संलग्न मनीष मल्लिक पक्राउ परेलगत्तै यो तथ्य खुलेको हो । उनी बिहीबार पक्राउ परेका थिए । पक्राउलगत्तै लिइएको बयानमा उनले बरामद चाँदीमा ५७ लाख रुपैयाँ मूल्यबराबरको सुनको जलप लगाइदिएको स्वीकार गरेका छन् । उनी सुनचाँदीको गरगहना बनाउने कालिगढ हुन् ।

न्युरोडको सुनपसलमा कार्यरत उनको कौशल पटेलसँग चिनजान थियो । पटेलकै निर्देशनपछि उनले चाँदीमा सुनको जलप लगाइदिएका थिए । कौशलको लाजिम्पाटमा जेम एन्ड ज्वेलरी नामको सुनपसल छ । लामो समयदेखि लाजिम्पाट क्षेत्रमा कार्यरत प्रहरी जवान बहादुरसिंह कठायतसँग उनको त्यहीँ चिनजान भएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर