• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

बढ्दै कोरोना सङ्क्रमण, ३१५ सङ्क्रमित थपिए

काठमाडौं । सरकारले बन्दाबन्दी(लकडाउन)को अन्त्य भएको घोषणा गरेसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । बन्दाबन्दीको अन्त्य भएपछिको ११ दिनमा सङ्क्रतिको सङ्ख्या ०.८ प्रतिशतले बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८७७ नमूना परीक्षण गर्दा २.८ प्रतिशत अर्थात् एक हजार ३४५ जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै लकडाउन खुलेपछिको ११ दिनमा ५८ हजार १७४ नमूना परीक्षण गर्दा दुई हजार ९२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । सरकारले यही साउन ६ गते मध्यरातदेखि बन्दाबन्दीको अन्त्य भएको घोषणा गरेको थियो । 

पछिल्लो २४ घण्टामा नेपालमा छ हजार ९९३ नमूना परीक्षण गर्दा थप ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज (शनिबार) सबैभन्दा बढी कैलालीमा ८९ जनामा सङ्क्रमण देखिएको छ । यस्तै बझाङमा ६८, पर्सामा ६६, अछाममा २८, इलाममा २२, कञ्चनपुरमा नौ, सप्तरीमा सात, सिरहा र काठमाडौँमा पाँच÷पाँच, मोरङ, झापा, रामेछाप र रुपन्देहीमा दुई÷दुई, सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की र सल्यानमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २० हजार ८६ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म ७२.१ अर्थात् १४ हजार ४९२ जना कोरोनामुक्त भई ‘डिस्चार्ज’ भएका छन् । पछिल्लो २४ घण्टामा ९३ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेश नं १ को भोजपुर र सङ्खुवासभा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित छैनन् । 

हालसम्म प्रदेश नं १ बाट ८५६, प्रदेश नं २ बाट तीन हजार १४९, वाग्मती प्रदेशबाट ५३२, गण्डकी प्रदेशबाट एक हजार २५६, प्रदेश नं ५ बाट तीन हजार ९७१, कर्णाली प्रदेशबाट एक हजार ७१८ र सुदूरपश्चिम प्रदेशबाट तीन हजार १० कोरोनालाई जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ५६ जनाले ज्यान गुमाएका छन् । पाँच हजार ३३८ सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेश नं २ को रौतहट र सुदूरपश्चिम प्रदेशको कैलालीमा अझै पनि ५०० बढी सक्रिय सङ्क्रमित उपचार गराइरहेका छन् । 

सरकारले पिसीआर परीक्षणको सङ्ख्या वृद्धि गरेपछि क्वारेन्टिनमा बस्ने व्यक्तिको सङ्ख्या पनि घटेको छ । अब क्वारेन्टिनमा ११ हजार ५२३  रहेका छन् । प्रदेश नं १ मा एक हजार २५४, प्रदेश नं २ मा एक हजार ५७३, वाग्मती प्रदेशमा ८५२, गण्डकी प्रदेशमा दुई हजार ९५३, प्रदेश नं ५ मा एक हजार ५३६, कर्णाली प्रदेशमा ४४३ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ९२२ क्वारेन्टिनमा रहेका छन् । 

सरकारले समुदायमा कोरोना फैलन नदिन विदेशबाट फर्किएका व्यक्तिलाई क्वारेन्टिनमा राख्दै आएको छ । निश्चित समय क्वारेन्टिनमा बसेपछि स्वाबको नमूना परीक्षण गरेर नतिजा ‘नेगेटिभ’ आएमा होम क्वारेन्टिनमा बस्न आग्रह गर्दै पठाउने गरेको छ । हालसम्म तीन लाख ८२ हजार ४९० नमूना आरटी–पिसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । शुक्रबार अहिलेसम्मकै सर्वाधिक १० हजार नमूना आरटी–पिसीआर विधिबाट परीक्षण गरिएको थियो । 

विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ बाट हालसम्म विश्वभर एक करोड ७७ लाख ७१ हजार ३०८ सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये छ लाख ८३ हजार २६६ जनाले ज्यान गुमाएका छन् भने एक करोड ११ लाख ६७ हजार ८३९ कोरोनामुक्त भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर